काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरी गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको आरोपमा आज अख्तियारले विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नरहरि रेग्मीले बताउनु भयाे।
नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित पदाधिकारीले मिलेमतोमा नक्कली रसिद बनाएर सार्वजनिक जग्गा घडेरीका रूपमा व्यक्तिका नाममा गरेको आरोप छ।
कर्मचारीहरू समेतको मिलेमतोमा समितिमा कम रकम बुझाएर हक हस्तान्तरण गरेको अख्तियारको भनाइ छ।
टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ संस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम उपलब्ध गराउनुपर्ने भनिएको छ।
तर त्यसो नगरी पदाधिकारीले व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा समितिको नाममा नक्कली कागजात खडा गरी जग्गा व्यक्तिको नाममा पुर्याएको अख्तियारको भनाइ छ।
अख्तियारले अहिले भोगचलन गरिरहेका जग्गाधनीहरूको नाम पनि सार्वजनिक गरेको छ।







Breaking news with related posts