काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । दुर्ई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणको अन्तिम चरणका काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मर जडान भइसकेका छन् भने सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभिए र १३२/११ केभी, ५ एमभिएका पावर ट्रान्सफर्मर राखिएका छन् । ग्याँस इन्सुलेटेड प्रणाली(जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरण जडान कार्य अन्तिम चरणमा छ । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेका छन् ।
२२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९५ प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् सोेही सबस्टेसनमा जोडिनेछ ।
मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत् बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युत्गृहको स्विचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारण लाइनको टावर निर्माण गरिसकेको छ भने प्रसारण लाइनको करिब दुई किलोमिटर तार तानिएको छ । आयोजनाले बाह्रबिसे नगरपालिका-३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण दुई किलोमिटर तार तान्न सकिरहेको छैन । हाल मध्यभोटेकोशी जलविद्युत् आयोजनाका संरचना निर्माण सम्पन्न गरी परीक्षण भइरहेका छन् ।
आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकेर खेर जाने अवस्था आउन नदिन बाह्रबिसे सबस्टेसन जति सक्दो छिटो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन गरी बाँकी काम तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ ।
टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्ति अवस्था, निर्माण सम्पन्न हुने तालिका, प्रसारण लाइनमा भइरहेको अवरोध हटाउन स्थानीयसँग छलफलका साथै मध्यभोटेकोशी जलविद्युत् आयोजनाको पनि भ्रमण गरी परीक्षण कार्यको जानकारी लिएको थियो । कार्यकारी निर्देशक घिसिङले उपकरण सम्पूर्ण आपूर्ति भइसकेको र केही जडान पनि अन्तिम चरणमा पुगेको अवस्थामा जनशक्ति अझै थप गरी दुर्ई महिनाभित्र सबस्टेसन निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘सबस्टेसन निर्माणको पछिल्लो चरणको प्रगति सन्तोषजनक नै देखिएको छ, नयाँखिम्ती-बाह्रबिसे र बाह्रबिसे लप्सीफेदी (काठमाडौं) प्रसारण लाइन पनि अन्तिम चरणमा पुगेको छ, अन्य कुनै समस्या नआएमा निर्माण आगामी दुई/तीन महिनाभित्र सम्पन्न हुने अवस्था बनेको छ, त्यसैले सबैले आ-आफ्नोतर्फबाट अन्तिम पहल र कोसिस गरौँ ।’
बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादन, कोरोनालगायतका कारण सबस्टेसन निर्माण ढिलाइ हुँदै आएको छ । प्राधिकरणले मध्यभोटेकोशीको विद्युत् प्रवाहका लागि अस्थायीरूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि २२०/१३२ केभी बाह्रबिसे सबस्टेसन निर्माण अनिवार्य छ । २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिंगल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनुपर्ने उक्त लाइनको काम तत्काल सुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ ।
करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नुपर्नेछ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर नयाँ प्रसारण लाइन बनाउनुपर्नेछ । जसका लागि प्रसारण लाइनका सम्पूर्ण उपकरण आपूर्ति भइसकेका छन् । आठ टावरमध्ये पाँचवटाको जग हालिसकिएको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत्को विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी-काठमाडौं प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts