काठमाडौं । समलिङ्गी (लेस्बियन) महिलामहिलाको विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो ।
पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बढैयाताल वडा नं २ निवासी अन्जुदेवी श्रेष्ठ (दीप्ति) र बाँके कोहलपुर नगरपालिका वडा नं ५ बस्ने सुप्रिता गुरुङ्गको जोडीले कानुनी रूपमा विवाह दर्ताको प्रमाणपत्र लिएका छन् ।
स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव दीपक नेपालीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्राविधिक शाखाबाट दिएको जानकारी अनुसार विवाह दर्ता गरिएको बताउनुभयाे ।
मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तले अन्जु र सुप्रितालाई दक्षिण एसियाकै पहिलो लेस्बियन (महिला समलिङ्गी) जोडी भएकाे बताउनुभयाे ।
३३ वर्षीया दीप्ति श्रेष्ठ र ३३ वर्षीया सुप्रिता गुरुङ, दुवै जन्मँदा महिला हुन् र महिलाको रूपमा पहिचान भए । ‘नेपालबाट दक्षिण एसियाकै पहिलो लेस्बियन जोडीको रूपमा औपचारिक रूपमा विवाह दर्ता गरी इतिहास रचेका छन्,’पन्तले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ,‘यो कोशेढुङ्गा मनाउन आज दिउँसो नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा सहभागी हुनुहोस्।’
मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले लेस्बियन जोडीको विवाह दर्ता भएकोमा खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा जोडीसहितको तस्बिर सार्वजनिक गर्नुभएकाे छ ।
उनीहरूले विवाह दर्ताका लागि ४ माघमा वडा कार्यालयमा निवेदन दिएका थिए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पञ्जीकरण विभागमा ‘समलिङ्गी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा आवश्यक राय तथा निर्देशन उपलब्ध गराइदिनु हुन’ पत्र पठाएका थिए ।
सर्वोच्च अदालतले १२ असारमा दिएको आदेश र विभागको पत्र अनुसार यसअघि लमजुङको दोर्दी गाउँपालिकाले दक्षिण एसियामै पहिलो पटक माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाणपत्र दिएको थियो ।
माया र सुरेन्द्र जन्मँदा छोरा हुन भने दीप्ति र सुप्रिता दुवै छोरी हुन्। दुवै जोडी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका हुन् । पहिलो विवाह दर्ता भएसँगै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी) समुदायका जोडीको वैवाहिक अधिकार सुनिश्चित भएको छ। पहिलो विवाह दर्ता गर्न राय दिएको पञ्जीकरण विभागले दीप्ति र सुप्रिताको विवाह दर्तामा भने राय दिन समय लियो ।
मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधान सभा सदस्य पन्तको पहलमा विभागले समलिङ्गी महिला दीप्ति र सुप्रिताको विवाह दर्ता गर्न गाउँपालिकालाई राय दिएको हो। विभागको राय अनुसार विवाह दर्ता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयाे।
पन्तले विभागका महानिर्देशक युवराज कटेललाई कानुन नबनेसम्म अस्थायी विवाह दर्ता गर्नु भन्ने सर्वोच्चको आदेश अनुसार विवाह दर्ता गरिदिने व्यवस्था गर्न आग्रह गर्नुभएकाे थियाे ।
सर्वोच्च अदालतले तत्काल विवाह दर्ताको रिट निवेदनमा चैत १ गते पूर्ण सुनुवाइका लागि पेशी तोकेको छ। नेपालमा पुरुष र महिलाको विवाह मात्रै दर्ता हुँदै आएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts