
काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा मधेस प्रदेश जस्तै कोशी प्रदेशमा सञ्चालित उद्योगको पनि औसत क्षमता उपयोग घटेको छ । तथापि उद्योगमा परिचालित कर्जा भने बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/०८० मा कोशी प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ५१.१ प्रतिशत रहेको छ ।
अघिल्लो अर्थिक वर्ष २०७८/०७९ मा औसत क्षमता उपयोग ५२.६ प्रतिशत थियो । समीक्षा वर्षमा इँटा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९१.२ प्रतिशत रहेको छ भने वनस्पति घ्यू उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४.७ प्रतिशत रहेको छ । कोशी प्रदेशका नमुना छनोटमा परेका उद्योगको पछिल्लो पाँच वर्षको औसत क्षमता उपयोग ५४.७ प्रतिशत छ ।
२०७९ असारको तुलनामा २०८० असारमा कुल औद्योगिक कर्जा ६.६४ प्रतिशतले बढेर एक खर्ब २९ अर्ब कायम भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा १६.५ प्रतिशतले घटेको थियो ।
इँटा उत्पादन सबैभन्दा बढी ३४२.५ प्रतिशतले बढेको छ भने भटमास तेल उत्पादन सबैभन्दा बढी ५१.९ प्रतिशतले घटेको छ । उक्त प्रदेशका ठूला ४२ उद्योगमा आर्थिक वर्ष २०७८/०७९ मा कुल १७ हजार दुई सय ७० जना श्रमिक कार्यरत रहेकोमा आर्थिक वर्ष २०७९/०८० मा १७.८ प्रतिशत नयाँ श्रमिकले रोजगारी पाएर २० हजार तीन सय ४४ पुगेको छ । तर टायर तथा युट्युब उत्पादन गर्ने उद्योगमा सबैभन्दा बढी ४९ प्रतिशतले रोजगारी कटौती भएको छ भने वनस्पति घ्यू उत्पादन गर्ने उद्योगमा सबैभन्दा बढी १४४ प्रतिशतले रोजगारीमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कोशी प्रदेशको हिस्सा १५.७९ प्रतिशत हुने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ । गत आर्थिक वर्ष यस्तो हिस्सा १५.८३ प्रतिशत थियो । आर्थिक वर्ष २०७९/८० मा प्रदेशको आर्थिक वृद्धि दुई प्रतिशत रहने अनुमान छ । गतवर्ष आर्थिक वृद्धि ५.४७ प्रतिशत थियो । २०७९ असारको तुलनामा २०८० असारमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा १२.२ प्रतिशतले बढेर ६१ अर्ब १९ करोड २६ लाख १० हजार पुगेको छ । २०८० असारसम्म कुल प्रवाहित कर्जामध्ये कृषिमा प्रवाहित कर्जा अंश ११.० प्रतिशत छ । त्यस्तै २०७९ असारको तुलनामा २०८० असारमा कुल औद्योगिक कर्जा ६.६४ प्रतिशतले बढेर एक खर्ब २९ अर्ब कायम भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा १६.५ प्रतिशतले घटेको थियो । २०८० असार मसान्तमा प्रदेशमा वाणिज्य बैंकका सात सय ६१, विकास बैंकका एक सय ९४, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका सात सय ७२ गरी जम्मा एक हजार आठ सय ६३ शाखा पुगेका छन । २०७९ असारको तुलनामा २०८० असारमा कोशी प्रदेश रहेका बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १५ प्रतिशतले बढेर चार खर्ब २१ अर्ब र प्रवाहित कर्जा २.५ प्रतिशतले बढेर पाँच खर्ब ५७ अर्ब पुगेको छ ।
२०८० असारसम्म बैंक तथा वित्तीय संस्थाले प्रदेशमा परिचालन गरेको कुल निक्षेपमा चल्ती निक्षेप अंश ८.२, बचत निक्षेप अंश ३९.६२, मुद्दती निक्षेप अंश ४६.३३ र अन्य निक्षेप अंश ५.८५ प्रतिशत छ । २०७९ असारको तुलनामा २०८० असारमा सहकारी संस्थाको कुल पुँजी २.१ प्रतिशतले बढेको छ । २०७९ असारमा सहकारीको पुँजी १२.७ प्रतिशतले बढेको थियो ।
त्यस्तै होटलहरूमा आन्तरिक पर्यटक संख्या ६२.९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ४८.१ प्रतिशतले बढेको थियो । २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा कोशी प्रदेशमा समग्र जहाज उडान संख्या ४३.७ प्रतिशतले बढेको छ भने सोही अवधिमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.३ प्रतिशतले बढेको छ । खासगरी मकै, गहुँ, कोदो र फापरले ढाकेको क्षेत्रफल बढेको हो ।
कोशीमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफलमध्ये खाद्य तथा नगदेबालीले ढाकेको क्षेत्रफल हिस्सा ८७.९, तरकारीबाली पाँच र अन्य बालीले ढाकेको क्षेत्रफल ७.१ प्रतिशत छ । कुल क्षेत्रफलमा धान, मकै, गहुँ, र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७२ प्रतिशत छ । २०७९/०८० मा प्रदेशको समग्र कृषि बाली उत्पादन १.८ प्रतिशतले बढेको छ । धान ५.७, मकै २.९, गहुँ १.५, कोदो ११.२ तथा चिया १२.५ प्रतिशतले बढेको हो । मुलुकको कृषि क्षेत्रको उत्पादनमा कोशी प्रदेशको हिस्सा २१.५१ प्रतिशत रहने राष्टिय तथ्यांक कार्यालयको अनुमान छ भने उद्योग क्षेत्रको उत्पादनमा २०.१२ र सेवा क्षेत्रमा १२.६३ प्रतिशत रहने अनुमान गरेको छ ।
अघिल्ला वर्ष कृषि, उद्योग र सेवा क्षेत्रमा क्रमशः २१.५५, १९.९३ र १२.५८ प्रतिशत रहेको थियो । २०७९/०८० मा १४५.१ मेगावटाका सात विद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै प्रदेशको कुल विद्युत् उत्पादन क्षमता ४४७.८ मेगावाट. पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच