वर्षौं देखि बस्दै आएको बस्तीबाट उठीबास हुने डर, २३ घर परिवारकाे विचल्ली

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 7 mins

बारा । धन नभएकाहरुलाई दान दिनु र जग्गा नभएकाहरुलाई जग्गा दिएर बसाउनु धर्म हो भन्ने परम्परा हाम्रो समाजमा रहेको छ । पहिलेका मानिसहरु यसरी नै अरुको सेवामा समर्पित हुँदै आएको लामो इतिहास छ । दानवीरहरुले दान दिएर बस्ती बसाएको थुप्रै प्रमाण र इतिहास पाइन्छ तर पैसा दिएर जग्गा किनेकाहरुलाईसमेत उठीबास लगाउनु कतिको जायज हो । हिजोआज यही परम्परा बढ्दै गएको छ । हाम्रो समाजमा हुने खानेहरुले गरीब र बेसहाराहरुको उठीबास लगाउने गरेका छन् ।

यसै क्रममा बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ बरैया टोलमा जग्गा खरीद गरी बस्दै आएका २३ घरधुरीका मानिसहरु उठीबास हुने डरले त्रसित छन् । उनीहरु न्यायको गुहार गर्दै हिडेका छन् । उनीहरुले कहीँ कतैबाट न्याय नपाउने देखेपछि पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो दुखेसो पोख्दै न्यायको गुहार लगाएका छन् ।

५० औं वर्ष देखि भोगचलन गर्दै आएको बस्तीको जग्गा अर्कैको नाममा भेटिएपछि पिडितहरु विचल्लीमा परेका छन् । उनीहरुले जग्गा फिर्ताको माग गरेका छन् ।

कुरो आज भन्दा पचासौ वर्ष पुरानो हो । स्थानीय स्वर्गीय बिरभद्र बिक्रम शाहको नाममा रहेको साबिक गाबिस बरियारपुर वडा नं. ५ हाल महागढीमाई नपा २ को कित्ता नं. ४१३ को ७ कठा १ धुर जग्गा स्थानीय २३ घरपरिवारले ५० वर्ष भन्दा बढी समय देखि स्थानीय मंगल राउत बरै संग पैसा दिएर खरिद गरेको पिडितहरुले बताएका छन् ।

त्यतिबेला स्व बिरभद्र शाहको नाममा सो जग्गा रहेको र उनको मुन्सीको काम गर्ने मंगल राउत बरैले आफुहरुलाई बास बस्नका लागि पैसा लिएर जग्गा दिएको पीडित स्थानीय विसुनदयाल बैठाले बताउनुभयो ।

'हामीले पटक पटक बरैलाई जग्गा हाम्रो नाममा गरिदिन आग्रह गर्यौ,' उहाँले भन्नुभयो,‘तर बरै बहाना बनाउँदै पन्छीदै गए र अहिले आएर  २०४२ सालमा विरभद्र विक्रम शाहबाट खरीद गरेको मेरो निजी आर्जनको जग्गा भएको दावी गरेका छन् । हामीलाई जग्गा दिने व्यक्ति पनि मंगल राउत बरै नै हुन् । हामीले बरैलाई नै जग्गाको पैसा दिएका हौ । उनी मार्फत जग्गाधनी शाहले पैसा बुझेका हुन । शाह जिवित हुँदा पनि हाम्रो नाउँमा जग्गा पारित गरिदिन पटक पटक दबाब दिएका थियाै । उनी असक्त भएका कारण उनले बरैलाई नै हाम्रो जग्गा हाम्रो नाउँमा गरिदिने जिम्मा दिएका थिए । अहिले जग्गाको मूल्य पनि बढेको छ । उनी हामीसँग प्रतिधुर २ देखि ३ लाख रुपैयाँ माग गर्ने गरेका छन् । हामी गरीब मान्छे ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छौ । हामीले त्यत्रो रकम कहाँबाट ल्याउने र उनलाई दिने । एउटै जग्गा दुई दुई चोटी खरीद कसरी गर्ने ? हाम्रो घर पहिला फुसको छाप्रो थियो अहिले विस्तारै जोहो गरेर दुई चार पैसा जम्मा गरी कोही पक्की त कोही अर्धपक्की घर बनाइसकेका छौ ।' अहिले बरैले कित पैसा देउ कि जग्गा खाली गर भनेपछि आफूहरु विचल्लीमा परेकाे उहाँले जानकारी दिनुभयो ।

ADVERTISEMENT

'विरभद्र विक्रम शाहलाई ललाई फकाई बरैले आफ्नो नाममा जग्गा दर्ता गराउन सफल भएका थिए,' अर्का स्थानीय शिवदयाल बैठाले भन्नुभयो । आफ्नो नाममा २०४२ सालमा जग्गा हात पारेपछि अहिले आएर सो जग्गा मेरो हो भन्दै मंगल राउत बरैले बस्ती खाली गराउन दबाब दिदै आएको उहाँकाे भनाइ छ ।

बिरभद्र शाहले बस्तिको जग्गा स्थानीयलाई फिर्ता गर्न त्यतिबेला नै मुन्शी (म्यानेजर) मंगल राउत बरैलाई पटकपटक भन्दा पनि पछि नाममा गर्ने भन्दै पंन्छीदै आएको अर्का स्थानीय पुनदेव यादवले बताउनुभयो ।

महागढीमाई नगरपालिका-२ अस्पताल रोड संगै जोडिएको सो जग्गामा स्थानीय बिशुनदयाल बैठा, शिव देयाल बैठा, मुखलाल सहनी, बिश्वास चौरसिया, रामपरिक्षण कुशवाहा, शिवचन्द्र चौरसिया, रामेश्वर महतो, बिन्दा कुशवाहा, बद्री सहनी, आनन्द महतो, बिश्वनाथ कुशवाहा, पुनदेव यादव, सुनदेव यादव, रामदेव यादव, रामदेव चौरसिया, सोनालाल ठाकुर, पन्नालाल ठाकुर, छोटेलाल ठाकुर, भनु ठाकुर, दिनेश चौरसिया, बिनोद चौरसिया लगायत तेईस घरधुरीको बस्ती रहेको छ ।

बिगत लामो समयदेखि भोगचलन गर्दै आएको सो बस्तीको जग्गा फिर्ता गराई दिन स्थानीय निकाय, प्रहरी प्रशासन तथा सरोकारवाला निकायहरु संग पीडितहरुले गुहार गरेका छन् ।

मंगल राउत बरैले भने साे जग्गा आफ्नाे भएकाे जिकिर गर्नुभयाे । उहाँले भन्नुभयाे,‘ मैले विरभद्र विक्रम शाहसँग साबिक गाबिस बरियारपुर वडा न ५ हाल महागढीमाई नपा-२ को कित्ता नं. ४१३ को ७ कठा १ धुर खरीद गरेको हुँ । यो जग्गा २०४२ सालमा मेरो नाउँमा आएको हो । मैले कसैलाई भगाउन गएको छैन । तर यो जग्गा मेरो हो म यो जग्गा उनीहरुको नाउमा गर्न सक्दिन ।' उहाँले उनीहरुको उठीबास पनि नगराउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *