करोडौँको बजेट पर्दा पनि १५ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ सुविधा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दूर दराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौँदेखि गर्दै आएका जमिनमा अहिले वनमारा पलाउन थालेका छन् । वर्षेनी सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि किसानले सुविधा पाउन नसकेको गुनासो बढेको छ । यस वर्ष पनि बागलुङमा गण्डकी प्रदेश र संघीय सरकारका २२ करोड २४ लाखको योजना परेका छन् । प्रदेशका १०४ र संघीय सरकारका २० गरि एक २४ योजना चालु आर्थिक वर्षमा कार्यान्वयनका चरणमा छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा खेतीयोग्य जमिनको १५.१५ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको सुविधा पुगेको छ ।

जिल्लामा एक लाख ७८ हजार ४०० हेक्टर जमिन रहे पनि हाल ४६ हजार १४८ हेक्टरमा खेती गरिदै आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ३० हजार ५२३ मध्ये हालसम्म छ हजार ७९० हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको छ भने बाह्रै महिना सिँचाइ हुने क्षेत्रफल भने दुई हजार ८१५ हेक्टर रहेको छ । प्रमुख पौडेलले बागलुङमा भौगोलिक कठिनाईका कारण सबै ठाउँमा एकै पटक सिँचाई सुविधा पु¥याउन ठूलो बजेट चाहिने बताउनुहुन्छ । अहिले न्यून बजेटमा पनि धेरै खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने गरि काम गरि रहेको उहाँको भनाइ छ ।

उहाँले यस कार्यालयबाट सिँचाइ, नदि नियन्त्रण र उर्जा सम्बन्धी काम हुँदै आएको बताउनुभयो । सिँचाइ योजनाको माग निकै बढेको र कार्यालयले सबै क्षेत्रमा सिँचाइको पहुँच पुर्‍याउने लक्ष्य भए पनि पछिल्लो समय धान तथा गहुँ खेति हुने खेतबारीमा सिँचाइका योजनाहरु पर्ने गरेको उहाँले बताउनुभयो । सिँचाईको पहुँच पुगेपछि धान फल्ने क्षेत्रफल पनि बढेको छ । जिल्लाको १० वटै पालिकाहरुमा योजनाहरु परेको प्रमुख पौडेलले बताउनुभयो । प्रदेश सरकारले कृषि उत्पादकत्व, लाभाम्वित जनसंख्या र जमिन हेरेर योजना बनाउँदै आएको उहाँ बताउनुहुन्छ ।

प्रमुख पौडेल भन्नुहुन्छ - “प्रदेश सरकारले पठाएको योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गरि काम गरेका छौँ, बागलुङ भौगोलिक कारणदेखि विभिन्न हिसाबले सिँचाइको व्यवस्थापन गर्न सजिलो छैन, यद्यपी सिँचाइ अभाव भएका ठाउँलाई मुख्य प्राथमिकतामा राखेर काम भइ रहेको छ, चालु आर्थिक वर्षमा विनियोजित बजेट पनि कार्यान्वयन गर्ने चरणमा छौँ, अहिले पनि धेरै ठाउँका किसानाहरु आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।”

ADVERTISEMENT

बागलुङ जिल्ला अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । यहाँका रहेक किसान आयातित खाद्यान्न मै निर्भर बन्नु परेको छ । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन । बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू-भाग भिरालो छ । यि क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषकहरु परनिर्भर पर्नु परेको निसीखोला बडिगाड गाउँपालिका-८ का तिलबहादुर घर्ती मगरले बताउनुभयो । ग्रामीण क्षेत्र भिराले भए पनि गहुँ खेती राम्रो हुने गरेको भन्दै हिउँदमा लामो समय खडेरी परे उत्पादनमा ह्रास आउने उहाँको भनाइ छ । सिँचाइको सुविधा भए वर्षभरी खान पुग्ने बाली बारीमै उत्पादन गर्न सकिने भए पनि सामान्य कुलोसमेत नहुँदा आयातित खाद्यान्नमा भर पर्नु परेको गुनासो पोख्नु भयो ।

“हामीहरु सधैँ बाहिरबाट चामल, मिठो लिएर जीविका चलाउनु परेको छ, बारी प्रसस्तै छन्, के गर्नु पानी छैन, पानी नभए पनि उत्पादन पनि थोरै हुन्छ, पचासौँ रोपनीमा लगाएको मकै, गहुँले वर्षभरी खान पुग्दैन, बारीमा उब्जेकोले नपुगेपछि किन्ने उही विदेशी चामलनै हो,” उहाँले भन्नुभयो – “गाउँका बारी भारोलो छन्, भिरालोमा धान त फल्दैन तर राम्रो कुलो हुन्थ्यो बने मुहानबाट पानी लिएर लगाउन त सकिन्थ्यो, अहिलेसम्म यो ठाउँमा सिँचाइका लागि कुलोको योजना पर्न सकेको छैन ।”

निसीखोला गाउँपालिका-५ का किसान बलिभद्र घर्तीले बालीनालीमा सिँचाइको अभाव हुँदा उत्पादनमा कमी आएको बताउनुभयो । कारीखोलाबाट करिब एक किलोमिटरको दूरीमा कच्ची कुलोमार्फत पानी लिएर खेतबारीमा लगाउने गरे पनि बर्खामा भत्किँदा लाखौँको क्षति हुने गरेको गुनासो पोख्नु भयो । सरकारले बजेट विनियोजन गरेर पक्की कुलो निर्माण गरि दिए गाउँले आत्मनिर्भर भन्न सक्ने उहाँको भनाइ छ । सयौँ रोपनी खेत भएको ठाउँमा एउटा मात्रै साँघुरो कुलो रहेको भन्दै पानीका लागि छिमेकीसँग बेला–बेला झगडासमेत पर्ने गरेको घर्तीले सुनाउनुभयो ।

उहाँले भन्नुभयो - “समयमै वर्षा हुँदाको वर्ष २० मुरी धान र १५ मुरी गहुँ उत्पादन गर्नु हुन्छ, हिउँदमा लामो समय खडेरी पर्‍यो भने उत्पादन निकै कम हुन्छ, हिउँदमा आकाशे पानीको भर पर्नु पर्छ, बर्खामा बेसीको सबै सकियो भने बल्ल गाउँका खेतमा रोपाइँ गर्नु पर्ने अवस्था छ, यो सिजनमा पानी परेन भने गहुँ जौँ सबै सुकेर मर्छन् ।”

बागलुङमा सबैभन्दा बढी मकै बाली उत्पादन हुने गरेको छ । जिल्लाभर मकै २० हजार हेक्टर क्षेत्रफल बढीमा उत्पादन हुन्छ । कोदो १८ हजार हेक्टर र गहुँ ७ बढी हजार हेक्टर बढी क्षेत्रफलमा उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष छ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भए पनि १८ हजार छ सय ९० मेट्रिकटन मात्रै धान उत्पादन भएको थियो । यस वर्ष पाँच हजार सात सय १७ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएकोमा २० हजार पाँच सय ५१ मेट्रिक टन उत्पादन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *