अधिकांश बाहुन-क्षेत्रीले नुनको सोझो गरेरै दुई छाक खाएका छन् । बिहानदेखि बेलुकासम्म श्रम गरेरै लालाबालाको आवश्यकता पूरा गरिरहेका छन् । मिहिनेतको बलबाटै समृद्धिको मार्गमा अग्रसर छन् तर शासनसत्ता हातमा लिएका एका-दुई बाहुन-क्षेत्रीलाई हेरेर समग्र बाहुन- क्षेत्री समुदायलाई नै विभिन्न आरोप लगाउने गरिएको छ । यसो गर्दा मेचीदेखि महाकालीसम्मका अति दुर्गम क्षेत्रमा जसोतसो गुजारा चलाइरहेका बाहुन-क्षेत्रीलाई समेत आघात पर्ने गरी भए÷नभएका आरोप/प्रत्यारोप गर्दा कतै उनीहरूमाथि घोर अन्याय त भएको छैन भनेर कसैले सोच्ने गरेको पाइँदैन ।
दुई दशकयतादेखि नेपालमा सर्वाधिक गाली खाने वर्गमा बाहुन जाति पर्ने गरेको छ । बाहुनसँगै जोडिएका क्षेत्री, सन्यासी आदि दशनामीहरू गालीका अधिकारी बनेका छन् र पनि बाहुनहरूकै नामबाट सबैलाई सम्बोधन गरिन्छ ।
बाहुनमा पनि पहाडी बाहुन र तराईका बाहुनका बीचमा भेद छ । जातजातिका आधारमा गाली भेट्ने भनेको पहाडका बाहुनले मात्रै हो । कसैले बाहुनले देश खाए भन्छन्, कसैल तागाधारीहरूले शोषण गरे भन्छन् त कसैले बाहुन-क्षेत्रीलाई संयुक्त रूपमा आरोपित गर्दछन् । देश खानेमा यो जाति र त्यो जाति भन्ने छैन, देश खाएका भ्रष्टाचारीहरूले हो तर सबैको जिम्मेवारी केवल बाहुन जातिलाई भिराइने गरिएको छ । सत्यता के हो भन्ने कसैलाई मतलब छैन तर आफ्नो कमजोरीलाई बाहुनका काँधमा हालेर पञ्छिने काम पछिल्ला समयमा हुने गरेको छ ।
केही दिनअघि छवटा आयोगहरू एकै ठाउँमा बसेर उनीहरूको संयुक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरे । ती आयोगहरूमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु र मुस्लिम आयोगहरू थिए । कार्यक्रममा सबै आयोगका पदाधिकारीले निजामती सेवामा आ-आफ्ना वर्गका मानिसहरूको प्रतिनिधित्वका बारेमा कुरा उठाए ।
विसं २०७८ को जनगणना अनुसार नेपालमा पहाडी बाहुनको जनसंख्या ११.२९ प्रतिशत र क्षेत्रीको जनसंख्या १६.४५ प्रतिशत छ । जातीय द्वन्द्व चर्काएर राजनीतिक फाइदा लिन तम्सिनेहरूको निसानामा परेका ब्राहृमण-क्षेत्रीहरूको जनसंख्या सधैंजसो तीस प्रतिशतको हाराहारीमा रहँदै आएको छ । तीस प्रतिशत जनसंख्या रहेका जातजातिले सरकारी संयन्त्रमा सत्तरी प्रतिशतको हालीमुहाली गरे र सत्तरी प्रतिशत जनसंख्या रहेका बाहुन-क्षेत्री आदि बाहेकका जातिहरूको सरकारी अड्डाहरूमा तीस प्रतिशत मात्रै प्रतिनिधित्व रहृयो भन्ने मूल गुनासो रहिआएको छ । त्यही आँकडालाई देखाएर मुलुकका सबै बाहुन-क्षेत्री फटाहा र शोषक हुन् भन्ने मान्यता स्थापित गराउने प्रयास भइरहेको पाइन्छ ।
राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक पाटोमा पछि परेका वर्गहरूलाई माथि उकास्ने उद्देश्यका साथ नेपालको संविधानले नै विभिन्न आयोगको परिकल्पना गरेको छ । त्यसै अनुरूप नेपालमा दलित आयोग, महिला आयोग, जनजाति आयोग, मधेसी आयोग जस्ता संवैधानिक आयोगहरू गठन गरिएका छन् । ती आयोगहरूको काम आ-आफ्ना वर्गको उत्थानका लागि योजना बनाउनु, सरकारलाई ती योजनाहरूको कार्यान्वयन गर्न लगाउनु र जिम्मेवारी अनुरूपको काममा तल्लीन हुनु हो तर आयोगहरू पनि काम कुरो एकातिर कुम्लो बोकी अर्कैतिर जस्ता भएका छन् या ती आयोगहरू आफ्नो जिम्मेवारी के हो र काम कसरी गर्ने हो भन्ने मेसो पाउनै नसकेर रनभुल्लमा छन् ।
केही दिनअघि यस्ताखाले छवटा आयोगहरू एकै ठाउँमा बसेर उनीहरूको संयुक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरे । प्रतिवेदन सार्वजनिक गर्ने आयोगहरूमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू र मुस्लिम आयोगहरू थिए । कार्यक्रममा सबै आयोगका पदाधिकारीहरूले निजामती सेवामा आ-आफ्ना वर्गका मानिसहरूको प्रतिनिधित्वका बारेमा कुरा उठाए । सन् २०१२ को तथ्यांक अनुसार नेपालको निजामती सेवामा पहाडिया बाहुन-क्षेत्री समुदायको प्रतिनिधित्व ६२.९ प्रतिशत रहेको र सोही समुदायको महिलाहरूको प्रतिशत १०.१ रहेको थियो । सन् २०१९ मा आएर पहाडिया बाहुन-क्षेत्रीको सहभागिता घटेर ६१.२ प्रतिशत हुनपुगेको र सोही समुदायका महिलाहरूको प्रतिनिधित्व भने बढ्न गई १५.६ प्रतिशत पुगेको थियो । बाहुन-क्षेत्रीको प्रतिनिधित्व यसरी घट्नुलाई सकारात्मक मान्दै कार्यक्रममा धारणाहरू केन्द्रित रहेका थिए । बाहुन-क्षेत्रीको संख्या घट्नुलाई नै अन्य जातिको सफलताका रूपमा परिभाषित गरिन थालिएको छ ।
एउटा जातिको प्रतिनिधित्व नघटी अर्को जातिको बढ्दैन भन्ने कुरा सर्वमान्य सिद्धान्त नै हो तर लक्ष्य कसरी निर्धारण गरिएको छ भन्ने चाहिँ महत्वपूर्ण हुन्छ । मेरो भान्सामा भात पाकेन भने छिमेकीको भान्सामा पनि पकाउन नदिने कि छिमेकीको घरमा भात पाकेको देखेर आफ्नामा पनि पाक्ने परिस्थिति निर्माण गर्ने भन्ने चाहिँ अहं प्रश्न हो । नेपालमा अहिले चलेको हौवा चाहिँ म पनि खान्न र तैँले पनि खान पाउँदैनस् भन्नेछ । यस्ता विवादले अनावश्यक समस्यामात्रै सिर्जना गर्दछन् र कसैको हित गर्दैन । सरकार, समाज र सचेत नागरिकहरूले जहिले पनि सर्वजन हितका पक्षमा मात्रै सोच्नुपर्दछ ।
प्रतिवेदन अनुसार १५ वर्षको अवधिमा निजामती सेवामा महिलाको प्रतिनिधित्व ५.५ प्रतिशतका दरले बढेको छ । जनजातिहरूको उपस्थिति सन् २०१२ मा साढे बाह्र प्रतिशत रहेकोमा सन् २०१९ मा १४ प्रतिशत पुगेको छ । सन् २०१२ मा दलितको सहभागिता १.७ प्रतिशत थियो भने २०१९ मा २.८ प्रतिशत पुगेको छ । सोही अवधिमा मधेसीहरूको प्रतिनिधित्व ८.८ प्रतिशतबाट वृद्धि भई ११.५ प्रतिशत र मुस्लिमहरूको प्रतिनिधित्व ०.५ प्रतिशतबाट बढेर ०.७ प्रतिशत हुनपुगेको छ । यसरी हेर्दा सबै समुदायको हिस्सा बढ्दै गएको छ तर जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व नभएकोमा भने चित्त बुझाउन सकेका छैनन् ।
यही वृद्धिदरलाई हेरेर यसै आधारमा उनीहरूले आ-आफ्नो समुदायको भोलिको प्रक्षेपण पनि गरेका छन् । महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुग्न १३६ वर्ष लाग्ने र जनजातिको प्रतिनिधित्व ३५ प्रतिशत पुग्न २१० वर्ष लाग्ने अनुमान गरेका छन् । त्यसैगरी दलितको समानुपातिक सहभागिता निश्चित हुनका लागि १२० वर्ष लाग्ने र मधेसीहरूले ९० वर्ष पर्खनुपर्ने दाबी ती आयोगहरूले गरे । एउटा कुरा उनीहरूले के ख्याल गरेको देखिएन भने शिक्षा, चेतना र समृद्धिको स्तर बढ्न थालेपछि त्यसको प्रभाव अंगगणितीय तबरले नभई ज्यामितीय हिसाबले वृद्धि हुँदै जान्छ । परिवारका एक सदस्य सशक्त भएपछि अन्य सदस्यहरूमा सशक्तीकरणको प्रभाव पर्दै जाने हुँदा ती आयोगहरूले भने जस्तै त्यति लामो समय कुर्नुपर्ने देखिँदैन ।
सरकारी आयोगहरूको कार्यक्रम भएका कारण त्यहाँ कुनै जाति विशेषलाई अनावश्यक लाञ्छना लगाउने काम त भएन तर यो आँकडाले पहिलेदेखि नै अन्य देश, धर्म र डलरका प्रभावमा परेर बाहुन-क्षेत्रीलाई तथानाम भन्दै आएकाहरूलाई मसला भर्ने काम भने गरेको छ । आरोप-प्रत्यारोपका लागि तथ्यगत आधारहरू उपलब्ध भएका कारण नेपाली समाजमा द्वन्द्व पैदा गरेर लाभ लिनेहरूका लागि सहज परिस्थिति निर्माण भएको देखिन्छ । यी तथ्यांकहरू ती पछि परेकाहरूको समुत्थानमा योजना बनाउन प्रयोग हुनुपर्ने हो तर विगत हेर्दा आवश्यकीय कार्यमा भन्दा पनि विवाद सिर्जनामा प्रयोग गर्नेहरूले दुरूपयोग गर्ने हुन् कि भन्ने डर छ ।
वास्तविकता यही नै हो । क्षेत्री राजाहरूले साढे दुई सय वर्षअघिदेखि शासन गरेकै हुन् । ब्राहृमणहरू प्रशासनिक कार्यमा प्रवेश गरेर राज्य संयन्त्र परिचालन गर्दै आएकै हुन् । क्षेत्रीहरू सेना तथा सुरक्षा निकायमा बसेर राज्यको सीमा संरक्षण तथा सुरक्षा कायम गर्ने काममा खटेकै हुन् । समयको परिवर्तनसँगै कुनै एक काम कुनै एक जातिको होइन भन्ने मान्यता स्थापित हुँदै आएपछि सबैले सबैतिर समानुपातिक प्रतिनिधित्व खोज्नु स्वाभाविकै हो तर त्यसका लागि आवश्यक पूर्वाधार खडा गर्ने र तयारी गर्ने काम भयो कि भएन भन्नेतिर चाहिँ कसैको ध्यान गएन ।
कानुन पढेको विद्यार्थी भोलिको वकिल या न्यायाधीश नै हुने हो । पढाउने बेलामा छोराछोरीलाई ल क्याम्पसमा पढाउने र पछि गएर मेरा छोराछोरी चिकित्सक भएनन् भनेर सरकारसँग रोइलो गर्नुमा कुनै तूक हुँदैन । मानविकी पढेको मान्छे कसैगरी इञ्जिनियर बन्दैन । संस्कृतमा प्रकाण्ड भएकैले सप्ताह वाचन गर्नेदेखि कर्मकाण्डसम्मका काम गर्ने हो । फलानो मात्रै चौकामा बस्यो भनेर विज्ञानमा स्नातकले आन्दोलन गरेर कसैले पनि पण्डित बनाउन सक्दैन । जसले विद्यालय र विश्वविद्यालयमा पढे अनि लोकसेवा आयोगको परीक्षामा सहभागी भए तिनै नै अहिले निजामती सेवामा छन् । निजामती सेवामा अहिले देखिएको विभेदको मूल जड पनि यही नै हो ।
यदि ती आयोगहरूले आफ्ना क्षेत्रका मानिसहरूको प्रतिनिधित्व निजामती सेवामा बढाउन चाहेका हुन् भने अशिक्षित समुदायलाई शिक्षित बनाउने योजना ल्याउनुपर्दछ र लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गर्न प्रेरित गर्नै पर्दछ । अन्यथा ब्रिटिश सेनामा भर्ती हुने तालिम दिलाएर प्रशासनमा स्थान पाउने सम्भावना नै हुँदैन । सानैदेखि व्यापार-व्यवसाय वा कुनै पेशामा संलग्न हुनेले अधिकृत हुने सपना पालेकै हुँदैन । नेपालमा देखिएको के हो भने पहाडिया बाहुन र क्षेत्रीहरूले आफ्ना सन्ततिलाई पढाउन आधा पेट खाएर बस्ने गर्दथे र छोराछोरीलाई कि त शिक्षक बन्न कि त सरकारी जागिरे बन्न प्रेरित गरिरहन्थे । त्यसैको परिणाम त्यो तथ्यांकमा देखिएको हो । विगतमा पनि पढेलेखेका सबै जातिका मानिसले निजामती सेवामा प्रवेश पाएर उपल्लो स्थानमा पुगेको देखिएकै हो ।
बाहुन–क्षेत्रीलाई अनावश्यक आरोप लगाई रहँदा कर्णालीमा जीवन बिताइरहेका ब्राहृमण क्षेत्रीलाई पनि हेर्नुपर्दछ । शहरका मानिसलाई हेरेर लाञ्छना लगाइरहँदा नेपालका दुर्गम भेगका बाहुन-क्षेत्रीका मनमा कस्तो पीडा पर्दो हो ख्याल गरेको देखिँदैन । सुविधाप्राप्त व्यक्ति जुनसुकै जातको भए पनि अवसर प्राप्त गरेकै छ र राज्यको दृष्टि पुग्न नसकेका भेगका मानिस जुनसुकै जातको भए पनि दुःखमै छ । यथार्थ हेर्ने हो भने जातका आधारमा विभेद भएको त्यति देखिँदैन, कथित दलितका सन्दर्भमा भने बेग्लै हो । नेपालमा विभेद भएको भनेका महिलामाथि र दलितमाथि चाहिँ अवश्यै हो ।
अहिले पनि छोरालाई निजी विद्यालय पठाउने र छोरीलाई सामुदायिकमा पढाउने परिवार प्रशस्तै छन् । कतिपय गाउँहरूमा दलितका बालबच्चालाई छुट्टै व्यवहार गर्ने प्रयास भएको देख्न पाइन्छ । यस्ता विभेदहरू हटाउनै पर्दछ तर समानुपातिक प्रतिनिधित्व गराउने नाममा अहिले भएको व्यवस्थाले लक्ष्यितवर्गलाई फाइदा पु¥याउन सकेजस्तो देखिँदैन । जसलाई आरक्षण आवश्यकै छैन र दिनु पनि हुँदैन उसैले अनावश्यक फाइदा प्राप्त गरिरहेकै छ । काठमाडौंको महँगो निजी विद्यालयमा पढेका अन्य जातिकाले आरक्षणबाट सुविधा भोग्ने तर दुई छाक खान नसक्ने परिवारका बाहुन–क्षेत्रीले खुलामा मात्रै लड्नुपर्ने जस्तो विभेदकारी आरक्षण कायम रहिरहे द्वन्द्वमात्रै सिर्जना गर्दछ । चाहे महिला होस् या दलित, जनजाति होस् या मधेसी, मुस्लिम होस् या थारू, आर्थिक हैसियत, परिवारले प्राप्त गरेको अवसर र राज्यले उपलब्ध गराएको सुविधाका आधारमा आरक्षित हुनुपर्दछ । न कि जातका आधारमा ।
सबैथोकको अपजस बोक्नुपर्ने पहाडिया बाहुन–क्षेत्रीको त दुर्भाग्य नै हो । गरेको पाप पो लाग्छ, नगरेको लाग्छ र भनिन्छ तर पनि यस वर्गलाई गर्दै नगरेको कलंक लाग्ने गरेको छ । मधेसी पछि पर्नुमा पनि यही नै भनिन्छ तर मिटर ब्याज पीडित र पीडकहरूको तथ्यांक हेर्ने हो भने पनि पहाडियाहरूले कति दोषको भागी हुनुपर्दछ भनेर थाहा हुन्छ । छलछाम गरेर सोझा मधेसीका जग्गा हडप्नेमा शायदै कोही पहाडिया बाहुन-क्षेत्री होलान् ।







Unearthed the burning hidden issues
हार्दिक धन्यवाद कुलप्रसाद दाजु
ध्नयवाद डा शान्तिकृष्ण अधिकारी ।अधिकरी भएकने हुनाले अधिकृत लेख लेखेर प्रकाशित गरेछाै शतशः धन्यवाद भाइ! हाे,एउटाले बरायाे शाखा पिरायाे भनेर नेपाली लेकवेदले त्यसै भनेकाे हाेईन ।30/ प्रतिशतले 70/ प्रतिशतकाे हालीमुहाली पनि कुलाङ्गार 2/4 वटा छेत्रीबाहुन कै कारणले यस्ताे भएकाे हाे भन्ने ठाेकेर भन्न सकिन्छ ।गर्नेभन्ने हनुमान पगरी गुत्ने ढेडु भन्ने लाेकऋचालाई ध्यानस्थ गरेर समग्र द्विजातिका टाउकामा अाँखा चिम्लेर प्रहार गरेका मुङ्राकाे चाेटमा थाेरै भएपनि मलहम लाउने सुन्दर काम गरेकामा डा शान्तिलाई पुन: सहस्रस: धन्यवाद ।