नमागिएको सल्लाह :
जनबरी २२, २०२४ का दिन भारतका मूलधारका टेलिभिजन हेर्दा लाग्दथ्यो, कुनै चमत्कार हुन लागेको छ भारतमा, अयोध्याको राम मन्दिरमा रामललाको प्राण प्रतिष्ठाबाहेक विशाल भारतभरि कुनै समाचार नै छैन जस्तो माहौल । विज्ञापनमा आशक्ति जनाउने कतिपय सञ्चारमाध्यमले त ‘ब्रेक फ्रि’ प्रत्यक्ष प्रसारण पनि गरेका थिए । ती सञ्चारमाध्यमलाई प्राण प्रतिष्ठाको ३२ सेकण्डको साइत पर्खन कठिन भएको थियो । प्रसारण गर्ने सामग्रीको अभाव भएको महसुस गरिएको थियो । राम भजन गाउन बोलाइएका कलाकारलाई लामो भजन गाउन भनिँदैथ्यो भने कतिपयले भारतीय जनता पार्टीका नेतालाई नै आमन्त्रण गरेर विषयवस्तुलाई रोमाञ्चक बनाएका थिए ।
भारतीय मूलधारका टेलिभिजन च्यानलहरू विजयी मूडमा थिए । मूलधारका सञ्चारमाध्यमको यस्तो अभूतपूर्व समर्थन पाएका भारतीय प्रधानमन्त्री मोदी कुनै पौराणिक योगीभन्दा कम थिएनन् । एघार दिनअघिदेखि, उपवास बसेर, उपवासका चालीस नियमसमेतको पालना गर्दै अन्य भ्रमण बर्जित गर्दै तीर्थाटन मात्र गरेर आध्यात्मिक चमकबाट चम्केका मोदीलाई प्रमुख प्रतिपक्षलगायत अन्य प्रतिपक्षले विरोध गरे । हिन्दु भोट गुमाएको भनेर आलोचना गरियो ।
इतिहासकारका अनुसार कौशल प्रदेशको प्राचीन राजधानी अवधलाई कालान्तरमा अयोध्या र बौद्धकालमा साकेत भन्न थालियो । जैन मतका अनुयायीका अनुसार आदिनाथसहित पाँच तीर्थांकरको जन्म अयोध्यामा भएको थियो । बुद्धले केही समय अयोध्यामा विहार गरेको भन्ने विश्वास बौद्धधर्मावलम्बीहरूको रहेको छ ।
चार शंकाराचार्यहरूले मन्दिरको काम पूर्णसम्पन्न भएपछि मात्र प्राण प्रतिष्ठा गरे सहभागी हुने अपूरो भएको अवस्थामा सहभागी नहुने भन्ने भनाइले पनि मोदीलाई आफ्नो अडानमाथि पुनर्विचार गर्ने अवस्था बनाएन । पुरी मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले एउटा अन्तर्वार्तामा प्रधानमन्त्री मोदीलाई बुद्धु र बुद्धिहीन भनेपछि त आरोप प्रत्यारोपको शृंखला नै चल्यो । विश्वहिन्दु परिषद्का जिम्मेवार पदाधिकारीले रामानन्द समुदायको मन्दिरमा शंकराचार्यहरू नआए पनि फरक नपर्ने भनेर प्रतिवाद गरे । उनीहरूले नरेन्द्र मोदी भगवान् विष्णुका साक्षात् अवतार हुन् भनेर शंकराचार्यहरू र प्रमुख प्रतिपक्षको आवाजलाई बेवास्ता गर्दै राम मन्दिर उद्घाटन अभियानमा लागिपरे । जुन् सफल पनि भइसकेको छ ।
राम र रामजन्मभूमिको विवाद
रामको शाब्दिक अर्थ लगाउँदा ‘रमन्ते योगिनो यस्मिन् चिदानन्दे चिदात्मनि इति राम’ अर्थात् नित्य आनन्द प्रदान गर्नेवाला जुन् भगवानमा योगीजनहरू रमण गर्दछन् अथवा जुन् नाम जप गरेर रमाउँछन् त्यसलाई राम भनिन्छ । रघुकुलका राजा दशरथ र रानी कौशल्याबाट जन्मेका राम ‘प्राण जाए पर वचन नजाइ’ भन्ने आदर्श बोकेको रघुकुलका प्रभावशाली राजा थिए । जति जति सरयू नदीमा पानी बग्दै गयो, अनुयायीहरूले उनको प्रभावलाई विस्तार गर्दै लगे । उनलाई भगवानको रूपमा पूजा गर्न थाले । अहिले त रामानन्द समुदायमात्र होइन लण्डन, न्यूयार्क, पेरिसजस्ता विश्वका ख्यातिप्राप्त शहरहरूमा ‘हरेरामा हरेरामा’ भनेर रामको नाममा लीन हुनेहरूको ठूलो संख्या देख्न सकिन्छ । इस्कोनको मनोरञ्जन मिसिएको ऊर्जाशील भक्तिमार्गको तौरतरिकाले त युवाहरूको आकर्षणसमेत बढाएको छ । इस्कोनको अभियानमा रहेको ज्ञान र भक्तिको विषयमा भने अहिले चर्चा गरिनेछैन ।
हिन्दुहरूको भनाइ अनुसार पहिले रामजन्मभूमि रहेको स्थानमा ईसं. १५२७/०२८ तिर मुगल राज्य विस्तारको क्रममा बाबरले राम मन्दिर भत्काएर मस्जिद बनाएका थिए र बाबरको आदेशमा मीर बाकीले मस्जिदको निर्माण गरेका थिए । त्यसकारण यो राम जन्मभूमि भएको स्थान हिन्दुहरूको हो भन्ने भनाइ हिन्दुपक्षको रहेको थियो । यो लामो समयदेखि विवादको विषय बनिरहेको थियो । सन् १९४९ मा राम-सीताको मूर्ति राखियो । सन् १९९० को दशकमा यो विषय राजनीतिक मुद्दा बन्यो । हिन्दुत्वको नारालाई आधार बनाएको भारतीय जनतापार्टी र ऊसँग संबद्ध संस्थाहरूको नेतृत्वमा निस्केको एउटा उग्र भिडले सन् १९९२ मा बाबरी मस्जिदलाई ध्वस्त बनाइदियो जुन घटनामा लगभग दुई हजार मानिसको मृत्यु भयो ।
तत्पश्चात् यो विषय झनै संवेदनशील बन्दै गयो । यो विषय अदालतमा प्रवेश ग¥यो । पुरातात्विक सर्वेक्षण गरियो । सर्वेक्षणबमोजिम कतिपय संरचनाहरू मन्दिरको भएको पुष्टि गर्ने किसिमका तथ्यहरू सार्वजनिक भए । लामो कानुनी लडाइँपछि पुरातात्विक सर्वेक्षणलाई समेत आधार मान्दै सन् २०१९ मा भारतीय सुप्रिम कोर्टले विवादित जमिनमा राम मन्दिर रहेको भन्ने फैसला गर्यो । मुसलमानहरूलाई मस्जिद निर्माणका लागि अर्को जमिन उपलब्ध गराउन भनियो । यस फैसलापश्चात् राम मन्दिर निर्माणको काम प्रारम्भ भएर प्राण प्रतिष्ठा भएको छ ।
यो तीन तले मन्दिरको चौडाइ २५० फिट रहेको छ भने यो १६१ फिट अग्लो छ । मन्दिरको मुख्य क्षेत्र २.६७ एकडमा फैलिएको छ । ३९० वटा पिलर रहेका छन् भने ४६ वटा ढोका र पाँचवटा मण्डप रहेका छन् । संगमरमरको आसनमा २०० किलो तौल र ५१ इन्च अग्लो भगवान् रामको बाल्यकाल झल्किने कृष्ण वर्णको मूर्ति (रामलला)लाई विराजमान गराइएको छ । कतिपय भारतीय राज्यहरूमा पूरा वा आधा दिन बिदा दिइएको थियो । अयोध्यामा प्राण प्रतिष्ठा भइरहँदा भारतीय अन्य राज्यलगायत लण्डन, न्यूयोर्क, दुबईजस्ता शहरहरूमा भारतीय मूलका नागरिकलगायतले उत्सव मनाएका थिए । यो मन्दिर निर्माण भइसकेपछि दैनिक एक लाख पचास हजार मानिसले अवलोकन गर्ने विश्वास गरिएको छ ।
इतिहासकारका अनुसार कौशल प्रदेशको प्राचीन राजधानी अवधलाई कालान्तरमा अयोध्या र बौद्धकालमा साकेत भन्न थालियो । अयोध्या मूलतः मन्दिरहरूको शहर थियो । जैन मतका अनुयायीका अनुसार आदिनाथसहित पाँच तीर्थांकरको जन्म अयोध्यामा भएको थियो । बुद्धले केही समय अयोध्यामा विहार गरेको भन्ने विश्वास बौद्धधर्मावलम्बीहरूको रहेको छ । आधुनिक भारतको उत्तर प्रदेशमा रहेको अयोध्याले राम मन्दिरको निर्माणसँगै आफ्नो मुहार फेर्ने परिस्थिति निर्माण भएको छ ।
धर्म र राजनीतिक सत्ता
लामो समयदेखि धर्मको आडमा राजनीति गर्ने र राजनीतिक सत्ता प्राप्त गर्ने घटना हुँदै आएका छन् । अहिले पनि अफगानिस्तान, इरानलगायत देशमा धर्मको आडमा कठोर शासन सञ्चालन भइरहेको छ । प्रमुख प्रतिपक्ष र चार शंकराचार्यहरूको विरोधको बाबजुद निर्माणको काम सम्पन्न नहुँदै मन्दिर उद्घाटनको विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनतापार्टीको सत्ता प्राप्तिको राजनीतिसँग जोडिएको भनेर आलोचना भइरहेको छ । उद्घाटन समारोहमा मोदीले भनेका थिए ‘राम आगए हैं । हमारे राम आगए हैं’ । उनले चाहेको भए रामलाई चुनावपछि पनि ल्याउन सक्थे तर चुनावअघि ल्याउनुमा असी प्रतिशत हिन्दुधर्मावलम्बी भएको देशमा भारतीय जनता पार्टीको उद्देश्य आगामी चुनावमा एकल बहुमत प्राप्ति गर्नेतर्फ लक्षित रहेको छ भनेर सहजै अनुमान गर्न सकिन्छ ।
हिन्दुधर्मावलम्बीको रूपमा पाँच सय वर्षअगाडिदेखिको प्रयासले साकार रूप ग्रहण गर्नु निश्चय गौरव र उत्सव मनाउने विषय हो । यो विषय हिन्दुत्वका लागि थियो भने निर्माण काम सम्पन्न भएपछि संघीय चुनावपश्चात् शंकराचार्य, प्रतिपक्षसमेतको उपस्थितिमा गर्नसकेको भए सर्वस्वीकार्य बन्न सक्दथ्यो । यो मूर्ति स्थापनाको हतारोले पाँच महिनापछिको चुनावलाई लक्षित गरेको छ भन्नेहरूको आरोपलाई बलियो बनाएको छ । धर्मको जिम्मा शासकहरूले लिने कि जनताले लिने भन्ने सम्वन्धमा जोशी मठका शंकराचार्यको भनाइ मननीय छ । उनले भनेका छन्–भारतको मौलिक आस्था मेटाउन खोज्नेहरूले हजार वर्ष शासन गर्दा पनि हाम्रो आस्था बाँचिरहृयो । किनकि यहाँको धर्मको जिम्मा सन्तहरूले लिए । जहाँ धर्मको जिम्मा शासकहरूले लिएका हुन्छन् त्यहाँ शासकको हारसँगै धर्मको पनि हार हुन्छ, नयाँ शासक आएर अर्को धर्म लाद्न सक्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धर्मनिरपेक्ष भारतमा हिन्दुत्वलाई संरक्षण दिएर हिन्दु धर्मको प्रबद्र्धन गरेको जस, अपजस लिइरहेका छन् । भारतीय जनता पार्टी र मोदी सत्ताबाट विस्थापित भएको दिनमा सत्ता संरक्षित र लाभान्वित हिन्दुवादीहरू पाखा लागेपछि हिन्दुधर्म बच्ने र टिक्ने भनेको त जनताको मनमा रहेको आस्थाले हो । जनताको मनमा आस्था र विश्वास जगाउन सकिएन भने शासनको बलमा गरिएका प्रयासहरू चिरस्थायी नहुने घटनाहरू त हामीले प्रशस्त देखिसकेका छौं ।
मोदीले हिन्दुत्वको मुद्दासँगै आर्थिक विकासको काम पनि सँगसँगै अघि बढाएकाले उनीप्रति जनताको विश्वास बढिरहेको भन्ने तथ्य त केही समयअगाडि भएको प्रान्तीय चुनावमा अरू पार्टीको बर्चस्वलाई कमजोर बनाउँदै भारतीय जनता पार्टीले राम्रो प्रदर्शन गरेबाट पनि पुष्टि भइसकेको छ । सामान्य भारतीय नागरिकको तहसम्म मोदीले देशको विकास गरेको, देशको इज्जत बढाएको भन्ने सन्देश पुगेको छ । यस्तो अवस्थामा धार्मिक कट्टरता देखिने मोदीका कामहरूलाई पनि असी प्रतिशत हिन्दु भएको देशका मतदाताले आगामी केही महिनापछि हुने चुनावमा समर्थन गरिदिए भने अन्यथा नमान्दा हुन्छ । त्यसैले त ठूलै विरोधको बाबजुद पनि उनले अपूरो अवस्थाको मन्दिरमा राखिएका रामललाको मूर्तिमा प्राण भर्ने भव्य अनुष्ठान सम्पन्न गरे ।
मन्दिर अर्थतन्त्र
भारतको अर्थतन्त्रमा मन्दिर अर्थतन्त्रको हिस्सा उल्लेखनीय रहेको छ । जन्मिएपछिको पहिलो कर्मकाण्डदेखि नै भारतवर्षे भारतखण्डे भनेर गरिने संकल्प सुन्दै आएका नेपालीहरू जीवनको उत्तराद्र्धमा चारधामलगायत स्थानको यात्रा गरिएन भने जीवनमा गर्नुपर्ने काम गर्न नसकेको भनेर पछुताउनुपर्ने अवस्था छ । भारत आफैं पनि विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश भएका कारण आन्तरिक मन्दिर पर्यटनले पनि अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ ।
मर्यादा पुरुषोत्तम भनिने भगवान रामको शिलाको मूर्तिमा प्राणप्रतिष्ठा गर्ने अनुष्ठान सम्पन्न भएको छ । यस घटनाबाट उब्जेको मनोमालिन्यले अबका दिनमा कसैको वास्तविक प्राण पखेरू उडेर नजाओस् भन्नेमा चाहिँ सम्बद्ध व्यक्ति वा समूह चनाखो हुन जरुरी छ ।
हालैको दिनमा जनताको जीवनस्तरमा आएको सुधारले पनि भारतीय नागरिकको आन्तरिक आवागमन बढिरहेको अवस्था छ । यस्तो अवस्थामा आँकलन गरिए अनुसार दैनिक एक लाख पचास हजार आगन्तुकले राम मन्दिरको अवलोकन/दर्शन गरे भने अयोध्या नगरी नवयौवना त बन्ने नै छ । उत्तर प्रदेश र समग्र भारतको अर्थतन्त्रलाई नै पनि चलायमान बनाउन मद्दत गर्नेछ । हरेक घटनाक्रममा आर्थिक पक्ष र जीविकाको सवाललाई सम्वोधन गर्नु मोदी सरकारको अर्को दूरदृष्टियुक्त काम हो । अयोध्यामा पर्याप्त मात्रामा होटेलहरू बनिरहेका छन् । नयाँ विमानस्थल, रेल्वे स्टेसन सम्पन्न हुन लागेका छन् । यी सबै कामले रोजगारीको सिर्जना गर्ने, उपभोग बढ्ने, माग बढ्ने, उत्पादन बढ्नेजस्ता आर्थिक सुचक्र चलायमान हुने परिस्थिति बनेको छ जसले अहिले भएका आलोचनालाई जनताको विस्मृतिमा पुर्याइदिनेछ ।
नेपालमा प्रभाव
राम जन्मभूमि अयोध्यामा रामललाको प्राण प्रतिष्ठा गरिएको दिन जनकपुर, कपिलवस्तु, सप्तरीलगायत कतिपय जिल्लाका केही स्थानीय तहले सार्वजनिक बिदाको घोषणा गरे । भारतकै अधिकांश स्थानमा आधा दिन बिदा दिएको सन्दर्भमा ती पालिकाहरूको निर्णय नयाँ मुल्लाहाले बढी प्याज खाएको जस्तो देखिएको छ । अझ, नेपालीहरूको कामचोर संस्कृतिलाई उजागर गरेको छ । बिहान-बेलुका अथवा प्राण प्रतिष्ठाको साइतको समयमा रामप्रति निष्ठा व्यक्त गर्ने अनुष्ठान गर्न सकिने अवस्थामा बिदा घोषणा गरेर जनताको काममा अवरोध पु¥याउनु किमार्थ राम्रो कार्य होइन ।
यस घटनाले भारतीय सत्ताको धार्मिक मनोबल बढाएको छ । अनुष्ठानको कार्यक्रममा प्रफुल्ल मुद्रामा देखिएका नेपालसँग सिमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपालका मित्रशक्तिलाई दिने ढाडसले नेपालमा पनि धर्मको नाममा गरिने गतिविधिलाई अनुकूलता थप्ने परिस्थिति निर्माण नहोला भन्न सकिँदैन । हिन्दुराज्य र हिन्दुअधिराज्यको बेमौसमी बाजा बजाउन अग्रसर देखिएका शक्तिहरूको बहकाउमा बहकिनबाट वर्तमान अवस्थाका प्रमुख पार्टीका मुख्य नेताका गतिविधि देखेर वाक्कदिक्क भएका जनतालाई जोगाउन सकिएन भने भुँइको सामान टिप्दा पोल्टाको सामान नखस्ला भन्न सकिँदैन ।
सारांशमा, स्वामी विवेकानन्दले औद्योगिक क्रान्तिको सफलताले पुलकित भएका अमेरिकी माँझ सिकागोमा गरेको प्रवचनमा पूर्वीय दर्शनको लचकता, सबैलाई संरक्षण दिने, सहकार्य गर्ने र हिंसालाई छोडेर बसुधैव कुटुम्बकम् ठान्ने संस्कारसमेतका बारेमा बताएपछि उनीहरूको मनमा हिंसाप्रति ग्लानिबोध भएको थियो । ‘ब्रहृम सत्यं जगन्मिथ्या’ भन्ने दर्शनका अनुयायी हिन्दुहरूले ईश्वरीय अस्तित्वलाई धर्म, सम्प्रदायको आधारमा विभाजन, घृणा र वैमनस्यतातर्फ उन्मुख गराउनु कुनै अवस्थामा राम्रो होइन । राजनीतिक स्वार्थका लागि निर्माण सम्पन्न भइनसकेको रामको मूर्तिमा प्राणप्रतिष्ठा गर्ने कार्य धर्म अनुकूल भएन भनेर शंकराचार्यहरूले भनेको विषयलाई लिएर शंकराचार्यहरू रामका अनुयायी होइनन्, उनीहरू नआए पनि फरक पर्दैन भन्ने खालका अभिव्यक्ति कुनै सभ्य समाजका लागि सुहाउने किसिमको छैन ।
अरू धर्मलाई समेत संरक्षण र भरोसा दिने सनातन धर्मलाई राजनीतिक लाभका लागि बद्नाम गर्न भारतका वर्तमान सत्ताधारीलाई सुहाउने विषय होइन । मर्यादा पुरुषोत्तम भनिने भगवान रामको शिलाको मूर्तिमा प्राणप्रतिष्ठा गर्ने अनुष्ठान जय श्रीराम भन्ने उद्घोषका साथ सम्पन्न भएको छ । यस घटनाबाट उब्जेको मनोमालिन्यले अबका दिनमा कसैको वास्तविक प्राण पखेरू उडेर नजाओस् भन्नेमा चाहिँ सम्बद्ध व्यक्ति वा समूह चनाखो हुन जरुरी छ । राम जन्मभूमि अयोध्यामा ठूलाबडा भेला भएर जय श्रीराम भन्ने आवाजलाई गुञ्जायमान गर्दैमा सबै काम तमाम चाहिँ भएको छैन ।






