बैंकक । एक थाई अदालतले राज्यको सबैभन्दा लोकप्रिय राजनीतिक पार्टीलाई देशको शाही मानहानि कानुनमा संशोधन गर्ने अभियानको अन्त्य गर्न आदेश दिएको सिएनएनले जनाएको छ । सिएनएनका अनुसार गत वर्षको चुनावमा सबैभन्दा बढी सिट जितेको मुभ फरवार्ड पार्टीले मानहानि कानुन संशोधनको अभियानमार्फत संविधानको उल्लंघनन गरेको बैंककको संवैधानिक अदालतले बुधबार फैसला सुनाएको थियो ।
अदालतले फैसला अनुसार मुभ फरवार्ड पार्टी र यसका नेताहरू, पूर्वप्रधानमन्त्री उम्मेदवार पिटा लिम्जारोनेराटले आफ्नो कार्यहरूमार्फत संवैधानिक राजतन्त्रलाई हटाउने प्रयास गरेको ठहर गरेको छ । उक्त फैसलालाई दक्षिणपूर्वी एसियाली थाइल्याण्डको सुधार आन्दोलन, परिवर्तनका लागि मतदान गरेर रूढीवादी, सैन्य समर्थित प्रतिष्ठानलाई चुनौती दिने लाखौं युवामाथि प्रहार भएको ठानिएको छ ।
विश्लेषकहरूका अनुसार फैसलाले थप मुद्दाका लागि ढोका खोलेको हुँदा थाइल्याण्डको पछिल्लो चुनावमा सफल पार्टी विघटन भई नेताहरूमाथि प्रतिबन्ध र आपराधिक आरोपसमेत लाग्न सक्छ ।
मुभ फरवार्डका सांसद्हरूले लेस म्याजेटे कानुन खारेज गर्न, शाही मानहानि कानुनअन्तर्गत आरोपको सामना गर्न वा सोअन्तर्गत आरोपितलाई जमानतमा आफ्नो स्थिति प्रयोग गर्न अभियान चलाएको अदालतले फैसलामा भनेको छ ।
अदालतले कानुन खारेज गर्ने वा संशोधन गर्ने उद्देश्यले भाषण, लेखन, प्रकाशन वा विज्ञापनका रूपमा कुनै पनि सन्देश प्रवाह गर्ने जस्ता कार्य तथा अभिव्यक्ति प्रवाह गर्न बन्द गर्न आदेश दिएको सिएनएनले बताएको छ । रासस/एएनआई ।






