काठमाडौं । ‘हाम्रा परियोजना भनेजस्तो गरी अगाडि बढेनन् । जनताले महसुस गर्नेगरी काम भएन । यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन । दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ,’ गत पुस २ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित ‘एक्सन रुम’बाट निर्माणाधीन नारायणगढ-बुटवल सडकखण्ड र मुग्लिन-पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गरेपछि भन्नुभएको थियो । उहाँ यतिमै रोकिनुभएन । तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न निर्देशन पनि दिनुभयो । कारण देखाएर निर्माणमा विलम्ब भयो भन्न नपाइने उहाँको भनाइ थियो । उहाँले परियोजनाको स्थलगत निरीक्षणका लागि फिल्डमै आउनेसमेत बताउनुभएको थियो । यद्यपि, उहाँले स्थलगत निरीक्षणका लागि फिल्डमै आउने बताएको तीन सातासम्म जानुभएको थियो ।
निर्माणाधीन नारायणगढ-बुटवल र मुग्लिन-पोखरा पूर्वी र पश्चिम नेपाल जोड्ने लाइफलाइन सडकखण्ड हुन् । पूर्वपश्चिम नेपाललाई संघीय राजधानी काठमाडौंसम्म जोड्ने महत्वपूर्ण सडक पनि यिनै हुन् । मानिसहरूको दैनिक आवतजावत र व्यावसायिक दृष्टिबाट पनि यिनलाई महत्वपूर्ण मानिन्छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा यी सडक विस्तारको काम विसं २०७५ साल चैतमा सुरु गरिएको थियो । साढे तीन वर्षमा काम सक्ने लक्ष्य राखिएको थियो । चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सडक विस्तारको काम सुरु गरिएको थियो ।
तर, पाँच वर्ष बित्न लाग्दा पनि काम सकिने यकिन छैन । केही समय कोभिडलाई दोष दिइए पनि त्यसपछि पनि उल्लेख्य भौतिक प्रगति हुन सकेको छैन । पाँच वर्ष पुग्नै लाग्दासमेत भौतिक प्रगति आधाभन्दा कम छ । निर्धारित समय सकिएको थपिएको एक वर्षमा समेत एकतिहाइ हाराहारीमा मात्र काम भयो । एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार सुरु भएको सडक निर्माणको लागत १६ अर्ब ९९ करोड ५२ लाख छ । दुईवटा प्याकेजमा निर्माण भइरहेको सडकको गैँडाकोट-दाउन्ने सडकखण्डमा पर्ने ६५ किलोमिटर खण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ छ ।
स्थानीयको उठिबास, यात्रु र सवारी साधनलाई सास्ती
निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन-पोखराको अर्को नाम सास्ती बनेको छ । सवारीसाधान, यात्रु र स्थानीयलाई यही सडकले सास्ती दिन थालेको वर्षौं भइसक्यो । बर्खामा हिलो र हिउँदमा उड्ने धुलोले स्थानीय आजित छन् । ठाउँ-ठाउँमा रहेका ठूला खाल्डाका सवारीसाधन र यात्रुलाई हैरानी छ । राजमार्ग छेउमा व्यापार व्यवसाय गर्नेहरूको त उठिबास नै हुन थालिसक्यो । कामले चाहिनेभन्दा बढी समय लिन थालेपछि त्यस भेगमा रहेका कतिपय त हाल पलायन नै भइसकेका छन् । यात्राभर खाल्डो, धुलो र हिलोले कतै नछाड्दा यात्रुहरू अत्तालिन्छन् ।
यो सास्ती कहिलेसम्म ? यकिन जवाफ कसैसँग छैन । निर्माण कहिले सकिन्छ भन्नेबारे सरकार र ठेकेदार कम्पनी स्पष्ट छैनन् । दुई खण्डमा बाँडिएको यो परियोजनाको पूर्वी खण्डमा करिब ४२ प्रतिशत र पश्चिम खण्डमा ३८ करिब प्रतिशत मात्रै सकिएको छ । पछिल्लोपटक असार २०८१ सम्मलाई दिइएको म्यादभित्र पनि परियोजना बन्दैन भन्नेमा सरकार र ठेकेदार ढुक्कै छन् । मुग्लिनदेखि तनहुँको जामुनेसम्म ४१ किलोमिटर पूर्वी खण्डमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले २०७८ वैशाखदेखि काम गरिरहेको छ भने जामुनेदेखि पोखरासम्म पश्चिम खण्ड चीनकै यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले विस्तारको काम गरिरहेको छ । तर, दुवै खण्डको काम सुस्त छ ।
पाँच वर्षमा १८ किलोमिटर कालोपत्र
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकको पूर्वीखण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा मात्रै कालोपत्र गरिएको छ । अहिले एकतर्फी कालोपत्रको काम भइरहेको छ । ठूला पुल निर्माण, सडकको दायाँबायाँ र खोला किनारमा पर्खाल निर्माणलगायत काम भइरहेका छन् ।
आगामी दुई महिनाभित्र एकतर्फी ४२ किलोमिटर कालोपत्र गर्नेगरी सडक विस्तारको काम भइरहेको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राकेश झाले बताउनुभयो । अहिले ठूला निर्माणलाई प्राथमिकता दिँदै दाउन्ने पहाडको भित्तो काट्ने कामसमेत अगाडि बढाइएको उहाँको भनाइ छ । पहाडको भित्तो काटेर सकेपछि दाउन्नेको पहाडमा पनि कालोपत्रको काम अगाडि बढाइने उहाँले बताउनुभयो ।
आगामी फागुनबाट डण्डा पश्चिमतर्फ र गैँडाकोटको थुम्सी जंगल पूर्वतर्फको भागमा कालोपत्रको काम अगाडि बढाइने ठेक्का व्यवस्थापक झाको भनाइ छ । हालसम्म आयोजनाको पूर्वी खण्डको काममा करिब ४४ प्रतिशत प्रगति भएको छ । आगामी असारसम्म ७० प्रतिशत काम सकिने उहाँले बताउनुभयो । नारायणगढ-मुग्लिन सडकखण्ड अहिले दैनिक चार घण्टा बन्द गरेर काम भइरहेको छ ।
निरीक्षणको तयारीमा मन्त्रालय
भौतिक मन्त्रालयले सडक निरीक्षण गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले केही समयपछि राजमार्गको अवलोकन एवं निरीक्षण गर्ने बताउनुभयो । स्थानीय तहसँग समन्वय र सहकार्य गरेर समस्या समाधानको पहल गरिने उहाँले बताउनुभयो । ‘हामी केही दिनमै नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडक अवलोकनका लागि त्यहाँ जाँदै छौँ । त्यहाँ गएर सर्वपक्षीय भेलाजस्तो राख्छौँ । समाधानको निकास निकाल्नेछौँ,’ उहाँले भन्नुभयो । काम गरे÷नगरेबारे मन्त्रालयको टिम नै गएर अवलोकन एवं निरीक्षण गर्ने र काम नभएको देखिए ठेक्का तोड्ने पनि उहाँले बताउनुभयो ।
दुवै राजमार्गको कामले तीव्रता पाएको छ : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडक खण्डको कामले तीव्रता पाएको दाबी गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले दुवै राजमार्गहरूको एक साइट (टु लेन) छिटो सक्नेगरी काम अघि बढाइएको बताउनुभयो । पछिल्लो समय दुवै सडक खण्डमा उल्लेख्य प्रगति भइरहेको उहाँको भनाइ थियो । ‘हाम्रो अहिलेको प्राथमिकता भनेको एकसाइट टु लेन छिटोभन्दा छिटो सक्नेगरी काम गर्ने हो । पछिल्लो समयमा प्रगति केही अघि बढेको छ,’ उहाँले भन्नुभयो, ‘केही न केही सुधार भएको छ । काममा तीव्रता आएको छ । यसलाई गतिदिन विभिन्न दबाब दिएर काम सक्नेगरी अघि बढ्नेछौँ ।’
सडकखण्डका मुख्य समस्या स्थानीय निर्माण सामग्री रहेको उहाँले बताउनुभयो । नारायणगढ-बुटवलको पूर्वीखण्डमा निर्माण सामग्रीको समस्या नरहे पनि पश्चिम खण्डमा केही समस्या रहेको उहाँको भनाइ थियो । सडकखण्डमा अहिले विद्युत् पोल र तारको केही समस्या रहे पनि चाँडै समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सरकारले अहिले सडकको मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । ‘समस्या पहिचान गरिसकेका छौँ । मुख्य समस्या भनेको स्थानीय निर्माण सामग्री हो । त्यो पनि नारायणगढ–बुटवलको पूर्वीखण्डमा समस्या छैन । समाधान भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘पश्चिम खण्डमा रहेको केही समस्याको समाधानका लागि हामीले स्थानीय तहसँग पनि सहमति गरिरहेका छौँ । स्थानीय पालिकासँग सहमति भइसकेको छ । अब निर्माण सामग्रीको पनि अभाव हुँदैन । अहिले विद्युत् पोल र तारको केही समस्या छ, त्यो काम पनि अघि बढेको छ ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता