काठमाडौं । नुन, चिनी खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको कारोबार गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले कम्पनीमा रूपान्तरणसँगै व्यवसाय विस्तार र विविधीकरणमा जोेड दिँदै आएको छ । सोही क्रममा पछिल्लो समय कम्पनीले हाउजिङ व्यवसायमा पनि हात हालेको छ । साल्ट टे«डिङले आफ्नो सहायक कम्पनीमार्फत् भूकम्प प्रतिरोधी घर निर्माण सुरु गरेको हो । पहिलो परियोजनाअन्तर्गत काठमाडौंको दहचोकमा तीन आना एक पैसादेखि चार आना क्षेत्रफलमा १० वटा घर निर्माण सुरु गरेको कम्पनीले साढे दुर्ई तलाका घर निर्माण गरिरहेको छ ।
अमेरिकी प्रविधिका निर्माणाधीन घर भूकम्प प्रतिरोधी रहेको कम्पनीका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले बताउनुभयो । १० मध्ये चारवटा घर निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी निर्माणाधीन अवस्थमा रहेका उहाँले जानकारी दिनुभयो । झाका अनुसार उल्लेखित घर अमेरिकाको पिनाकल बिल्डिङ सिस्टम टेक्नोलोजी (पिबिएसटी) प्रविधिमा निर्माण भएका हुन् । जुन प्रविधिबाट बनाइएका घर भूकम्प प्रतिरोधी हुन्छन् । कम्पनीले पहिलो चरणमा दहचोकस्थित आफ्नै स्वामित्वमा रहेको जग्गामा घर निर्माण गरेको हो ।
कम्पनीका विभागीय प्रबन्धक झाका अनुसार २०७२ सालको भूकम्पमा घरकै कारण किचिएर धेरैको ज्यान गएकाले कम्पनीले भूकम्प प्रतिरोधी भवन निर्माणको सोच बनाएको होे । पिबिएसटी प्रविधिमा स्टिल फ्रेम बनाएर काठ वा अन्य निर्माण सामग्री प्रयोग गरेर पनि घर निर्माण गर्न सकिन्छ । यसरी बन्ने घरमा डिपिसी ढलानभन्दा माथि पानीको प्रयोगसमेत गरिँदैन भने घरको जग बनिसकेपछि त्यसमा स्टिलको ‘स्ट्रक्चर’ बनाइन्छ । जसमा हलुका सामग्री प्रयोग गरेर पर्खाल बनाइन्छ र झ्यालढोका पनि त्यस्तै हुलुका प्रयोग हुन्छन् । भूकम्पका बेलामा घर भत्किहाल्यो भने पनि स्ट्रक्चर नखस्ने र अन्य हलुका कुराले लागेर मानिसको ज्यान नजाने खालको संरचना बन्ने उहाँको भनाइ थियो ।
साल्ट ट्रेडिङले घर निर्माणका लागि सहायक कम्पनी फ्युचर वक्र्स सोलुसन्स प्रालि र बिक्री तथा व्यवस्थापनका लागि उपहार हाउजिङ प्रालि स्थापना गरेको छ । साल्ट ट्रेडिङले दैनिक उपभोग्य वस्तुलगायत विभिन्न सामग्री कारोबार गर्न पाउने भए पनि घर बनाएर बिक्री गर्न छुट्टै कम्पनी आवश्यक पर्ने भएकाले नयाँ कम्पनी स्थापना गरेको हो । अमेरिकी प्रविधि भए पनि कम्पनीले घर निर्माणका लागि सोही निर्माण सामग्री आफंै उत्पादन गर्छ । कम्पनीले हेटौंडामा उक्त निर्माण सामग्री उत्पादन गर्ने उद्योग स्थापना गरेको छ ।
तीन आनामा बनेको घरको मूल्य दुर्ई करोड ३० लाख रुपैयाँ रहेको र चार आनामा बनेको घरको मूल्य भने बनिसकेपछि तय गरिने पनि झाले बताउनुभयो । तर पहिलोपटक घर खरिद गर्ने ग्राहकले फर्निचर र फर्निसिङसमेतको घर पाउने पनि उहाँले जानकारी दिनुभयो । कम्पनीले चारवटा घर निर्माण सम्पन्न गरी बिक्रीका लागि खुला गरेको भए पनि हालसम्म कुनै पनि घर बिक्री भने भइसकेको छैन ।
झाका अनुसार यस्तो प्रविधिका घरको मुख्य विशेषता भनेको भूकम्प प्रधिरोधी, छिटो निर्माण गर्न सकिने, भत्काउनुपर्दा पनि निर्माण सामग्री खेर नजाने भएकाले एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने, कोठाको स्पेस बढाउन सकिने हुन्छ । एउटा घरका लागि आवश्यक निर्माण सामग्री एकैपटक ट्रकमा ढुवानी गर्न सकिनुका साथै निर्माण सामग्री राख्न पनि धेरै स्पेस नचाहिने र पानी पनि आवश्यक नपर्ने हुन्छ । त्यसैगरी निर्माणमा पनि कंक्रिटयुक्त घर निर्माणमा जस्तो धेरै जनशक्ति आवश्यक पर्दैन । गिट्टी, बालुवा, इँटा, सिमेन्ट, छडलगायतमा हुने खर्च जोगिने र गिट्टी, बालुवा, सिमेन्ट, इँटाका लागि प्राकृतिक स्रोत दोहन रोकिई वातावरण संरक्षणमा समेत टेवा पुग्न सक्छ ।
निर्माण लागत सस्तो वा महँगोभन्दा पनि भूकम्प प्रतिरोधी पिबिएसटी प्रविधिको निर्माण कार्य दिगो, छिटो छरितो र वातावरणमैत्री हुने भएकाले यस्ता प्रविधिलाई प्रोत्साहित गर्नुपर्ने झा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘विपत्तिमा सस्तो महँगो भन्ने कुरा हुँदैन र राम्रो र सस्तो सम्भव पनि हुँदैन । नेपालमा २०७२ सालमा भूकम्पमा परेर नौ हजार मानिसको ज्यान गयो तर जापानमा हाम्रोभन्दा ठूलो भूकम्प जाँदा दुई सयजनाको मात्रै मृत्यु भयो । जापानले सुरक्षित निर्माणमा जोड दिएका कारण नै मानवीय क्षति कम भएको हो ।’
साल्ट टे«डिङले साढे दुई तलाको घर निर्माण गरेको भए पनि पिबिएसटी प्रविधिको घर धेरै तलाको पनि बनाउन सकिन्छ । तर, धेरै तलाको बनाउनका लागि जगदेखि नै सोहीअनुसारको निर्माण मापदण्ड हुनुपर्छ । दुई वा तीन तलाको मापदण्डअनुसार बनेको घरमा कंक्रिटयुक्त घरजस्तो पछि तला थप्दै जान नमिल्ने उहाँ बताउनुहुन्छ ।
त्यसो त कम्पनीले हाउजिङ मोडलमा पहिलोपटक दहचोकमा घर निर्माण गरेको भए पनि यसअघि पनि धेरै निजी आवासीय घर तथा भवनहरू निर्माण गरिसकेको जनाएको छ । पहिलो हाउजिङ परियोजनाको बजार हेरेर आवश्यकता देखिएमा आगामी दिनमा अन्य हाउजिङ परियोजना पनि अघि बढाउने कम्पनीको योजना छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts