
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रव्यापी दबाब अभियानको सुरुआत गरेको छ । आउँदो चैत २१ गतेसम्म जारी रहने पहिलो चरणको अभियानको आइतबार सिन्धुपाल्चोकको मेलम्चीबाट पार्टी सभापति रवि लामिछानेले शुभारम्भ गर्नुभयो । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन/तीन विकासे योजना छनोट गरी २१ योजना निर्माणका निम्ति दबाब दिइने रास्वपाले जनाएको छ । उक्त योजनाको अनुगमन, ढिलासुस्तीको कारण पहिचान गर्न टोलीसमेत बनाइएको छ । टोलीलाई सभापति लामिछानेले ब्यानर हस्तान्तरण गर्नुभएको थियो । सो क्रममा सभापति लामिछानेले अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका दबाब अभियान सुरु गरिएको जानकारी दिनुभयो ।
दबाब यात्रामा पार्टीको भौतिक पूर्वाधार विकासका सदस्य र स्वतन्त्र विज्ञहरू पनि सहभागी हुने र अन्तिममा ती आयोजना कसरी निर्माण हुन सक्छ भन्ने विषयमा समाधान पत्र सरकारलाई बुझाउने लामिछानेको भनाइ छ । ‘ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्ने काम गर्दैनौँ, समाधान पत्र दिन्छौँ’, उहाँले भन्नुभयोे । यसअघि धेरै नेता र सांसदले आयोजनाहरूको निरीक्षण गरेको र सरकारलाई ज्ञापनपत्र बुझाएको तर त्यसले आयोजना छिटो पूरा हुन कुनै भूमिका निर्वाह नगरेको लामिछानेले बताउनुभयो ।
लामिछानेले जनताको जीविकासँग कसैलाई राजनीति नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले छानेको आयोजनाहरूमा राजनीतिक र कूटनीतिक रंग पोत्ने कोसिस गरेको देख्छौँ हामीलाई राजनीतिक र कूटनीतिसँग केही कुरामा सरोकार छैन । नेपाली जनताले हिँड्ने बाटो समयभित्र सम्पन्न गर्नुप¥यो । हाम्रो उद्देश्य यति हो । एउटा बाटो बनाउन युग पर्खनु पर्दैन । राजनीति गर्न धेरै मैदान छन् जनताको जीविकासँग कसैले राजनीति नगरोस् ।’
उहाँले विकास आयोजनाहरू तोकिएको लागत र समयमा पूरा हुनैपर्ने भन्दै के कारणले आयोजनाहरू पूरा हुन नसकेका हुन् त्यसको खोजी गरिने बताउनुभयो । उहाँले मुलुकको परिवर्तनका निम्ति ‘नीलो क्रान्ति’मा पसिना बगाउनुपर्ने धारणा राख्नुभयोे । अभियानका क्रममा रास्वपाले पार्टीको एउटा पनि झण्डा प्रयोग नगर्ने उहाँले जानकारी दिनुभयो । रास्वपाका उपसभापति डा. स्वर्णीम वाग्लेले आन्तरिक बेथितिलाई अन्त्य गर्दै सुशासन कायम गर्न दबाब अभियान सुरु गरिएको बताउनुभयो । ०८४ मा रास्वपाको सरकार आएपछि सबै विकृति बढारिने उहाँको भनाइ छ ।
दबाब अभियानका निष्कर्षलाई संसद् र संसदीय समितिमार्फत छलफलमा लैजाने उहाँले उल्लेख गर्नुभयो । अबको संसद् अधिवेशनमा सरकारले ‘बिजनेस’ दिन नसके रास्वपाले आफ्नै विधेयक ल्याएर दर्ता गर्ने उहाँले बताउनुभयो । मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका निम्ति अभियानअन्तर्गत आइतबार नै सिन्धुपाल्चोक-काठमाडौं दबाब यात्रा सुरु गरिएको थियो । पदयात्राका क्रममा स्थानीयको सुझाव तथा गुनासासमेत लिइने रास्वपाले जनाएको छ ।
सांसदलाई गाइड गर्ने जिम्मेवारी अर्याल र वाग्लेलाई
पार्टी र संसद्लाई समन्वय गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई उपसभापति डा. स्वर्णीम वाग्ले र डिपी अर्याललाई जिम्मेवारी दिएको छ । संसद्मा पार्टीको तर्फबाट हुने प्रस्तुतिलाई थप प्रभावकारी बनाउने गरी दुई उपसभापतिले जिम्मेवारी पाएको सहप्रवक्ता मनीष झाले जानकारी दिनुभयो । ‘एक जनाले पार्टीको तर्फबाट सदनलाई कसरी हेर्नेबारे र अर्को उपसभापतिले सदनबाट राजनीतिलाई कसरी हेर्ने भनी सांसदहरूलाई प्रशिक्षित गराउनुहुन्छ,’ सहप्रवक्ता झाले भन्नुभयो । पार्टीबाट सदनमा प्रस्तुत हुने विषयमा सांसदलाई उपसभापति अर्यालले प्रशिक्षित गराउनु हुनेछ । सदनबाट राजनीतिलाई हेर्ने दृष्टिकोणका बारेमा उपसभापति वाग्लेले रास्वपा सांसदलाई गाइड गर्नुहुने छ । झाका अनुसार हरेक दिनको संसद् बैठक अघि रास्वपा सांसदहरूको छलफल बोलाउने तयारी पार्टीले गरिरहेको छ । सोमबारबाट बस्ने संसद् बैठक अघि २ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच