✍️ तोयराज नेपाल
माघशुक्ल पञ्चमीलाई श्रीपञ्चमी भनिन्छ । यसै दिनलाई सरस्वतीपूजा तथा वसन्त पञ्चमी पनि भनिन्छ । यस दिन रति र कामदेवको पूजा गरिन्छ । यस दिन सरस्वती जयन्ती भएकाले विशेषगरी सरस्वतीको पूजा–उपासना गर्ने विधान छ । सरस्वती भनेकी विद्याकी अधिष्ठात्री देवता हुन् । सरस्वतीको पूजा गर्दा विद्या अर्थात् ज्ञान प्राप्त हुन्छ । विद्याकी अधिष्ठात्री सरस्वती माताको पूजा गर्दा सर्वप्रथम ध्यान गरी प्रार्थना गर्नुपर्दछ ।
ॐ सरस्वी मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहनसयुक्ता विद्यादानं करोतु मे ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता,
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना, या ब्रहृमाच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता,
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
रविरुद्रपितामविष्णुनुतं,
हरिचन्दनकुङ्कुमपङ्कयुतम् ।
मुनिवृन्दगणेन्द्रसमानयुतं, तव नौमि सरसवति पादयुगम् ।।
अर्थात् सरस्वती माता कुन्द पुष्पजस्तै सेतो वर्ण भएकी, चन्द्रमा जस्तै, हिउँजस्तै र मोतीको मालाजस्तै सेतो वर्ण भएकी हुनुहुन्छ । जसले सेतो र सफा वस्त्र धारण गर्नुभएको छ । जसका हातमा वीणादण्ड र पुतस्तक शोभायमान भएका छन् । जो सेतो कमलका आसनमा बस्नुभएको छ, जसको वाहन हाँसछ । जसलाई ब्रहृमा, विष्णु र शङ्कर आदि सम्पूर्ण देवताहरू सधैं उपासना गर्दछन् ।
ती ऐश्वर्य सम्पन्न सरस्वती माताका पाउमा अभिवादन गर्दछु । जुन सरस्वतीमाताले मेरो जडता अर्थात् अज्ञानलाई नाश गरी विद्या अर्थात् ज्ञान प्रदान गर्दै मेरो सदा सर्वदा रक्षा गरुन् । यसरी ध्यान र प्रार्थना गरी वस्त्र, सौभाग्यद्रव्य, चन्दन, अक्षता, फूलपाती, सिन्दूर, अबीर आदि पूजाका सामग्रीले पूजा गरी धूप, बत्ती-नैवेद्य, नरिवल, सुपारी फलफूल र भेटीघाटी समेत अर्पण गरी आरती गरेर पुष्पाञ्जलिसमेत गरी श्रद्धा एवं भक्तिसाथ पूजा आराधना गर्नुपर्दछ । श्रद्धासाथ गरेको उपासनाबाट असल विद्या प्राप्त गर्न सकिन्छ । विद्या भनेको ज्ञान हो । ज्ञानले मानिसका भित्री आँखा खुलाइदिन्छ ।
विद्या ददाति विनयं विनयाद् याति पात्रताम् ।
पत्रत्वाद् धनमाप्नोति धनाद् धर्मं ततः सुखम् ।। (पञ्चतन्त्र)
अर्थात् विद्याले नम्रता प्रदान गर्दछ । विनयबाट सत्पात्रता आउँछ अर्थात् विनयी वा नम्र मानिसलाई सबैले असल मानिस भन्दछन् र सम्मान गर्दछन् । सत्पात्र भएपछि सात्विक वा शुद्ध धन ऐश्वर्य प्राप्त हुन्छ । शुद्ध धनबाट धर्म कार्य हुन्छ । अनि धर्मबाट सुख प्राप्त हुन्छ ।
न चौरहार्यं न च राजहार्यं नभ्रातृभाज्यं न च भारकारि ।
व्यये कृते वर्धत एव नित्यं , विद्याधनं सर्वधनप्रधानम् ।।
अर्थात् विद्या यस्तो धन हो, जसलाई चोरले पनि चोर्न सक्तैन , राजाले पनि हरण गर्न सक्तैनन्, दाजुभाइमा अंशवण्डा पनि गर्नुपर्दैन, साथमा बोक्ता गह्रौं भारी पनि हुँदैन । अरू धन जति खर्च गर्यो उति घट्छ, तर विद्यारूपी धन यस्तो छ कि जति खर्च गर्यो उति नै बढ्छ, घट्तैन ।
‘स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते ।’
अर्थात् राजा आफ्ना देशमा मात्र पूजित हुन्छन् भने विद्या पढेका मानिसलाई विद्वान् भनिन्छ । विद्वान् मानिसको जहाँ पनि पूजा गरिन्छ, सम्मान गरिन्छ।
विद्यानाम नरस्य रूपमधिकं प्रच्छन्नगुप्तं धनम्,
विद्याभोगकरी यशःसुखकरी विद्या गुरूणां गुरुः ।
विद्या बन्धुजनो विदेशगमने विद्या परा देवता,
विद्या राजसु पूज्यते न हि धनं विद्याविहीनः पशुः ।।
अर्थात् मनुष्य रूपमा जस्तोसुकै नराम्रो छ भने पनि यदि विद्या पढेको छ भने त्यो मानिस सुन्दर ठहरिन्छ । विद्या लुकेर सुरक्षित रहेको धन हो । विद्या पढेका मानिसले राम्रो सुख भोग गर्न पाउँछन् । विद्या पढेका मानिसको यश कीर्ति फैलिन्छ । विद्या गुरुको पनि गुरु हो । विदेशमा जाँदा विद्याले नै बन्धुजस्तो भएर सहयोग गर्दछ । विद्या भनेको परम देवता स्वरूप हुन्छ । विद्या पढेको मानिस राजदरबारमा पनि पूजित हुन्छ । तर धनी मानिस सबै ठाउँमा पूजित हुँदैन । जसले विद्या पढेको छैन भने त्यो मानिस अज्ञानी र मूर्ख हुन्छ । त्यसलाई सबैले पशु जस्तै ठान्दछन् । त्यसकारण यस्तो उत्तम विद्या दिने सरस्वती माताको यस दिन पूजा आराधना गरेर उत्तम सम्पत्तिरूप विद्याआर्जन गर्नु मनुष्यको कर्तव्य हुन्छ । यस दिन सरस्वतीको पूजासहित सानासना बालबालिकाहरूलाई अक्षरारारम्भ गराई पढाउने पनि परम्परा छ । यस दिनदेखि हिउँदको चिसो घट्न सुरु हुनन्छ र वसन्त ऋतुको आगमन हुने सङ्केत देखिने हुँदा वसन्तोत्सव गर्ने विधान छ । यस दिनदेखि वर्षा लाग्छ भन्ने लौकिक प्रचलन पनि छ । ॐ श्रीसरस्वत्यै नमः।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts