बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजार उेछमै रहेको बिहुँ गाउँमा वि.सं. २०५१ सालमा ट्रयाक खोलिकएको सडक तीन दशकपछि स्तरोन्नती हुन थालेको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा रहेको सुलडाँडादेखि किमबोट हुँदै ठूल्ढुङ्गा जोड्ने सडक यस वर्ष स्तरोन्नती हुन लागेको हो । जुन सडकलाई किसानको सडकका रुपमा लिने गरिएको छ । काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको ५० लाख रुपैयाँमा यो सडक स्तरोन्नती गर्न थालिएको हो ।
गाउँपालिकाको गौरवको आयोजना रहेको यस सडकलाई प्राथमिकतामा राखेर काम गर्न थालिएको काठेखोला गाउँपालिकाका प्रवक्ता टिकासंगम विकले बताउनुभयो । सुलडाँडादेखि ठूल्ढुङ्गासम्म करिब १० किलोमिटर रहेको यस सडकमा अधिकांश पिक तथा जिप चल्दै आएको भन्दै साँघुरो हुँदा समय-समयमा दुर्घटनासमेत हुने गरेको उहाँको भनाइ छ । लोकमार्गमा गुड्ने अधिकांश साना सवारी साधान यही सडक प्रयोग गर्ने हुँदा यसको स्तरोन्नतीका लागि केही वर्षदेखि पालिकाले बजेट विनियोजन गर्दै आएको प्रवक्ता विक बताउनुहुन्छ ।
काठेखोला गाउँपालिका-५ र ६ वटालाई जोड्ने यस सडक १९ वर्षदेखि स्तरोन्नती नहुँदा स्थानीय किसानले.उत्पादन गरेको दुध र सुन्तला बजारसम्म पुर्याउन निकै समस्या हुने गरेको विकले बताउनुभयो । स्तरोन्नतीपछि सबैभन्दा बढी फाइदा वडा नम्बर ६ का किसानलाई हुने उहाँको भनाइ छ । गाउँपालिकाले यो सडकसहित पालिकाभर रहेका ग्रामीण सडकलाई स्तरीय बनाउन थालेको उहाँले बतानुभयो ।
प्रवक्ता विकले भन्नुभयो - “यो सडक लोकमार्गसँग जोडिएको छ, पछिल्लो समय लोकमार्गमाभन्दा यस सडकमा बढी गाडीहरु गुड्ने गरेका छन्, छोटो र सहज हुने हुँदा धेरै यताबाट हिड्दा सडक बिग्रिएको छ, कच्ची सडकका ट्याक्टरदेखि साना सबै सवारी गुडा अप्यारो पनि बनेको थियो, यो सडक खास गरि सुन्तला पकेट क्षेत्र भएर गएको छ, यहाँ धेरै किसानहरु हुनुहुन्छ, अहिलेसम्म सडकका कारण उहाँहरुले धेरै समस्या भोग्नु भएको थियो, अब सहज हुने छ ।”
गाउँपालिकाका इन्जिनियर बिनोद लामिछाने मंसिरको २४ गते ओम पल्टी विल्डर्स निर्माण कम्पनीले कामको जिम्मा पाएको र अहिले धमाधम काम भइरहेको जानकारी दिनुभयो । निर्माण कम्पनीले सडक स्तरोन्नतीका लागि ४० लाख ३५ हजारमा गाउँपालिकासँग सम्झौता गरेको उहाँको भनाइ छ । अहिले सडक चौडा गर्ने, पक्की नाली निर्माण ढलना गर्ने काम भइरहेको इन्जिनियर अधिकारीले बताउनुभयो । निर्माण कम्पनीले तीव्र गतिमा काम गरेको हुँदा अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको उहाँको भनाइ छ । फागुन मसान्तसम्म सक्ने गरि काम भएको उहाँ बताउनुहुन्छ ।
“सडक स्तरोन्नतीको काम तीव्र गतिमा नै भइरहेको छ, अर्को महिनाको अन्तिमसम्म सकिने संभावना छ, भौतिक प्रगति सत्तरी प्रतिशत भएको छ, यही गतिमा काम भयो भने फागुनमा काम सक्न समस्या छैन” इन्जिनियर अधिकारीले भन्नुभयो - “सडक साँघुरो थियो, धेरै गाडीहरु हिड्ने गर्थे, अहिले पूर्ण रुपमा यो सडक बन्द गरेर काम भइरहेको छ, सडक स्तरोन्नती हुन थालेपछि स्थानीय पनि खुसी हुनु भएको छ, कच्ची सडकका कारण धुलोले हैरानी हुनुहुन्थ्यो, अब त्यो समस्या समाधान हुँदैछ ।”







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts