काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नाम मुछिएर आएका समाचारको सन्दर्भमा पत्रकार सम्मेलनमार्फत प्रष्टीकरण दिनुभएको छ ।
सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले ग्यालेक्सी टीभी छाड्दा आफ्नो नाममा १ करोड ८० लाख रुपैयाँ आफ्नो निजी खातामा नआएको दाबी गर्नुभयो ।
‘मेरो खातामा एक करोड ८० लाख आयो भनिएको छ। यो कुराको पुष्टि हुने आधार छैन’, उहाँले भन्नुभयो, ‘मेरो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा भएको छैन।’
कम्पनीले चेक दिए पनि आफ्नो खातामा पैसा जम्मा नभएको उहाँको दाबी थियो । बैंक क्लियरेन्समा पैसा नआए पनि कम्पनी रजिस्ट्रार कार्यालयमा स्लिप गएको उहाँले दाबी गर्नुभयो ।
‘बैंकले मेरो खातामा त्यस परिमाणको रकम चेकमार्फत जम्मा नभएको पत्र दिएको छ’, उहाँले भन्नुभयो, ‘बैंकबाटै पत्र आइसकेपछि मैले थप प्रष्टीकरण दिइरहनु परेन। बैंकले नै जम्मा नभएको भनिसकेपछि मेरो खातामा रकम आउँदा घण्टी बज्दा थाहा पाएन भनेर प्रश्न गर्नै परेन।’






