काठमाडौं । पछिल्लो समय विभिन्न ठूला घरानाहरू एकपछि अर्को गैरकानुनी धन्धामा मुछिएका घटना सार्वजनिक भइरहेका छन् । बिहीबार मात्र नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि सरकारले छानविन थालेको छ । सरकारी निकायले चौधरी ग्रुपमाथि पहिलोपटक छानविन थालेको हो । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा हडपेको आरोपमा चौधरी ग्रुपका एक सदस्य अरुण चौधरी बिहीबार पक्राउ परेका छन् । कागजात किर्ते गरेर सरकारी जग्गा हडपेको सम्बन्धमा यस ग्रुपका अध्यक्ष विनोद चौधरीमाथि पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निगरानी गरिरहेको बताइएको छ ।
सिआइबीले उद्योगी-व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको हो । उनलाई बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणबारे अनुसन्धान गर्न बिहीबार दिउँसो पक्राउ गरिएको थियो । अरुण चौधरी ग्रुप (सिजी) का अध्यक्षसमेत रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ हुन् । उनी चौधरी ग्रुप अन्तर्गतको कम्पनी सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत हुन् । चौधरीलाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । चौधरीलाई सिआइबीले पक्राउ गरेर हिरासतमा राख्ने अनुमतिका लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरीलाई चार दिन हिरासतमा राख्नका लागि म्याद थप गरेको हो । प्रहरीले चौधरीलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट म्याद मागेको थियो । चौधरीलाई लाजिम्पाटबाट पक्राउ गरिएको थियो । उनलाई सिआइबी हिरासतमा राखिएको छ ।
चौधरीसँगै पक्राउ परे थापा र ठाकुर
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सिआइबीले अरुण चौधरीबाहेक अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । उद्योगी चौधरीलाई बिहीबार अपराहृन लाजिम्पाटस्थित आफ्नै घरबाट सिआइबीले पक्राउ गरेको थियो भने चौधरी अध्यक्ष रहेको सिजी होल्डिङ्सको महाप्रबन्धक रहेका सञ्जय ठाकुरलाई काठमाडौंबाट पक्राउ गरेको सिआइबीले जनाएको छ । त्यस्तै, थापालाई भने बत्तीसपुतलीबाट पक्राउ गरिएको थियो । थापा बाँसबारी छाला जुत्ता कम्पनीका तत्कालीन अध्यक्ष हुन् । तीनै जनामाथि अनुसन्धान गर्न भनेर सिआइबीमा वडा नम्बर ३ का ४८ जनाले उजुरी दिएको बताइएको छ ।
प्रकरणमा अख्तियारको अनुसन्धान कायमै
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चौधरी समूहका एक सदस्य अरुण चौधरीलाई अनुसन्धानका लागि पक्राउ गरेसँगै बाँसबारी छाला जुत्ता कारखानाको जग्गा विवाद पुनः सतहमा आएको छ । ३७ वर्षदेखि चौधरी समूहले मिचेर चलाइरहेको १० रोपनी जग्गामा सिआइबीले पछिल्लो केही महिनादेखि गम्भीर रूपमा अनुसन्धान गरिरहेको थियो । जुत्ता कारखानाको जग्गा प्रकरण अख्तियार दुरुपयोग अनुसन्धानमा पनि अनुसन्धानकै क्रममा रहेको पाइएको छ । अख्तियारले पछिल्लो नौ महिनादेखि उक्त प्रकरणमा सार्वजनिक चर्चा भएका कारण अनुसन्धान गरिरहेको र आवश्यक प्रमाण जुटाइरहेको अख्तियारका एक आयुक्तले जानकारी गराए । ‘उक्त प्रकरणमा करिब १० वर्षदेखि अख्तियारमा उजुरी रहेको थियो । केही समयअघि तामेलीमा पनि राखिएको रहेछ,’ ती आयुक्तले भन्नुभयो, ‘हामी आएपछि केही विवरण खोजी गर्दै सम्बन्धित मन्त्रालय, विभाग र निकायमा पत्रचार गर्नेदेखि प्रमाण खोजीका लागि अनुसन्धान थालेका थियौँ ।’
अख्तियारले यससम्बन्धी फाइल पठाइदिनु भनी अर्थ मन्त्रालयलाई पनि पत्र लेखेको ती आयुक्तले बताउनुभयो । अर्थले जवाफ पनि पठाएको तर अधिकांश विवरणहरू गायव पारिएको र केही विवरण भने रेकर्डमा भेटिएको भनी जवाफ पठाएको ती आयुक्तले हिमालय टाइम्सलाई जानकारी गराउनुभयो । करिब सात महिनाअघि अर्थबाट जवाफ आएको थियो । सरकारी जग्गा हडपेको र धेरै प्रमाणहरू नै मेटाएका कारण आयोगले सूक्ष्म रूपमा अनुसन्धान गरेको उहाँको भनाइ थियो । अब उनीहरू अनुसन्धानका लागि पक्राउ परेकाले सिआइबीले गर्ने अनुसन्धानले पनि थप अनुसन्धान गर्न आयोगलाई सहज हुने बताइएको छ ।
‘हामीलाई सिआइबीको अनुसन्धानले थप सहयोग पुग्छ । हामीसँग भएका विवरणहरू पनि सिआइबीलाई उपलब्ध गराउँछौँ,’ ती आयुक्तले भन्नुभयो, ‘सिआइबीले ठगी र लिखत किर्तेमा अनुसन्धान गरेर जिल्ला अदालतमा मुद्दा दायर गर्छ भने आयोगले भ्रष्टाचारमा विशेष अदालतमा मुद्दा दायर गर्छ ।’ आयोगले सिआइबीमै रहेको समयमा पनि बयान लिन सक्ने नत्र सिआइबीको अनुसन्धानपछि बयान लिने आयोगले जनाएको छ । सिआइबीले गर्ने अनुसन्धानले आयोगलाई थप प्रमाण हुने भएकाले यो अनुसन्धान झन् छिटो हुने आयोगले जनाएको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सिआइबीले जनाएको छ । चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ । उक्त फ्याक्ट्रीको सेयर सदस्यमा सांसद विनोदकुमार चौधरी, अरुणकुमार चौधरीलगायत रहेका छन् । कुनै समय उक्त जग्गा दिएबापत बाँसबारी छाला तथा जुत्ता कारखानासमेत सेयर सदस्य बनेको थियो ।
बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा उक्त सु फ्याक्ट्रीले लगेको कुरा डा.भगवान् कोइरालाले आफ्नो पुस्तक ‘हृदय’मा उल्लेख गर्नुभएको छ । त्यसैका आधारमा उक्त विषय फेरि चर्चामा समेत आएको थियो । उक्त जग्गा अहिले अरुण चौधरी, उनकी श्रीमती शिला चौधरी, आम्रपाली कन्स्ट्रक्सनका अध्यक्ष सञ्जु ठाकुर र केही सेयर विनोद चौधरी समेतको नाममा रहेको सिआइबीले जनाएको छ ।
कसरी बाँसबारीको सरकारी जग्गा पुग्यो चौधरी ग्रुपमा ?
जुत्ता उत्पादन सुरु गरेदेखि नै बाँसबारी छाला तथा जुत्ता कारखानामा उतारचढाव आइरहेका थिए । त्यहीबीचमा सरकारी निकायबाटै कारखाना निरन्तर घाटामा रहेको प्रतिवेदन तयार हुन थाल्यो । जस्तो, अर्थ मन्त्रालयले आर्थिक वर्ष २०४०/४१ मा तयार पारेको वार्षिक वित्तीय विवरणमा बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेड ४६ लाख रुपैयाँ घाटामा रहेको उल्लेख गरियो । यो प्रतिवेदन कसरी तयार पारियो भन्ने त खुलेको छैन, तर त्यसपछि कारखाना क्रमशः घाटामा देखिन थाल्यो । २०४१/४२ मा कारखानाले ४३ लाख र २०४२/४३ मा ३२ लाख रुपैयाँ सञ्चालन घाटा बेहोरेको अर्थ मन्त्रालयको विवरणले देखाउँछ ।
तर, यसरी लगातार घाटा बेहोरेको देखाएर कारखानाको ८३ रोपनी जग्गामध्ये १० रोपनी जग्गा बिक्री गर्ने निर्णय गरियो । त्यो जग्गा किन्न आइपुग्यो- ‘च्याम्पियन फुटवेयर लिमिटेड’ नामको कम्पनी । त्यस बेलाका कागजात केलाउँदा २०४३ भदौ १३ गते बसेको बाँसबारी छाला तथा जुत्ता कारखाना सञ्चालक समितिको ४०१औँ बैठकले प्रतिरोपनी दुई लाख ५० हजारका दरले कुल १५ लाख रुपैयाँमा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडलाई बेच्ने निर्णय गरेको देखिन्छ । यस्तो निर्णय गर्दा जग्गा बिक्रीबाट कारखानाले बेहोरिरहेको घाटा पूर्ति हुने दाबी गरिएको थियो ।
कम्पनी रजिस्ट्रार कार्यालय र मालपोतमा रहेका कागजात केलाउँदा च्याम्पियन फुटवेयर लिमिटेडको सञ्चालकमा देखिए- मुलुकको प्रमुखमध्येको व्यापारिक घराना, चौधरी ग्रुप परिवारका सदस्यहरू । २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको च्याम्पियन फुटवेयरको सेयर सदस्यमा विनोदकुमार चौधरी, अरुणकुमार चौधरी, लुनकरणदास चौधरी, वसन्तकुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी भएको देखिन्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts