बागलुङ । दक्षिण बागलुङको कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकको ट्रयाक खुलेको करिब डेढ दशक भयो । वि.सं. २०६५ सालमा ट्रयाक खुलेको यस सडकको चार वर्ष अगाडि कालोपत्रेका लागि सम्झौता भएको थियो । दुई खण्डमा बिभाजन गरेर अहिले काम भइरहेको छ । पहिलो खण्डअन्तर्गत कुश्मिसेरा बजारदेखि राङ्खानीसम्मको १० किलोमिट शर्मा क्याराभान जेभी २०७६ असोज २८ गते सम्झौता गरेको थियो । कुश्मिसेरादेखि बरेङसम्मको दोस्रो खण्ड रौताहा खानी धुलीखेल जेभीले २०७८ असार ३० गते सम्झौता गरेको थियो ।
पहिलो खण्ड निर्माणको जिम्मा पाएको शर्मा क्याराभान जेभीले तीन पटक म्याद थप्दा पनि कालोपत्रे गर्न सकेको छैन । लामो समयदेखि सडक कालोपत्रे नहुँदा हिलो र धुलोले सडक वरपरका स्थानीय आजित भएका छन् भने यात्रुले सास्ती खेप्दै आएका छन् । वि.सं. २०७८ मा सक्ने गरि जिम्मा पाए पनि निर्माण कम्पनीले हालसम्म ६२ प्रतिशत मात्रै काम गरेको छ । २४ करोड अन्ठाउन्न लाख लागतमा यस खण्ड कालोपत्रे गर्न थालिएको हो ।
दुई वर्ष अगाडिनै सक्नु पर्ने सडकको काम अझै ३८ प्रतिशत बाँकी रहेको पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर प्रकाश श्रीसले जानकारी दिनुभयो । दश किलोमिटर पर्ने यस खण्डमा अहिले बल्ल कालेपत्रे गर्नका लागि ‘बेस’को काम गरि रहेको उहाँ बताउनुहुन्छ । यसको म्याद असार मसान्तसम्म रहेको इन्जिनियर श्रीसको भनाइ छ । पर्याप्त कामदार लगाए मात्रै असारसम्म काम सम्पन्न गर्न सकिने उहाँले बताउनुभयो ।
दोस्रो खण्ड बरेङसम्म ११ किलोमिटर पर्छ । यस खण्डको हालसम्म करिब सात किलोमिटर ढलान र कालोपत्रे भएको इन्जिनियर श्रीले जानकारी दिनुभयो । वि.सं. २०७८ असार ३० गते सम्झौता गरि गत असार मसान्तसम्म पुग्नु पर्ने भए पनि अझै चार किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको उहाँ बताउनुहुन्छ । असार मसान्तमै म्याद सकिए पनि अहिलेसम्म म्याद थप भएको छैन । निर्माण कम्पनीले सडकमा कामदार खटाएको हुँदा म्याद थप गर्ने प्रक्रियामा रहेको श्रीसको भनाइ छ । यस खण्ड ३४ करोड २५ लाखमा कालोपत्रे गर्न थालिएको हो ।
“पहिलो खण्डको काम अझै धेरै बाँकी छ, तेस्रो पटक म्याद थप भएको हुँदा निर्माण कम्पनीले अहिले जसरी पनि सक्नु पर्ने हुन्छ, हालसम्म ६२ प्रतिशत काम भएको, असार मसान्तसम्म म्याद रहेको छ,” इन्जिनियर श्रीसले भन्नुभयो “दोस्रो खण्डको केही काम मात्र बाँकी छ, धेरै जसो सम्पन्न भएको छ, सरासर गर्यो भने चैत मसान्तसम्म सकिने छ, अहिले काम गरि रहेको हुँदा म्याद थप्ने प्रक्रिया अगाडि बढेको छ, चालु वर्षको अन्त्यसम्म दुवै खण्डका निर्माण कम्पनीले काम सकाउनु पर्ने हुन्छ ।”
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले यो सडक स्तरोन्नतीपछि दक्षिण बागलुङका नागरिक जिल्ला सदरमुकाम पुग्न सहज हुनुका साथै छिमेकी जिल्लासँगको सम्बन्ध थप बलियो हुने बताउनुभयो । सडकलाई समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनीलाई सघाउँदै आए पनि ढिलाई गरेको उहाँको भनाइ छ । अहिले कामदार ‘फिल्ड’ मा खटाएको हुँदा यस वर्ष काम सकिने आशा पलाएको शर्माले बताउनुभयो । सडक कालोपत्रेले घण्टौँका यात्रालाई छोटाउने र यात्रालाई सहजसमेत बताउने उहाँ बताउनुहुन्छ ।
उपप्रमुख शर्माले भन्नुभयो - “सडक खुलेको धेरै वर्ष भयो, विभिन्न कारणले अहिलेसम्म कालोपत्रे हुन सकेको छैन, तर यस वर्ष काम सकिनेमा हामीहरु आशावादी छौँ, यो धेरै महत्वपूर्ण सडक भएको हुँदा छिटो काम सक्नका लागि हामीहरुले धेरै आग्रह गर्यौँ, अहिले केही गति लिएको छ, सडक कालोपत्रेपछि जैमिनी र बरेङसँगै गुल्मीसम्मका नागरिकलाई आवतवाजतका निकै सहज हुने छ, अघिल्लो वर्ष माथिल्लो खण्डमा धेरै काम भएको थियो, तल्लो खण्डमा काम सुस्त छ, यो सडक यहाँको समृद्धका लागि कोशेढुङ्गा सावित हुने छ ।”







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts