केप क्यानभेरल । आधा शताब्दीभन्दा बढी समयपछि चन्द्रमामा अवतरण गर्ने प्रयास गर्ने पहिलो अमेरिकी अन्तरिक्ष यान सोमबार बिहान सफलतापूर्वक प्रक्षेपण गरिएको छ । नयाँ रकेट युनाइटेड लन्च एलायन्स (यूएलए) को भुल्कान सेन्टौरले फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट स्थानीय समयानुसार बिहान २ः१८ बजे एस्ट्रोबोटिकको पेरेग्रिन लुनार ल्याण्डरलाई लिएर आफ्नो पहिलो यात्राको लागि उडेको होे ।
करिब ४८ मिनेटपछि बिना कुनै समस्या रकेटबाट ल्यान्डर अलग भएपछि मिसन कन्ट्रोलका कर्मचारीले ताली बजाएर खुशीयाली मनाएका थिए । यूएलएका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत टोनी ब्रुनोले नासाको प्रत्यक्ष प्रसारणमा प्रक्षेपणको प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म निकै रोमाञ्चित छु । यो वर्षौंको कडा परिश्रमको परिणाम हो । यो चन्द्रमामा फर्कने अहिलेसम्मको ने वास्तवमा नै सुन्दर अभियान भएको छ ।’ यूएलएका रणनीतिक योजना निर्देशक एरिक मोन्डाले प्रक्षेपणलाई ‘एकदम सही’ प्रक्षेपणको रूपमा वर्णन गर्नुभयो । ‘यो निकै ठीक छ । म हेर्नका लागि बाहिर नै निस्केको छु,’ उहाँले भन्नुभयो । यदि सबै कुरा योजना अनुसार भयो भने पेरेग्रिनले फेब्रुअरी २३ मा चन्द्रमाको मध्य अक्षांश क्षेत्र ‘साइनस भिस्कोसिटाटिस’ अर्थात् ‘बे अफ स्टिकिनेस’ मा अवतरण हुनेछ ।
अहिलेसम्म, पृथ्वीको सबैभन्दा नजिकको खगोलीय छिमेकमा सफल अवतरण केवल केही राष्ट्रका अन्तरिक्षसम्बन्धी निकायहरूले मात्र पूरा गरेका छन् । यस अभियानलाई पूर्वसोभियत संघले पहिलो पटक सन् १९६६ मा सम्पन्न गरेको थियो भने त्यसपछि लगत्तै संयुक्त राज्य अमेरिका चन्द्रमामा मानिसहरूलाई अवतरण गराउने मुलुक बनेको थियो ।
पछिल्लो एक दशकमा चीनले तीन पटक सफलतापूर्वक अवतरण गरेको छ भने भारतले गतवर्ष आफ्नो दोस्रो प्रयासमा यो उपलब्धि हाँसिल गरेको थियो । अब, ‘व्यावसायिक पेलोड सर्भिस’ (सीएलपीएस) कार्यक्रमअन्तर्गत संयुक्त राज्य अमेरिका व्यावसायिक चन्द्र अर्थव्यवस्थालाई प्रोत्साहित गर्न र लागतको एक अंशमा आफ्नै हार्डवेयरले बनेको यानसहित व्यावसायिक क्षेत्रमा फर्किरहेको छ ।
एस्ट्रोबोटिकका प्रमुख कार्यकारी अधिकृत जोन थोर्नटनले अपोलोपछि पहिलो पटक अमेरिकालाई चन्द्रमाको सतहमा फर्काउनु महत्वपूर्ण सम्मानको कुरा भएको बताउनुभएको छ । नासाले यस कार्यका लागि एस्ट्रोबोटिकलाई एक अर्ब अमेरिकी डलरभन्दा बढी भुक्तानी गरेको छ भने अर्को सम्झौता गरिएको कम्पनी हृयुस्टनस्थित ‘इन्ट्युटिभ मेशिन्स’ले फेब्रुवरीमा प्रक्षेपण गर्ने र चन्द्रमाको दक्षिणी ध्रुवनजिक अवतरण गर्ने योजना बनाएको छ ।
‘आर्टेमिसको तयारीका लागि चन्द्रमाको सतहमा अधिक लागत प्रभावी र छिटो सम्पन्न यात्रा गर्न यसले सहज बनाउनेछ’, अन्वेषणका लागि अमेरिकी अन्तरिक्ष निकायका उप सहयोगी प्रशासक जोएल केन्र्सले भन्नुभयो । आर्टेमिस नासाको नेतृत्वमा यस दशकको अन्त्यमा चन्द्रमामा अन्तरिक्षयात्रीलाई फर्काउने कार्यक्रम हो । रासस/एएफपी ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts