ललितपुर । सभामुख देवराज घिमिरेले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार, किसान वा निजी क्षेत्रको एक्लो प्रयासबाट मात्रै असम्भव रहेको भन्दै पब्लिक, प्राइभेट, पार्टनरसिप (पिपिपी) मोडलमा जोड दिनुपर्ने बताउनुभएको छ । सरकारको अध्ययन र अनुसन्धानले मात्रै कृषि क्षेत्रको विकास अपेक्षित ढंगले अघि बढ्न नसकेकाले कृषिलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
शुक्रबार ललितपुरमा आयोजित राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेस्रो वार्षिक साधारणसभा उद्घाटन गर्दै सभामुख घिमिरेले भन्नुभयो, ‘कुनै बेला कृषिमा आत्मनिर्भर भएको नेपाल आज विदेशीको भर पर्नुपर्ने अवस्था आउनु दुखद् हो, त्यस्तो हुन नदिन कृषि उत्पादन बढाउन यसको आधुनिकीकरण गर्नुपर्छ । रैथाने प्रजातिका कृषि उत्पादनमा पनि लाग्नुपर्छ । राजनीतिज्ञ तथा समाजसेवी सिर्जना सिंहले देशलाई खाद्यान्नमा आत्मनिर्भर बन्न सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभयो । साथै रैथाने बालीको प्रवद्र्धन र कृषिको आधुनिकीकरण र बजारीकरणमा पनि जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
खाद्य बैंंकका अध्यक्ष शंकरनाथ उप्रेतीले कृषिमा आत्मनिर्भरमात्रै नभई निर्यातसमेत गर्ने लक्ष्यका साथ संस्था अघि बढेको भन्दै बैंकले आफैं पनि उत्पादन सुरु गरेको जानकारी दिनुभयो । सोही क्रममा यस वर्ष बैंकले अर्घाखाँची जिल्लामा ६५ रोपनी जग्गा खरिद गरी कृषि औद्योगिक ग्रामको कार्यक्रमभित्र पर्ने जग्गा व्यवस्था गर्न सफल भएको उहाँले बताउनुभयो । क्रमिकरूपमा देशभरि नै उपयुक्त जग्गा प्रक्रिया पूरा गरी खरिद गर्दै जाने पनि उप्रेतीले बताउनुभयो ।
त्यसैगरी बैंकले झापा र बर्दियामा पनि बढीभन्दा बढी किसानलाई उत्पादनमा जोड्दै लाने र पाइलट प्रोजेक्टका लागि भाडामा लिएका जग्गा कम गर्दै कम लागतमा बढी आम्दानी लिने गरी काम सुुरु गरेको उहाँले जानकारी गराउनुभयो । बैंकले च्याउ, कफी, ओखर, कुटिर कृषि उद्यम सञ्चालनका लागि काम गरिरहेको जनाएको छ । कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक रामशरण देउजाले हाल बैंकमा सात सय सेयर सदस्य जोडिएको जानकारी दिँदै बैंकले प्रांगारिक उत्पादन, रैथाने बाली प्रवद्र्धन, शीत भण्डारण, बजारीकरण, बिउबिजन व्यवस्थापनलगायतमा जोड दिँदै आएको बताउनुभयोे । बैंकले आगामी वर्ष आइपिओ पनि जारी गर्ने भएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता