विराटनगर । युवा उद्यमशीलता प्रवद्र्धनमार्फत् आर्थिक एवं औद्योगिक विकासमा योगदान पुर्याउने उद्देश्यले उद्योग संगठन मोरङले सञ्चालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रमअन्तर्गतका तेस्रो चरणमा सहभागी १८ स्टार्टअपले आफ्नो आइडियाको प्रस्तुति गरेका छन् ।
संगठनले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रममार्फत् युवालाई स्वदेशमै उद्यमशीलता विकासतर्फ अभिप्रेरित गर्नु यसको उद्देश्य रहेको संगठनका अध्यक्ष राकेश सुरानाले बताउनुभएको छ ।
नवीन व्यावसायिक अवधारणा भएका युवालाई लक्षित गरी सञ्चालित कार्यक्रमले उद्यमशीलता रूपान्तरणका लागि मेन्टरका माध्यमबाट आवश्यक प्राविधिक एवं व्यावसायिक विकास सेवा उपलब्ध गराई वित्तीय व्यवस्थापनका लागि सहजीकरण गर्ने उहाँको भनाइ छ ।
अध्यक्ष सुरानाले वर्तमान समयमा युवा पलायन सबै क्षेत्रका लागि चिन्ताको विषय भएको भन्दै आर्थिक विकासका संवाहकका रूपमा रहेका युवा जमातलाई स्वदेशमै व्यावसायिक विकासको अवसर प्रदान गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले युवा उद्यमशीलताका लागि महानगरपालिका सदैव हातेमालो गर्न तत्पर रहेको बताउनुभयो । उहाँले स्टार्टअप कार्यक्रमअन्तर्गत तेस्रो चरणमा सहभागी भएका १८ स्टार्टअपमध्ये उत्कृष्ट तीनलाई महानगरपालिकातर्फबाट सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । शून्यबाट सुुरु गरेर शिखरसम्म पुग्न सफल विश्वका स्टार्टअपको उदाहरण दिँदै कोइरालाले युवालाई आफूमा निहीत सीपको व्यावसायिक विकासका लागि सदैव दत्तचित्त भएर लाग्न सुझाव दिनुभयो ।
संगठनको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले विश्वका उदीयमान स्टार्टअपमा युवा वर्गको बर्चस्व रहेको उल्लेख गर्दै देशको आर्थिक समृद्धिमा युवा वर्गले अग्रसरता लिनुपर्ने बताउनुभयो । उहाँले संगठनले युवा उद्यमशीलता विकासका लागि गरेको पहललाई सफल बनाउन सबैलाई आग्रहसमेत गर्नुभयो । तेस्रो चरणमा सहभागी स्टार्टअपलाई व्यावसायिक मोडलका रूपमा विकास गर्न बजार व्यवस्थापन, कर प्रशासन, मानव संशाधन व्यवस्थापनमा परामर्श प्रदान गरी वित्तीय स्रोत व्यवस्थापनका लागि एन्जल इन्भेष्टरमार्फत् लगानी व्यवस्थापनमा सहयोग गरिने उहाँले जानकारी गराउनुभयो ।
संगठनले विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको कार्यक्रमको पहिलो चरणमा १७ र दोस्रो चरणमा १३ जना स्टार्टअप ग्र्याजुएट भइसकेका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता