जनकपुरधाम । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले स्वाभाविक लय र गतिमा हिँड्न थालेको बताउनुभएको छ । उच्च अदालत जनकपुरधामद्वारा बुधबार जनकपुरधाममा आयोजित फरक मुद्दा व्यवस्थापन र यसको कार्यान्वयनको अवस्थासम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायापालिकाको जिम्मेवारीमा रहेका सबैको सामूहिक प्रयास र प्रतिबद्धतापछि न्याय क्षेत्रमा सकारात्मक अवस्था सृजना भएको बताउनुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठले आम नागरिकको न्यायपालिका प्रतिको अपेक्षा स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन हुनुपर्छ भन्ने रहेकाले सोहीअनुसार क्रियाशील हुन निर्देशनसमेत दिनुभयो । ‘मुद्दाको फस्र्योट र बक्यौता न्यूनीकरणलाई वाञ्छित स्तरमा नल्याएसम्म सुधारका प्रयासले सार्थकता पाउन नसक्ने उहाँको जिकिर थियो ।
उहाँले न्याय सम्पादन र व्यवस्थापकीय पक्षमा सुधारका लागि अन्य थुप्रै प्रयास भइराखेको बताउनुभयो । ‘तिनलाई निरन्तरता दिने, नतिजामूलक बनाउने, संस्थागत गर्ने भूमिका र जिम्मेवारी हामी सबैको हो’, प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, ‘मैले जिम्मेवारी सम्हालेदेखि नै न्यायिक सुधारका विभिन्न पक्षमा आफूलाई केन्द्रित र समाहित गर्दै आएको छु । न्यायिक सुधारप्रति सबैको स्वामित्व र प्रतिबद्धता पनि देखिएको छ । सुधारका संकेत पनि देखिएका छन् । त्यसमा यहाँहरू सबैको सत्प्रयास र प्रतिबद्धता जरुरी छ ।’ कार्यबोझ र बक्यौताको दृष्टिकोणबाट बढी चुनौतीपूर्ण अवस्था रहेको सर्वोच्च अदालतमा केही समयदेखि नयाँ दर्ताको तुलनामा बढी मुद्दा फस्र्योट गर्ने नीतिअनुसार काम भइरहेकाले बक्यौता मुद्दाको लगत क्रमशः घट्दै गएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति गरिएकाले मुद्दा फस्र्योटले थप गति लिने विश्वास रहेको बताउनुभयो । उहाँले उच्च अदालतको पछिल्लो नियुक्तिको कारण जिल्ला न्यायाधीश रिक्त हुन पुगेकामा त्यहाँ पनि पदपूर्तिको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो ।
सर्वोच्च अदालत र उच्च अदालतमा मुद्दामा पेसी तोक्ने कार्यलाई स्वचालित पद्धतिमा आधारित बनाइएकाले राम्रो नतिजा दिइराखेकाले अब छिट्टै जिल्ला अदालतमा पनि सो पद्धति लागू गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । त्यसैगरी, भौगोलिक कारणबाट अदालतमा भौतिक रूपमा उपस्थित हुँदा लाग्ने खर्च र समयको बचत गर्न अनलाइन बहस पैरवी गर्ने पद्धतिलाई थप विस्तार गर्न जुम्ला इजलास, धनकुटा इजलास, महेन्द्रनगर इजलास र हेटौँडा इजलास गरी चार स्थानमा भिडियो कन्फरेन्सिङमार्फत बहस पैरवीको व्यवस्था गरिसकिएको र अब त्यसलाई व्यवस्थित गर्दै लगिने श्रेष्ठको भनाइ छ ।
सूचना र प्रविधिको प्रयोगमार्फत न्याय प्रणालीलाई सहज, सुलभ र छिटोछरितो बनाउन मुद्दाको अनलाइन रजिष्ट्रेसनको कार्य सर्वोच्च अदालतमा नमुनाका रूपमा प्रारम्भ गरी क्रमशः विस्तार गर्दै लैजाने तयारी अन्तिम चरणमा रहेको प्रधानन्यायाधीश श्रेष्ठले बताउनुभयो । त्यस्तै, अनुचित लेनदेनबाट धेरै नागरिक समस्यामा परेको विषयका मुद्दा अदालतमा आउँदा इमानदारीपूर्वक न्याय दिने मनसायका साथ हेर्नुपर्ने आवश्यकताका बारेमा पनि सचेत रहन सबैलाई प्रधानन्यायाधीश श्रेष्ठले ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकालले न्याय सम्पानलाई थप प्रभावकारी र छिटोछरितो बनाउन आवश्यक कर्मचारी प्रशासन, भौतिक पूर्वाधार र बजेट व्यवस्थापनको कामलाई पनि सँगसँगै अगाडि बढाइएको बताउनुभयो । उहाँले न्याय सम्पादनका लागि स्रोत साधनको अभाव हुन नदिने गरी प्रधानन्यायाधीश र उहाँको निर्देशनमा आफूहरू क्रियाशील भइरहेकाले आगामी आर्थिक वर्षमा त्यसको सुखद परिणाम देखिने बताउनुभयो ।
त्यसैगरी, जिल्ला न्यायाधीशका तर्फबाट धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामान खड्काले एकातिर मुद्दाको चाप र अर्कोतिर कर्मचारी तथा स्रोत साधनको अपर्याप्त उपलब्धताले न्याय सम्पादनमा चुनौती थपिरहेको तर्फ प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा मधेश प्रदेशका आठै जिल्ला अदालतबाट आउनुभएका जिल्ला न्यायाधीश र उच्च अदालतका न्यायाधीश एवं प्रतिनिधिले प्रधानन्यायाधीश र सर्वोच्च अदालत नेतृत्वको निर्देशन र नीतिअनुरूप आफूहरूले काम गरिरहेको जिकिर गर्नुभयो । तर, उच्च तथा जिल्ला अदालतको प्रशासनिक तथा न्याय सम्पादनसँग जोडिएका आधारभूत समस्या समाधान गर्न विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो । त्यस्ता समस्या समाधान नभएमा चाहेर पनि निर्धारित लक्ष्य हासिल गर्न कठिनाइ हुने जिल्ला न्यायाधीशहरूको भनाइ थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता