✍️ तोयराज नेपाल
सौरमानले माघ महिना सुरु हुने दिनलाई माघेसंक्रान्ति भनिन्छ । यस बारे हेमाद्रिमा यस्तो उल्लेख छ:- ‘रवेः संक्रमणं राशौ संक्रान्तिरिति कथ्यते । स्नान, दान, तपः श्राद्ध होमादिषु महाफला ।।’ अर्थात् सूर्य एउटा राशिबाट अर्को राशिमा प्रवेश गर्ने वा सर्ने क्रियालाई संक्रान्ति भनिन्छ । यस दिन सूर्य धनराशिबाट मकरराशिमा प्रवेश गर्ने हुँदा यस दिनदेखि सूर्य उत्तरायणमा जान्छन् भन्ने शास्त्रमा उल्लेख छ । त्यसैले यस दिनमा स्नान, दान, तपः, श्राद्ध तर्पण, होमादि गर्दा ठूलो पुण्यलाभ हुन्छ, भनिएको हुँदा स्नान दानादि कर्म गरी आफूलाई कृतार्थ गर्नु मानव जीवनको कर्तव्य हो । आज मकर संक्रान्ति पर्व । सूर्यनारायण उत्तर दिशातिर अग्रसर भई मकर राशिमा प्रवेश गरेको दिन । सनातन धर्मावलम्बीहरूले आफ्नो परम्परा अनुसार विभिन्न नामले मकर संक्रान्ति पर्व मनाउँदै छन् । आजको दिन आफ्नो कुल पितृलाई अर्पण गरी तिलको लड्डु, चाकु, कालो मासको दालको खिचडी खाने प्रचलन छ ।
माघमहिनाभरि नै स्नान गर्न सके माघस्नानको ठूलो महत्व छ, ठूलो पुण्यलाभ हुन्छ । माघमा प्रातःकालमा उठी पुण्यतीर्थमा स्नान गर्ने, तिलमिश्रित घ्यू हवन गर्ने, एकछाक मात्र हविष्य भोजन गर्ने, ब्रहृमचर्य धारणगर्ने, भूमिमा शयन गर्ने आदि गर्नाले मनोरथ परिपूर्ण हुन्छन्, भनिएको छ ।
धर्मसिन्धुमा यस्तो उल्लेख छ:- ‘रविसंक्रमणे प्राप्ते न स्नायाद्यस्तु मानवः । सप्तजन्मसु रोगी स्यान्निर्धनश्चैव जायते ।। अर्थात् यदि संक्रान्तिका दिनमा कुनै मनुष्य स्नान गर्दैन भने सात जन्मसम्म रोगी हुन्छ, साथै दरिद्र पनि हुन्छ, भनिएको हुँदा हामी पनि यथाशाक्ति स्नान दानादि गरेर आफूलाई विभिन्न रोगादि हुनबाट र निर्धन हुनबाट अर्थात् गरिबीको मारबाट बचाउँछ । मनुष्यले सधैंभरि स्नान गरेपछि सूर्यनारायणलाई सामान्य अघ्र्यदान दिनु नै पर्दछ भने माघमहिनामा स्नान गरी सूर्यनारायणलाई विशेष अघ्र्यदान पनि गर्नुपर्दछ ।
धर्मसिन्धुमा यस्तो पनि उल्लेख छ, ‘तिलस्नायी तिलोद्वर्ती तिलहोमी तिलोदकी । तिलभुक् तिलदाता च षट्तिला पापनाशनाः ।।’ माघ महिनाको कृष्णपक्षको एकादशीलाई षट्तिला एकादशी भनिन्छ । त्यसैले सामान्यतः माघमहिनाभरि र विशेषगरी माघकृष्ण एकादशी तथा माघशुक्ल सप्तमीका दिन तिलको ६ किसिमबाट प्रयोग गर्नुपर्दछ । १, स्नान गर्दा तिलको प्रयोग गर्ने अर्थात् तिल मिसाएको पानीले स्नान गर्ने । २, तिलको बुकुवा गर्ने । ३, तिलको होम गर्ने । ४, तिल मिसाएको जलले तर्पण पूजा गर्ने र पानी पिउँदा तिल मिसाएको पानी पिउने । ५, तिल खाने र ६, तिल दान गर्ने गर्दा मनुष्यका सम्पूर्ण पाप नाश भई पुण्यलाभ हुन्छ भनिएको हुँदा यसै शाास्त्रका आधारमा हाम्रा समाजमा माघे संक्रान्तिका दिनमा हवन गरी तिलक लगाउने परम्परा छ । साथै तिलका लड्डु बनाएर दान गर्ने र खाने पनि परम्परा चलेको छ । माघशुक्ल सप्तमीलाई रथ सप्तमी र अचला सप्तमी पनि भनिन्छ । यसबारे शास्त्रमा यस्तो उल्लेख पाइन्छ ।
सूर्यग्रहणतुल्या तु शुक्ला माघस्य सप्तमी । अरुणोदयवेलायां तस्यां स्नानं महाफलम् । माघे मासि सिते पक्षे सप्तमी कोटिभास्करा । कुर्यात् स्नानाघ्र्यदानभ्यामायुरारोग्यसम्पदः ।। अर्थात् यस दिनलाई सूर्यग्रहण तुल्य मानिएको छ । त्यसकारणले यस दिन सूर्योदय अगाडि नै उठेर स्नान गर्ने, सूर्यलाई अघ्र्यदान गर्ने, पूजार्चना गर्ने, अरू इष्ट देवतालाई पनि अघ्र्यदान, पूजाराधना गर्ने गर्दा आयु वृद्धि हुने, आरोग्य प्राप्त हुने र सम्पत्तिको वृद्धि हुन्छ भनिको हुँदा यस दिन स्नान दानादि गर्नु उत्तम मानिन्छ । यस दिन सौभाग्यवती महिलाले सतीसाध्वी सौभाग्यवती ब्राहृमणीलाई वस्त्र, सौभाग्यद्रव्य, आभूषण आदि दान गर्दा ठूलो पुण्य लाभ हुन्छ र अटल सौभाग्यसमेत प्राप्त हुन्छ ।
माघ शुक्ल पञ्चमीमा सरस्वतीको पूजा गर्ने विधान छ । यस दिनमा सरस्वतीको पूजा गर्दा सरस्वतीमाता प्रसन्न भएर हामीलाई विद्याप्रदान गर्नुहुन्छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत लिएर माघ शुक्ल पूर्णिमाका दिन उद्यापन गर्ने विधान पनि छ । सक्नेले यो व्रत गर्दा सुखसमृद्धि सौभाग्य आदि प्राप्त हुन्छ ।
शास्त्रमा यस्तो पनि उल्लेख छ :- भूमौ शयित्वा होतव्यं तिलमाज्यसमन्वितम् । हविष्यं ब्रहृमचर्यञ्च माघमासे महाफलम् । स्नात्वा माघे शुभे तीर्थे प्राप्नुवन्तीप्सितं फलम् ।। अर्थात् सक्नेले माघमहिनाभरि नै स्नान गर्न सके माघस्नानको ठूलो महत्व छ, ठूलो पुण्यलाभ हुन्छ । माघमा प्रातःकालमा उठी पुण्यतीर्थमा स्नान गर्ने, तिलमिश्रित घ्यू हवन गर्ने, एकछाक मात्र हविष्य भोजन गर्ने, ब्रहृमचर्य धारणगर्ने, भूमिमा शयन गर्ने आदि गर्नाले मनोरथ परिपूर्ण हुन्छन्, भनिएको छ । त्यसकारण हामी पनि यथाशक्ति माघमहिनामा स्नानदानादि पुण्यकर्म गरौं, कल्याण हुन्छ । हाम्रा समाजमा माघे संक्रान्तिमा तरुल, भ्यागुछर आदि कन्दमूलहरू खाने, तिलका लड्डु, घ्यू, चाकु, खिचडी वा खिच्रो पकाएर खाने पनि प्रचलन छ । तराईवासीहरूमा माघीपर्व मानेर यस पर्वलाई बडो उत्सवका साथ धुमधामसँग मनाउने परम्परा छ । ॐ हरये नमः







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts