काठमाडौं । समृद्धिका लागि हरित ऊर्जा भन्ने नाराका साथ आगामी वैशाख दोस्रो साता काठमाडौंमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा वैशाख १२ देखि १४ गतेसम्म एक्स्पो आयोजना हुने बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो । ऊर्जामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताउनुभयो । सरकारले १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र तयार गरेका सन्दर्भमा ऊर्जा विकासमा टेवा पु¥याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको उहाँको भनाइ थियो ।
अध्यक्ष कार्कीले भन्नुभयो, ‘भारतमा १० हजार मेगावाट, बंगलादेशमा पाँच हजार मेगावाट र १३ हजार पाँच सय मेगावाट विद्युत् आन्तरिकरूपमा खपत गर्ने योजना सरकारले अघि सारेको छ, नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्ने सम्झौता पनि भएको छ । यस्तो अवस्थामा जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको हो ।’
इप्पानका उपाध्यक्ष आशिष गर्गले हाल २९ सय एक मेगावाट जडित क्षमता रहेकोमा निजी क्षेत्रबाट मात्र सोलारसहित एक सय ७१ आयोजना सम्पन्न भई २२ सय १४ मेगावाट ऊर्जा उत्पादन भइसकेको जानकारी गराउनुभयो । त्यसैगरी ३३ सय ९७ मेगावाट बराबरका एक सय ३१ आयोजना निर्माणाधीन अवस्थामा रहेका र ३६ सय १५ मेगावाट बराबरका एक सय ३८ आयोजना विद्युत् खरिद सम्झौता (पिपिए) भएर वित्तीय व्यवस्थापनको चरणमा रहेका उहाँले बताउनुभयो । करिब १९ हजार छ सय २३ मेगावाट बराबरका दुई सय ५८ आयोजना निजी क्षेत्रबाट अनुमतिपत्र लिएर निर्माणको विभिन्न चरणमा भए पनि नतिजाउन्मुख अवस्था नभएको उहाँको गुनासो थियो । उपाध्यक्ष गर्गले भन्नुभयो, ‘तथ्यांक एकातिर छ, वास्तविकता अर्कैतिर भएको अवस्थामा सरकारको ऊर्जा उत्पादनको लक्ष्य पूरा गर्न ठूलो लगानी आवश्यक छ, यसलाई सघाउन पनि इप्पानले एक्स्पो आयोजना गर्न लागेको हो ।’
नेपालका साथै विभिन्न मुलुकका ऊर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बीचमा पारस्परिक सहकार्यमा समेत एक्स्पोले सहजता ल्याउने इप्पानका महासचिव बलराम खतिवडाको विश्वास छ । जलविद्युत्को बजार विस्तारका साथै बाहृय लगानीमा सहकार्यको अवसर पनि एक्स्पोले उजागर गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई समेत एक्स्पोमा सहभागी गराएर लगानीको वातावरण निर्माण गर्ने इप्पानको योजना रहेको खतिवडाको भनाइ थियो ।
आयोजकका अनुसार एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत् व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकतालगायतका विषयमा सातवटा प्राविधिक सत्र तथा अन्तरक्रिया आयोजना गरिनेछ । एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था, सिमेन्ट, डण्डीलगायतका दुई सय स्टल रहने र तीमध्ये करिब ५० प्रतिशत विदेशी स्टल रहने आयोजकले जनाएको छ । इभेन्ट सोलुसन प्रालिले व्यवस्थापन गर्ने एक्स्पोको स्टल बुकिङ बुधबारदेखि नै खुला गरिएको एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिनुभयो ।
एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवाला सहभागी हुनेछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements