काठमाडौं । नेपाल बिमा प्राधिकरणले लघुबिमा कम्पनीको व्यावसायिक दायरा विस्तारका लागि लघुबिमा निर्देशन संशोधन गरेको छ । प्राधिकरणले लघुबिमासम्बन्धी निर्देशन, २०७९ को (प्रथम संशोधन) २०८० जारी गरेको हो । संशोधनमा लघुबिमा कम्पनीको व्यावसायिक दायरा फराकिलो पारिएको छ । लघु निर्जीवन बिमा गर्ने बीमकलाई मोटर लघुबिमा र लघु जीवन बिमा कम्पनीलाई वैदेशिक रोजगार म्यादी जीवन बिमालेख बिक्री गर्न अनुमति प्रदान गरिएको हो । लघुबिमा गर्न अनुमति पाए पनि सीमित प्रोडक्टमात्र बिक्री गर्न पाउने व्यवस्था रहेकाले लघुबीमकले दायरा विस्तारको माग गर्दै आएका थिए ।
लघु निर्जीवन बिमा गर्ने बीमकलाई ५० लाख दायित्वसम्मको मोटर लघुबिमा र तेस्रो पक्ष बिमा गर्न पाउने व्यवस्था गरिएको छ । ५० लाख दायित्वसम्मको मोटर लघुबिमा र मोटर बिमादरसम्बन्धी निर्देशिका २०७३ बमोजिम मोटर तेस्रो पक्ष बिमा, लघुबिमा गर्ने पाउने व्यवस्था थपेको हो ।
यसअघि लघुबिमा कम्पनीले मोटर लघुबिमाअन्तर्गत ट्रेलर, ट्याक्टर, थ्रेसर, मोटरअन्तर्गत पर्ने कृषि उपकरण, मोटरसाइकल, ट्राइसाइकल, मोपेड, ट्रयाम्पु, रिक्सा, ठेलागाडाको मात्रै बिमा गर्न पाउने व्यवस्था थियो । लघुबिमा निर्देशन, २०७९ मा निर्जीवन लघुबिमा कम्पनीले ५० लाख रुपैयाँसम्मको घर, सम्पत्ति तथा व्यवसाय र इञ्जिनियरिङ लघुबिमा गराउन पाउने व्यवस्था रहेको थियो । पाँच लाखसम्मको दायित्व तथा मौद्रिक क्षति लघुबिमा र अन्य लघुबिमा गर्न पाउने व्यवस्था छ ।
त्यस्तै, निर्देशिका वा स्तरीकृत बिमालेखबमोजिम बिमा गर्दा सोही निर्देशिका वा बिमालेखमा उल्लेख भएबमोजिमको प्रत्यक्ष बिमाबापतको छुट प्रदान गर्न सकिने व्यवस्था गरेको छ । यसअघि बिमा अभिकर्ताको प्रयोग नगरी सिधै बिमालेख बिक्री (प्रत्यक्ष बिमा) गरिएको हकमा पाँच प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्न सकिनेबाहेक लघुबिमा शुल्कको बिमालेखमा कुनै पनि प्रकारको छुट प्रदान गर्न वा बिमाशुल्क कटौती गर्न वा सहुलियत दिन नपाइने व्यवस्था थियो ।
त्यसैगरी प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बिमासम्बन्धी निर्देशन संशोधन गरेर लघुबिमा कम्पनीलाई १० लाखसम्मको वैदेशिक रोजगार म्यादी जीवन बिमालेख बिक्री गर्ने बाटो खुला गरेको छ । लघुबिमा निर्देशन २०७९ मा लघु जीवन बिमा कम्पनीले पाँच लाखभन्दा कम बिमांक रकमको मात्र जीवनको लघुबिमा गर्न पाउने व्यवस्था थियो ।
सरकारले वैदेशिक रोजगारीमा जान प्रत्येक श्रमिकलाई अनिवार्यरूपमा वैदेशिक रोजगार म्यादी जीवन बिमा गरेर मात्र रोजगारीमा जान पाउने व्यवस्था गरेको छ । प्राधिकरणले चार निर्जीवन र तीन जीवन गरी सात कम्पनीलाई लघुबिमा व्यवसाय गर्न अनुमति दिएको छ ।






