काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालस्थित आधिकारिक बिक्रेता सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउने भएको छ । विगत केही समयदेखि हिरोको आधिकारिक बिक्रेताबारेमा अन्योल कायम रहँदा हिरोका उपभोक्ताले आफ्टर सेल्स सर्भिसमा समस्या बेहोर्नुपरेको थियो । तर, अब सिजी मोटर्स हिरोको आधिकारिक बिक्रेता नियुक्तिसँग उक्त अन्योलबाट उपभोक्ताले मुक्ति पाउने सिजी मोटर्सले जनाएको छ । कम्पनीले आफ्ना उपभोक्तालाई विश्वस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ । कम्पनीद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामीले उपभोक्तालाई खाली मोटरसाइकल र स्कुटर बिक्रीमात्र गर्दैनौँ, पूर्ण सन्तुष्टि हुने गरी आफ्टर सेल्स सर्भिस पनि दिनेछौँ, हामी हिरोको सेल्स, सर्भिस र स्पेयर्स पाटर््स (थ्रि एस) सेवा सर्वोत्कृष्ट बनाउनेछौँ । अबदेखि पार्टपुर्जा नपाएर उपभोक्ताले हैरानी पाउने अवस्था रहने छैन ।’
हिरोको आधिकारिक बिक्रेताको जिम्मेवारीलगत्तै उपभोक्ताका समस्या सम्बोधन गर्न काम सुरु गरिसकेको सिजी मोटर्सले जनाएको छ । जसका लागि आफ्नै वेयर हाउससमेत तयार भइरहेको जनाएको छ ।
सिजी मोटर्सका सेल्स एण्ड अपरेसन जिएम प्रकाश देवकोटाले भन्नुभयो, ‘पछिल्लो केही समयदेखि पार्टपुर्जा आयात नभएकाले बजारमा अभाव देखिन सक्छ तर यस्तो अभाव धेरै समय रहने छैन, सुपथ मूल्यमा पार्टपुर्जाको सहज उपलब्धता र आफ्टर सेल्स सर्भिस बलियो नभएसम्म मार्केट लिडर बन्न सकिँदैन भन्ने हामीलाई राम्रोसँग थाहा छ, ग्राहकलाई सन्तुष्ट बनाउनु हाम्रो जिम्मेवारी हो ।’ साथै कम्पनीले अबदेखि वारेन्टी सुनिश्चित गर्ने जनाएको छ ।
नेपालमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीतिअनुसार मोटरसाइकल र स्कुटरको विश्वकै सबैभन्दा ठूलो उत्पादक हिरो मोटोकर्पले नेपालको सबैभन्दा ठूलो व्यापारिक घराना चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्ससँग सहकार्य गरेको थियो । यही सहकार्यअन्तर्गत हिरो मोटोकर्प र सिजी मोटर्सले नेपाली बजारमा हिरोका उत्पादन एसेम्बल गर्न नवलपुर जिल्लामा ‘स्टेट अफ दी आर्ट ग्रिनफिल्ड फेसिलिटी’ भएको प्लान्ट स्थापना गर्न लागेका छन् ।






