काठमाडौं । नेपाल राष्ट्र बैंकले इन्टरनेट बैंकिङको कारोबार सीमा बढाएर प्रतिदिन २० लाख रुपैयाँ निर्धारण गरेको छ भने मोबाइल एप्लिकेसन (क्युआर कोडसमेत) मार्फत् प्रतिदिन तीन लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने व्यवस्था गरेको छ । कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न, नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेसन र सेवा शुल्कलगायतका विविध शुल्क भुक्तानीमा भने उक्त सीमा लागू नहुने केन्द्रीय बैंकले जनाएको छ ।
विद्युत् सेवा, दूरसञ्चार सेवा, खानेपानी सेवा, बिमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी गर्न, धितोपत्र व्यवसाय गर्न अनुमतिपत्रप्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रको कारोबार गरेबापत तोकिएको बैंक खातामा रकम भुक्तानी गर्न र राष्ट्र बैंकबाट अनुमति प्राप्त तोकिएबमोजिमका विशेष भुक्तानी सेवाका लागि पनि सीमा लागू हुनेछैन ।
केन्द्रीय बैंकका अनुसार २०८० पुससम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ३२ लाख १६ हजार तीन सय ८३ रहेको छ । २०७९ पुसमा दुई करोड ५३ हजार चार सय २० थियो । एक वर्षमै मोबाइल बैंकिङ प्रयोगकर्ता संख्या ३१ लाख ६२ हजार नौ सय ६३ ले बढेको हो । समीक्षा अवधिमा इन्टरनेट बैंकिङमार्फत् गर्ने कारोबार संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ । २०८० पुससम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ता संख्या १८ लाख २५ हजार ९२ पुगेको छ । २०७९ पुसमा १७ लाख ६८ हजार नौ सय ३२ थियो । पछिल्लो एक वर्षमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको कारोबारमा समेत उच्च वृद्धि देखिएको छ । २०७९ पुसको तुलनामा २०८० पुसमा मोबाइल बैंकिङ कारोबार संख्या एक करोड १५ लाख ७८ हजार नौ सय १६ अर्थात् ५३.४९ प्रतिशतले वृद्धि भएको छ भने मोबाइल बैंकिङमार्फत् हुने कारोबार रकम पनि ४८ अर्ब ७९ करोड ५० लाख रुपैयाँ अर्थात् २०.९० प्रतिशतले वृद्धि भएको छ ।
इन्टरनेट बैंकिङको समेत कारोबार संख्यामा ३८ हजार आठ सय ९९ अर्थात् १६.६० प्रतिशतले वृद्धि भएको छ । एक वर्षमा इन्टरनेट बैंकिङमार्फत् हुने कारोबार रकम दुई अर्ब ५१ करोड ७० लाख रुपैयाँ अर्थात् २०.४८ प्रतिशतले वृद्धि भएको छ ।
२०८० पुससम्ममा तीन करोड ३२ लाख २४ हजार ७८ मोबाइल बैंकिङमार्फत् दुई खर्ब ८२ अर्ब २४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । २०७९ पुससम्म दुई करोड १६ लाख ४५ हजार एक सय ६२ मोबाइल बैंकिङमार्फत् दुई खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । २०८० पुससम्म इन्टरनेट बैंकिङमार्फत् दुई लाख ७३ हजार दुई सय ८६ कारोबारमार्फत् १४ अर्ब ८० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । २०७९ पुससम्म इन्टरनेट बैंकिङमार्फत् दुई लाख ३४ हजार तीन सय ८७ कारोबारमार्फत् १२ अर्ब २९ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा