राप्रपा र दुुर्गा प्रसाई नेतृत्वसँगै केशरबहादुर विष्टको दलले फागुनदेखि यो व्यवस्था फाल्न आन्दोलन गर्ने घोषणा गरेका छन् र राप्रपाले त सनातन धर्म सापेक्षको सट्टा सर्वधर्म समभावको नीति लिएको छ । सर्वधर्म समभाव भनेर गणतन्त्रवादीहरूले पनि भनी रहेका छन् तर इसाई धर्मलाई सर्वोपरी राखेका छन् । यसको विस्तार र प्रबद्र्धनका लागि नेताहरू स्वयं सक्रिय छन् । सर्वधर्म समभाव र धर्म निरपेक्षतामा कुनै अन्तर छैन, केवल शब्दमात्र फरक हो । अर्को कुरा राप्रपाले यिनै वर्तमान दलहरूसँग मिलेर २०४७ को संविधानलाई ब्युँताएर शासन गर्ने भनेको छ । यिनै नेता र यिनीहरूको दल फेरि शासन सत्तामा आए वर्तमान शासन प्रणाली र त्यसमा के अन्तर हुनेछ ? उही विदेशीको पराधीनता स्वीकारेर राजकाज चलाउने, उही देशद्रोह र भ्रष्टाचारलाई मलजल गर्ने हो ।
थप उसले भनेको छ, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अर्थात् राजा आलंकारिक मात्र । आलंकारिक राजामा कुनै अधिकार हुँदैन । राजनीतिक दलहरूले देशविरुद्ध जस्तोसुकै काम गरे तापनि राजाले मौन रहेर सहमति दिनुपर्ने हुन्छ । जति विकृतिहरू भित्रिन्छन् ती सकैको दोषको भागी राजासमेत हुनुपर्छ । के आमजनताले यस्तो राजा खोजेका हुन् कि अधिकार सम्पन्न शक्तिशाली राजा ? नेपाली जनतालाई पृथ्वीनारायण र महेन्द्रजस्तै राजा चाहिएको हो न कि आलंकारिक राजा ? के राप्रपा राष्ट्रिय स्वयं सेवक संघको बाटोमा हिँडेकै हो त ?
हामी यस व्यवस्थाको गुलामीबाट मुक्त हुन चाहन्छौं ? हामी नेपालीहरू इण्डियन धार्मिक तथा सांस्कृतिक गुलामीबाट यसरी जकडिएका छौं कि हामी यो गुलामीबाट मुक्त हुन चाहँदैनौं । जसरी पनि हामी गुलाम बनिरहन चाहन्छौं ।
राष्ट्रिय स्वयं सेवक संघको कुरा गर्दा अहिले इण्डियाको अयोध्यामा प्राण प्रतिष्ठा हुनलागेको राम मन्दिरको समर्थनमा इण्डियनभन्दा नेपाली जनता बढी उत्सुक र उत्सााहित छन् । मानौं नेपालमै रामको जन्मभूमि ठोरीको अयोध्यापुरीमा विशाल राम मन्दिर बनेर भगवान श्रीरामको प्राणप्रतिष्ठा हुनलागेको छ । मधेस प्रदेशमा उक्त दिन सार्वजनिक बिदाको माग भइरहेको छ । राष्ट्रिय स्वयंसेवक संघको नेपालस्थित हिन्दू स्वयंसेवक संघ र विश्व हिन्दू संगठन आदि जो इण्डियाबाट सञ्चालित छन् तिनीहरूले भगवान श्रीरामको इण्डियामा हुनलागेको प्राण प्रतिष्ठा हुने दिन २२ जनवरीलाई उल्लासमय तरिकाले मनाउन र घरघरमा दीप प्रज्ज्वलन गर्न अनुरोध गरिरहेका छन् ।
दीप प्रज्ज्वलन गर्नु नै छ भने रामनवमीको दिन गरे हुन्छ । हामी नेपाली यो धर्म निरपेक्ष गणतन्त्रविरुद्ध आन्दोलन गर्न आतुर छौं । भोलि आन्दोलन सफल होला, ती दलहरूको माग अनुसारको २०४७ को संविधान पनि लागू होला तर के हामी विदेशीबाट प्रायोजित यो व्यवस्थाको गुलामीबाट मुक्त हुने छौं ? हामी नेपालीहरू इण्डियन धार्मिक तथा सांस्कृतिक गुलामीबाट यसरी जकडिएका छौैं कि हामी यो गुलामीबाट मुक्त हुन चाहँदैनौं । जसरी पनि हामी गुलाम बनिरहन चाहन्छौं । त्यसो भए अहिलेको पराधीन व्यवस्था र अब ल्याउने व्यवस्थामा के अन्तर छ ?
एकजना मानिसको घरमा मुसा लागेछ । अन्नपात केही रहन नदिने, जे भेट्टायो त्यही खाने । आजित भएर ती मानिसले मुसा मार्ने मुसादानी किनेर ल्याएछन् । त्यसमा रोटीमा घ्यू दलेर राखिदिएछ । राती मुसो त्यो रोटी खान आएछ र मुसादानीमा फसेछ । बिहान घरबेटी उठेर मुसा फस्यो कि फसेन भनेर हेर्न गयो । मुसादानीमा मुसा फसेको हुन्छ तर जिउँदै । उसले मुसालाई मारेर पाप बोक्न चाहेन । ऊ मुसासहित मुसादानी लिएर टाढा बाटोमा गयो र मुसादानी खोलेर भगाउन चाहृयो तर मुसो जान मानेन । ऊ त्यहीँ बसिरहृयो । मुसालाई आफू अझै मुसादानीमा फसिरहेको जस्तो लाग्यो । उसले स्वतन्त्र हुन चाहेन, गुलामीको सांगलोमा जकडिरहृयो ।
अन्त्यमा ती मानिसले मुसालाई लौरोले घचेटेर मुसादानीबाट बाहिर निकालेपछि बल्ल ऊ भाग्यो । हामी नेपालीहरूको अवस्था पनि मुसादानीमा फसेको मुसोजस्तै छ । हामी नेपाली हरेक प्रकारको गुलामीबाट मुक्त हुन चाहन्छौं तर मुक्त हुने बाटो हुँदाहुँदै मुक्त हुन चाहँदैनौं । इण्डियाको धार्मिक तथा सांस्कृतिक गुलामीले हामीलाई यसरी जकडेको छ कि हामी त्यही गुलामीमा आत्मविभोर छौं । विदेशीहरूबाट प्रायोजित यो व्यवस्थाको गुलामीभन्दा इण्डियाको धार्मिक तथा सांस्कृतिक गुलामी झन भयानक छ । यो हाम्रो हिमवत्खण्डको मौलिक सनातन धर्म तथा संस्कृति समाप्त पार्ने मन्द विष हो । हामी दिन प्रतिदिन यो मन्द विष खाइरहेका छौं ।
आज हामी इण्डियाबाट निर्यात गरिएको धार्मिक तथा सांस्कृतिक रूपमा यति हदसम्म गुलाम भएका छौं कि हामीले हाम्रो मौलिक सनातन धर्म नै बिर्सिसकेका छौं र इण्डियाको विभिन्न पन्थहरूको अन्ध अनुयायी भएका छौं । इण्डियनहरूलाई धेरै विद्वान, धेरै ज्ञानी, सर्वज्ञानी मानी उनीहरूले उल्टोसुल्टो जे भनिरहेका छन् त्यसैलाई शिरोधार्य गरिरहेका छौँ । इस्कोनको पछाडि लाग्छौं । साईबाबाको भक्त नेपाली लाखौंको संख्यामा छन् ।
चाँद मिर्या उर्फ साईबाबाको प्रचार गर्ने बलिउगड मुभीहरू हुन् । चाँद मियाँ उर्फ साईबाबा को थिए त्यतातिर हाम्रो ध्यान गएको छैन । चाँद मिया र उनका पिता अंग्रेजको जमानाका खुंखार अपराधी थिए । अंग्रेजबाट बच्न चाँद मियाँले फकिरको भेष धारण गरे । उनको जीवन गरिबीमा बित्यो तर पछिल्लो कालमा उनको मन्दिर बनाएर पूजा गर्न थालियो । आजका दिनमा उनको नामको मन्दिरमा अर्बाैंको भेटी चढ्छ । नेपालीहरू पनि सिरडीमा उनको दर्शन गर्न जाने गर्छन् । मेरा एकजना साथी रामपालका भक्त छन् । रामपालका भक्तहरूले रामपालकोे गलत गीता सित्तैमा बाँडिरहेका छन् । रामपाल एउटा अपराधी हो र जेल गएको व्यक्ति हो । मैले साथीलाई उनको बारेमा बताउँदै भ्रमबाट मुक्ति हुन भने तर उनले मानेनन् । उल्टै मलाई श्रीकृष्ण पनि जेल गएका थिए, रामपाल जानुमा के अचम्म भयो भने । उनले एउटा अपराधी रामपालको तुलना भगवान श्रीकृष्णसँग गरे । मैले भने श्रीकृष्ण जेल गएका होइनन् उनी जेलमा जन्मेका मात्र हुन् । उनका मातापिता जेल किन गएभन्दा उनी बोलेनन् ।
सधैं झैं साँझ उनी गोजीमा रहेको मोबाइलमा रामपालको भजन सुन्दै सन्ध्याभ्रमण गर्ने गर्छन् । अस्ति १ जनवरीमा ॐ शान्तिको भवनमा केक काटेर अंग्रेजी नयाँ वर्ष मनाइयो । अस्ति थारू महोत्सवको मेलामा ॐ शान्तिले इसाईहरूको प्रचार शैलीमा स्टल राखेको थियो । त्यहाँ मानिसहरूलाई तान्दै लग्दै त्यस बारे जानकारी दिइरहेको थियो । एक जना ॐ शान्तिका श्वेतवस्त्रधारी मित्रले मलाई तान्दै उनीहरूको स्टलनिर लगे । परिचित दिदीले भन्नुभयो, उहाँलाई मैले धेरै पटक बोलाएँ तर उहाँ आउँदै आउनुहुन्न । मैले उनलाई सोधेँ, दिदी, तपाईंहरूले अंग्रेजी नयाँ वर्ष केक काटेर मनाउनुभएछ । के तपाईंहरू सनातन धर्मावलम्बी होइन ? उहाँले हो भन्नुभयो ।
मैले भनेँ, त्यसो भए अंग्र्रेजी नयाँ वर्ष हाम्रो होइन, न त केक काट्ने प्रचलन हाम्रो हो, तपाईंहरूले त पूरै पश्चिमाहरूको परम्परा नै निर्वाह गर्नुभयो । उनको जवाफ थियो, हामीले नयाँ वर्ष जनवरी १ मै मनाउने गर्छाैं, किनकि हाम्रो हिसाबकिताब अहिले हुने गर्दछ र केक काट्ने भनेको फेसन हो । हामी वैशाखमा पनि नयाँ वर्ष मनाउँछौं । कुरा अगाडि बढिरहेको थियो । मलाई त्यहाँ ल्याउने साथीले अँगालो हाल्दै मेला हेर्न जाऊँ भनेर लगे । हामी इण्डियन धार्मिक तथा सांस्कृतिक अतिक्रमणलाई सहर्ष स्वीकार गरिरहेका छौं । यसबाट भगवत्प्रेमको तृष्णा मेटिँदैन न त हामीले हाम्रो संस्कृति तथा धर्मलाई बचाउन सक्छौं । यो पवित्र भूमि भनेको शिव र शक्तिको भूमि हो, यो देश शिवातार मत्छेन्द्रनाथ र गुरु गोरखनाथको आशीर्वादले एकीकरण भएको भूमि हो । यहाँ कण कणमा भगवान बसेका छन्, देवी देउताहरूको बास यहीँ छ, हामी हाम्रो मौलिकतामा बाँच्नुपर्छ, हाम्रो पवित्र भूमिमा रहेका देवीदेउताहरूको प्रचार विश्वव्यापी रूपमा गर्नुपर्छ, हामीले इण्डियाको होइन कि हाम्रो मौलिक तीर्थस्थलहरूको भ्रमण गर्नुपर्छ । आज किन शंकराचार्य पीठहरूका चारैजना धर्माधिकारीहरू निम्ता पाएर पनि रामजन्मभूमि प्राणप्रतिष्ठा समारोहमा जान मानेनन्, सोचौं ।
इण्डियन पुरातत्वविदहरू पनि त्यहाँको अयोध्यालाई रामजन्मभूमि मान्न तयार भएनन्, उत्खनन्बाट त्यहाँ बुद्धका मूर्तिहरू भेटिएकाले त्यो शहर बुद्धकालीन हो भनेर प्रमाणित हुन्छ । राष्ट्रिय स्वयंसेवक संघ र त्यसको भ्रातृसंस्था भाजपाको राजनीतिक शिकारले इण्डियाको अयोध्यालाई रामजन्मभूमि भनिएको हो ।
शिव अवतार आदि शंकराचार्यले स्थापना गरेको चार पीठहरूलाई आज विश्वभरिका सनातन धर्मावलम्बीहरूले उच्च सम्मानका साथ हेर्ने गरेका छन्, न कि मोदीलाई । आदि शंकराचार्य नेपाल आएर दार्चुलास्थित मल्लिकार्जुन मन्दिरको दर्शन गरेर त्यसलाई द्वादश ज्योर्तिलिंग भनेर जानुभयो । तर, हामी इण्डियाको नक्कली मल्लिकार्जुन दर्शन गर्न इण्डिया जाने गरेका छौं । द्वादश ज्योर्तिलिंग नेपालमै छ भनेर हाम्रा योगी सन्यासीहरू र जगत्गुरु मोहनशरणले पनि प्रमाणसहित दिइरहनु भएको छ तर हामी त्यहाँ जाँदैनौं । हिजो हिन्दू सम्राट भनिने राजाले त हाम्रा प्राचीन तीर्थस्थलहरूलाई महत्व दिएनन् न त आज दिएका छन्, अहिलेका शासकवर्गले त दिने कुरै भएन ।
इण्डियामा शंकराचार्यले चार दिशामा चार पीठ स्थापना गरेर शंकराचार्य पद खडा गर्नु स्वाभाविक नै हो । उहाँ नेपाल आएर मल्लिकार्जुन, पशुपतिनाथ लगायत अन्य देवस्थानहरूको भ्रमण र पूजापाठ गर्नुभयो तर यहाँ शंकराचार्य पीठ स्थापना गर्नुभएन । किनकि यो पवित्र भूमि शिव अवतार नाथहरूको भूमि हो । मत्सेन्द्रनाथ, गुरु गोरखनाथ, बौद्धनाथ, मुक्तिनाथ आदि नाथहरूको पावन भूमि भएकाले यहाँ चार पीठ स्थापना गर्नुभएन । अब आयो इण्डियाको अयोध्या सक्कली कि नेपालको अयोध्यापुरी । बाल्मिकी रामायणका अनुसन्धाता लोकमणि पौडेलले नेपालको अयोध्यापुरी नै वास्तविक अयोध्यापुरी हो भनेर रामायणको आधारमा नक्सा कोरेर प्रमाणित गर्नुभएको छ ।
यसअघि योगी नरहरिनाथले पनि अयोध्यापुरी नै वास्तविक अयोध्या हो भनिसक्नु भएको छ । वाल्मीकि रामायण बालकाण्डको पाँचौं श्लोकको सातौं सर्गमा लेखिएको छ आयता दश च द्वे च योजनानि महापुरी, श्रीमती त्रीणि विस्तीर्णा सुविभक्त महापथा । लोकमणि पौडेलका अनुसार यसका आधारमा अयोध्याको लम्बाइ १२ योजन अर्थात् १४४ किमी र चौडाइ ३६ किमी हुनुपर्ने हो कि भनेर उक्त श्लोकको र हिन्दी अनुवादको आधारमा धेरै अध्येताहरू अल्मलिएको पाइन्छ । उक्त अनुवाद त्रुटिपूर्ण छ । आयताको अर्थ घेरिएको क्षेत्र हो घेरिएको क्षेत्र भनेको परिधि हो । नक्सासँग अयोध्यापुरीको वर्तमान अवस्थामा धेरै हदसम्म मिलेको छ ।
इण्डियन पुरातत्वविद पनि त्यहाँको अयोध्यालाई रामजन्मभूमि मान्न तयार भएनन्, उत्खनन्बाट त्यहाँ बुद्धका मूर्तिहरू भेटिएकाले त्यो शहर बुद्धकालीन हो भनेर प्रमाणित हुन्छ । राष्ट्रिय स्वयंसेवक संघ र त्यसको भातृसंस्था भाजपाको राजनीतिक शिकारले इण्डियाको अयोध्यालाई रामजन्मभूमि भनिएको हो । इण्डिया शक्तिशाली राष्ट्र हो, उसको बलमिच्याइँ र भव्य मन्दिरहरूका कारण इण्डियालाई सनातन धर्मको गुरु भनेर जबरजस्ती भनरत सरकारले भनिरहेको छ । भ्रममा नपरौं, वास्तविक रामजन्मभूमि नेपालको अयोध्यापुरी हो ।
यसको प्रबद्र्धन र प्रचारप्रसारमा हामीले जोड दिनुपर्छ । हिजो हामी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न प्रमाणको आधारमा हाम्रो अयोध्यापुरीलाई राममन्दिर मानी त्यहाँ राममन्दिर बनाई भगवान श्रीरामको मूर्तिमा प्राणप्रतिष्ठा गरी मन्दिरमा स्थापना गर्दा कुनै स्थानीय निकायले बिदा दिएन, कतै यज्ञादि गरिएन, कतै शोभायात्रा निकालिएन न त कतै दीप प्रज्ज्वलन नै गरियो तर आज किन तामझाम गर्दछन् ? इण्डियामा अयोध्यामा आधा दिन सार्वजनिक बिदाबाहेक अन्त बिदा दिइएको छैन । हामी देशभक्त हौं भने इण्डियाको धार्मिक तथा सांस्कृतिक गुलामीबाट हामी मुक्त हुनैपर्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts