काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा निर्यात ७.१ प्रतिशतले घटेर ८६ अर्ब ८३ करोडमा झरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको नेपालको वैदेशिक व्यापारको तथ्यांकअनुसार सात महिनामा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.७ प्रतिशतले घटेर नौ खर्ब ८४ अर्ब ७७ अर्बमा झरेको छ भने कुल व्यापारमा निर्यात तथा आयातको योगदान क्रमशः ८.८ र ९१.२ प्रतिशत रहेको छ ।
सो अवधिमा आयात २.३ प्रतिशतले घटेर आठ खर्ब ९७ अर्ब ९४ करोडमा झरेको छ । २०७९/०८० को प्रथम सात महिनामा निर्यात–आयात व्यापार अनुपात १ः९.८ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा उक्त अनुपात १ः१०.३ रहेको छ ।
कृषिजन्य वस्तुको निर्यातमा अग्रणी मानिएको अलैंची निर्यात ९.३ प्रतिशतले घटेर चार अर्ब ४४ करोडमा झरेको छ भने चिया निर्यात पनि १३.९ प्रतिशतले घटेर दुर्ई अर्ब ३३ करोडमा सीमित भएको छ ।
सो अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा फलाम तथा फलामका उत्पादन, यार्न, ऊनी गलैंचा, तयारी पोशाक, जुस, अलैंची, प्लाइउड, जुट तथा जुटका सामान, ऊनी फेल्टका उत्पादन, पामतेल, चिया, पश्मिना सल, कुकुर बिरालाका आहारा, पिना, जडीबुटी, कपडा, चाउचाउ, सिमेन्ट क्लिंकर र तामा तथा तामाका उत्पादन प्रमुख रहेका छन् ।
फलाम तथा तिनका उत्पादन निर्यात ८५.३ प्रतिशतले बढेर १० अर्ब १२ करोड पुगेको छ भने यार्न निर्यात ४.४ प्रतिशतले घटेर छ अर्ब ५८ करोडमा सीमित भएको छ । ऊनी गलैंचा निर्यात पनि ५.९ प्रतिशतले घटेर छ अर्ब सात करोडमा झरेको छ । तयारी पोशाक निर्यात भने १४.७ प्रतिशतले बढेर पाँच अर्ब ५४ करोड पुगेको छ । समीक्षा अवधिमा जुट तथा जुटका उत्पादन निर्यात पनि ४.४ प्रतिशतले घटेर चार अर्ब ४७ करोडमा सीमित भएको छ भने अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्ट निर्यात पनि ६.८ प्रतिशतले घटेर दुई अर्ब ७५ करोडमा सीमित भएको छ । तर, जुस निर्यात भने ३३.५ प्रतिशतले बढेर चार अर्ब ३९ करोड पुगेको छ । पामतेल निर्यात पनि ७४.२ प्रतिशतले घटेर तीन अर्ब ६९ करोडमा सीमित भएको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी मानिएको अलैंची निर्यात पनि ९.३ प्रतिशतले घटेर चार अर्ब ४४ करोडमा झरेको छ भने चिया निर्यात १३.९ प्रतिशतले घटेर दुई अर्ब ३३ करोडमा सीमित भएको छ ।
त्यस्तै, अदुवा निर्यात भने ४९.६ प्रतिशतले बढेर एक अर्ब पुगेको छ । नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा ११.३ प्रतिशतले घटेर ५८ अर्ब ७२ करोडमा झरेको छ । नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७०.९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष सो हिस्सा ६७.६ प्रतिशतले घटेको हो । नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकमा अमेरिका, जर्मनी, युके, चीन, युएई, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, क्यानडा, डेनमार्क, नेदरल्याण्ड्स र टर्की प्रमुखरूपमा रहेका छन् ।
आयाततर्फ समग्रमा चालु आर्थिक वर्षको प्रथम सात महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ ५.९ प्रतिशतले घटेर एक खर्ब ६४ अर्ब ९१ करोडमा झरेको छ भने फलाम तथा स्टिल र तिनका उत्पादन आयात पाँच प्रतिशतले घटेर ८७ अर्ब करोडमा सीमित भएको छ । मेसिनरी तथा पार्ट्स आयात भने १.९ प्रतिशतले बढेर ५७ अर्ब ३८ करोड पुगेको छ । कच्चा भटमास तेल आयात भने ६७.७ प्रतिशतले घटेर आठ ५५ करोडमा झरेको छ । समीक्षा अवधिमा औषधि आयात पनि ४.२ प्रतिशतले घटेर २४ अर्ब २२ करोडमा झरेको छ भने इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री ४.९ प्रतिशतले बढेर ३८ अर्ब ३९ करोड पुगेको छ । यातायातका साधन र तिनका पार्टपुर्जा आयात पनि ४४.१ प्रतिशतले बढेर ४२ अर्ब ५३ करोड पुगेको छ । कच्चा पामतेल आयात ५८.० प्रतिशतले घटेर सात अर्ब ५६ करोडमा सीमित भएको छ । खाद्यान्न आयातमा १८.६ प्रतिशतले घटेर २८ अर्ब २१ करोडमा झरेको छ भने तयारी पोशाक आयात भने ४८.९ प्रतिशतले बढेर २२ अर्ब पाँच करोड पुगेको छ ।
दूरसञ्चार सामग्री आयात पनि ३.८ प्रतिशतले बढेर २२ अर्ब ४४ करोड पुगेको छ भने सुन आयात ५५.६ प्रतिशतले घटेर १३ अर्ब ७७ करोडमा झरेको छ । नेपालको आयात व्यापारमा प्रमुख मुलुकमा भारत, चीन, युएई, युक्रेन, मलेसिया, अमेरिका, अष्टे«लिया, फ्रान्स, इण्डोनेसिया, अर्जेन्टिना, संयुक्त अधिराज्य, ओमान, थाइल्याण्ड र जर्मनी प्रमुखरूपमा रहेका छन् । चालु आर्थिक वर्ष २०८०÷८१ प्रथम सात महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटामा १.८ प्रतिशतले घटेर आठ खर्ब ११ अर्ब ११ करोडमा झरेको पनि केन्द्रले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता