ललितपुर । सरकारले आधुनिक कृषिसँगै रैथाने बालीको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनलाई प्राथमिकता दिने भएको छ । कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा, संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ बिहीबार ललितपुरमा आयोजित दोस्रो कृषि जैविक विविधता दिवस एवं सप्ताह मूल समारोह उद्घाटन गर्दै कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले परम्परागतरूपमा आएका रैथाने बालीको खोजी र संरक्षणमा जोड दिनुभएको हो । उहाँले मुलुकलाई खाद्यमा आत्मनिर्भर बनाउन र अर्थतन्त्र बलियो बनाउन रैथाने बालीको उत्पादनसँगै आधुनिक कृषिमा पनि जोड दिनुपर्ने बताउनुभयो ।
मन्त्री भुसालले भन्नुभयो, ‘हामीले जैविक विविधताको चर्चा गरिरहेका छौँ । एकातर्फ हामीले रैथाने बालीको संरक्षण गर्नुपर्नेछ । हाम्रा परम्परादेखि प्रयोग भएर आएका रैथाने बाली, पशुपक्षी संरक्षण पनि गर्नुपर्नेछ । साथै हाम्रा उत्पादन वृद्धि पनि गर्नुपर्नेछ । हामीले तिनै रैथाने बालीबाट चाहिने जति उत्पादन गर्न सक्छौँ कि सक्दैनौँ ? यो गम्भीर प्रश्न पनि छ, त्यही भएर रैथाने र उन्नत बालीलाई एकैसाथ लैजानुपर्ने आवश्यकता देखिएको छ ।’
वातावरणीय परिवर्तनसँगै धेरै खालका जीवजन्तु र वनस्पति लोप हुँदै गएकाले पृथ्वी र जीवन रक्षाका लागि पर्यावरणीय कृषिमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । रैथाने बालीलाई बढी उत्पादनशील बनाउनेतर्फ पनि आवश्यक अध्ययन अनुसन्धान हुनुपर्ने पनि उहाँले बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, ‘उत्पादनमा वृद्धि गर्न नसक्ने हो भने यिनीहरूको संरक्षण निश्चित क्षेत्रमा राखेर गरौँ । उत्पादन बढी गर्न अर्को बढी उत्पादनशील बिउको प्रयोग गर्नैपर्छ । नत्र भने हामी खाद्यान्न संकटमा जाँदैछौँ । एकातिर रैथाने जैविक विविधता संकटमा परे भन्दैछौँ । अर्कोतर्फ खाद्य संकटमा परेका छौँ । खाद्य संकट र यिनीहरूको संकटको पनि समाधान गर्ने गरी अघि बढ्नुपर्ने आवश्यकता छ ।’
उहाँले विश्व समुदाय रासायनिक मलको प्रयोग घटाउने अभियानमा लागेकोमा नेपालमा भने कृषिको कुल बजेटको ३० अर्ब जतिको रासायनिक मल आयातमा खर्च हुने गरेको भन्दै रासायनिक मल विस्थापितको विकल्प खोज्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले मन्त्रालयले लामो समयदेखि रैथाने उत्पादनको संरक्षणदेखि उत्पादन वृद्धिका लागि विभिन्न काम गर्दै आएको र रैथानेब बाली प्रवद्र्धनका लागि गत वर्षदेखि कृषि जैविक विविधता दिवस नै मनाउन सुरु गरेको जानकारी गराउनुभयो । रैथाने बालीको बहुआयामिक महत्व र फाइदाका कारण नेपालमा विगत केही समयदेखि यस्ता बाली संरक्षण र प्रवद्र्र्धनमा सरकारी र गैरसरकारी एवं निजी क्षेत्रबाट विभिन्न प्रयास हुँदै आएको पनि उहाँले बताउनुभयो ।
कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले रैथाने बाली संरक्षण गरी रैथाने बालीलाई संसारभर चिनाउन नीतिगत सुधार गर्दै देशभरका हरेक पालिकामा एउटा बिउ बैंक सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । शहरमा बस्ने मानिसले रैथाने बाली उपयोग गरेर यसको माग र आपूर्ति बढाउनुपर्ने उहाँको भनाइ थियो ।
राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम दंगालले पर्यावरणमैत्री खेतीमा जोड नदिए जलवायु परिवर्तनको बढ्दो असरले मानव जगत् नै संकटमा पर्ने बताउनुभयो । विषादी र रासायनिक मलको बढ्दो प्रयोगले कतिपय मौरीका प्रजाति लोप हुँदै गएको भन्दै उहाँले विषादी र रासायनिक मललाई न्यूनीकरण नगरेमा भविष्यमा बाँकी मौरीका प्रजाति पनि लोप हुने बताउनुभयो । मौरी विनाशको चार वर्षपछि मानव जातिको पनि विनाश सुरु हुने वैज्ञानिकहरूले भविष्यवाणी गरिसकेको उहाँको भनाइ थियो । एकअर्काबीच आरोप-प्रत्यारोपभन्दा पनि रैथाने बाली संरक्षण र प्रवद्र्धनका लागि सरकार, निजी क्षेत्र र सबै सरोकारवाला निकाय लाग्नुपर्ने पनि उहाँले बताउनुभयो । जैविक विविधता दिवसका अवसरमा सरकारलगायत अभियन्ता संघसंस्थाहरूले पनि सोसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिरहेका छन् ।
कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा र गरिब तथा सीमान्तकृत समुदायको जीविकोपार्जनको प्रमुख आधार हो । नेपालको संविधानमा जैविक स्रोतहरूको संरक्षण र दिगो उपयोगलाई उच्च महत्व दिई राज्यको नीतिमा उल्लेख गरिएको छ भने जैविक विविधता संरक्षणमा तीनै तहको सरकारको भूमिका रहने उल्लेख छ । त्यसैगरी नेपाल जैविक विविधता संरक्षणसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्रसमेत रहेको छ ।
नेपाल जैविक विविधतामा धनी भए तापनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेती प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण समग्र कृषि जैविक विविधताकोे ह्रासलाई तीव्र बनाएको छ । नेपालमा रैथाने कृषि जैविक विविधता (बाली, घाँसे बाली, पशुपन्छी, जलीय, किरा र सूक्ष्म जीवजन्य) आंशिक स्रोतमध्ये करिब ४० प्रतिशत लोप भइसकेको हुन सक्ने अनुमान गरिएको छ । त्यसैगरी हाम्रा कैंयन् सामाजिक, धार्मिक तथा सांस्कृतिक परम्परा एवं अवसरहरू कृषि जैविक विविधतासँग जोडिएका भए तापनि त्यस्ता विशेष पर्व वा अवसरमा अन्तरनिहित कृषि जैविक विविधतासँग सम्बन्धित पक्षहरूलाई अपेक्षितरूपमा उजागर एवं प्रचारप्रसार हुन सकेको छैन । ह्रासोन्मुख अवस्थामा रहेका रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा ध्यान पुर्याउन नसकेमा कृषि पारिस्थितिकीय प्रणालीमा नै नकारात्मक असर पर्न गई समग्र खाद्य एवं कृषि प्रणाली नै जोखिममा पर्न सक्ने कृषि विज्ञहरूले चेतावनी दिएका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता