माधव-झलनाथको नोकझोकले कता जाला नेकपा एसको भविष्य ?

नेकपा एसको भावी अध्यक्ष को होला ? झलनाथलाई पनि बाटो खुला

चिन्तन क्षेत्री

फाइल तस्वीर

चिन्तन क्षेत्री
Read Time = 8 mins

काठमाडौं । नेकपा एमालेबाट फुटेर नयाँ पार्टीका रूपमा उदाएको नेकपा एसभित्र शीर्ष नेतृत्वमा विवाद देखिन थालेको छ ।

अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच मतभेद नयाँ कुरा त होइन । भित्र भित्रै द्वन्द्व चलिरहेको थियो । तर केन्द्रीय परिषद् बैठकमा यी दुई नेताका कुरा सुन्दा छिट्टै नेकपा एसभित्र भुईँचालो जाने संकेत देखिन थालेको टिप्पणी हुन थालेको छ ।

विधानको प्रस्तावमा नै असहमति जनाएका नेता खनालले जनताको बहुदलीय जनवाद छाड्न नसकिने भन्दै अध्यक्ष नेपालले दिएको अभिव्यक्तिमाथि कडा जवाफ फर्काउनुभयो । यसले पनि यी दुई नेता एक पार्टीमा रहे पनि एकमत हुन नसकेको संकेत दिन्छ ।

बैठकमा अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादलाई छाड्न नसकिने बताउनुभएको थियो । जबजलाई छाडे पार्टीको इतिहास नै समाप्त हुने उहाँको भनाई थियो । अध्यक्ष नेपालले जबजले पार्टीलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गर्दै जबजलाई मिल्काउनु आत्मघात हुने बताउनुभयो ।

त्यसको जवाफमा जबज नै मान्ने भए एमालेमा जान नेता नेपाललाई सुझाव दिनुभयो ।

बैठकमा जवाफ दिँदै माधव नेपालले यस्तो भन्नुभएको थियो-

समाजवादी क्रान्तिमा जाँदा जबजलाई त्याग्न सकिँदैन । त्याग्नुको मतलब एकदलीय तानाशाहीमा जानु हो । हामीले साम्राज्यवादको आक्रामक चरित्र देख्दैछौं । कम्युनिष्टविरोधी अभियान चलिरहेको छ । त्यसैले हाम्रो आन्दोलनमा ल्याइएको विचारलाई त्याग्न सकिँदैन । बहुदलीय प्रतिस्पर्धाको मान्यता छाडेर एकदलीय तानाशाही व्यवस्थामा जान सकिँदैन। त्यसैले बहुदलीय प्रतिस्पर्धाको वकालत गर्छौँ । त्यसको विचारक मदन भण्डारी हुनुहुन्थ्यो । जबजको कुनै काम छैन, त्यो मिल्क्याइदिऔँ भन्ने मान्यता आत्मघाती मान्यता हो ।

त्यसपछि नेता खनाल निकै आक्रोशित हुनुभएको थियो । उहाँले जनताको बहुदलीय जनवाद नै मान्ने भए एमालेमा जानु उपयुक्त हुने बताउनुभयो । नीतिमा प्रष्टता नल्याए नेकपा एस समाप्त हुने चेतावनी उहाँले दिनुभयो ।

उहाँले बैठकमा यस्तो भन्नुभएको थियो -

क्रान्तिको बाटोमा क्लियर हुने गरी नीति तय गर्नुपर्छ । कहिले जबज भन्ने, कहिले समाजवादी कार्यदिशा पनि भन्ने, हामी कता जाने ? जबज भन्ने हो भने ठूलो जजबमा किन नजाने ? ठूलो जबजवाला त एमाले छ । हामीले भन्दा केपीले भनेको सुन्छन् । यसमा हामी प्रष्ट हुनुपर्छ । जबज मान्ने भए लेनिन किन नमान्ने ।

नेतृत्वको टकराबले पार्टीलाई असर गर्ला ?

ADVERTISEMENT

नेताहरुबीचको विवाद नयाँ भने होइन । तर सार्वजनिक कार्यक्रममा नै विचारमा यति ठूलो भिन्नता हुनु । अनि जबजको बारेमा यसरी सवाल जवाफ गर्नुलाई सामान्य मान्न सकिन्न । नेकपा एमालेबाट अलग भएर पार्टी खोल्नुभएका माधव नेपाललाई नेकपा एसमा जबज लागू गर्न किन आवश्यक देखिएको हो ? त्यो उहाँले नै बुझ्नुहोला । तर यदि जबज नै पार्टीको विचार मान्ने भए किन एमाले टुक्र्याएको ? भन्ने प्रश्न कार्यकर्ताहरूले भने अवश्य गर्नेछन् । एमालेमा अध्यक्ष केपी शर्मा ओलीकै कार्यशैली चित्त नबुझेको भए महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न सकिने सम्भावना थियो नै ।

यता, सम्मानित नेता खनाललाई नेतृत्वसँग किन झोँक चलेको कुन्नि ? कि त सत्ता गठबन्धनमा हुने भागबण्डामा आफूलाई टाढा बनाएको भन्ने पो लागेको हो की ? वा हिजो एमालेमा हुँदा ओलीले पेल्न थालेजस्तै आज नेपालको पेलानमा पो पर्नुभएको हो ? कुन्नि ! आखिर जे सुकै भए पनि यसरी खुलामञ्चमा कार्यकर्ताहरूको बीचमा नेतृत्वलाई पार्टी छाडेर जा ! भन्ने आशयका कुरा गर्नुचाँही स्वस्थ मान्न सकिन्न । बरु अध्यक्ष बन्ने बाटोको तगारोको रूपमा रहेको उमेरहद हटाउनुभएकै छ । अब केही समयपछि महाधिवेशन पनि हुने होला त्यही बेला अध्यक्षमा लड्ने र आफ्नो एजेण्डा नै जबज नमान्ने भनेर कार्यकर्तासँग भोट मागे भइहाल्ने थियो ।

देश र जनताका लागि भनेर भाषण दिने । नयाँ पार्टी खोल्नेहरूले आफ्नो व्यक्तिगत स्वार्थ सत्तालिप्साका लागि मात्रै काम नगरिदिए हुन्थ्यो भन्ने आम जनताको आग्रह पनि हो । नत्र अर्कालाई दोष दिएर आफू चोखो बन्नखोज्नुले न देशको भलो हुन्छ न जनताको । र नेताहरुकाे यस्तो घरझगडाले न पार्टीको नै भलो हुनेछ ।

हटायो उमेरहद

नेकपा एसले पार्टीमा उमेरहद हटाएको छ । यअसघि राखेको ७० वर्षे उमेरहदको प्रावधान हटाएको छ । उमेरहद हटेसँगै अब पार्टी नेतृत्वका लागि अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच पार्टी नेतृत्व लिन बाटो खुला भएको छ ।

बैठकले केन्द्रदेखि तल्लो तहसम्मका कमिटीका पदाधिकारी र सदस्यहरू सबै प्रत्यक्ष निर्वाचित हुने व्यवस्थासहित विधान पनि संशोधन गरेको छ ।

समाजवादीले अब केन्द्रीय कमिटी १९९ जनाको हुने निर्णय पनि गरेको छ । समाजवादीले केन्द्रीय पदाधिकारीको १९ सदस्यीय हुने पनि जानकारी दिएका छन् ।

समाजवादीले प्रदेश कमिटी ७५ देखि ९९ सदस्यीय बनाउने गरी विधानमा व्यवस्था गरेको छ। प्रदेश कमिटी पदाधिकारी ७ सदस्यीय हुने गरी व्यवस्था गरेको छ ।

यस्तै जिल्ला कमिटी ५५ सदस्यीय हुने भएको छ भने जिल्लाका पदाधिकारी पनि ७ जनाको कायम गरिएको छ ।

समाजवादीको गाउँ/नगरपालिका कमिटी ४५ सदस्यीय हुने गरी व्यवस्था गरिएको छ । कुनै पालिकामा ५ भन्दा धेरै वडाहरू भएको अवस्थामा २ जना थप्दै लैजाने गरी विधानमा समाजवादीले व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *