नृपेन्द्रबहादुर मल्ल/हिटा
मुगु । बेरोजगारीको संख्यामा दिन प्रतिदिन वृद्धि भएसँगै बालबच्चा पढाउन र दैनिक घरखर्च जोहो गर्नका लागि मुगुका युवाहरू अहिले भारततिर लागेका छन् । भारतको बैंग्लोर, नैनिताल, हिमाञ्चल प्रदेश, मुम्बई, कलकत्ता लगायतका ठाउँमा युवावर्ग कामको खोजीमा हिँडेपछि आजभोलि मुगुका गाउँबस्ती सुनसान देखिन्छन् । मुगुका गाउँघरमा अहिले बिरामी, बुढाबुढी, केटाकेटी र महिला मात्र भेट्न सकिन्छ । घरमा श्रीमती र छोराछोरी छाडेर भारत जान बाध्यात्मक स्थिति हुने एउटै कारण हो गरिबी ।
मुगालीलाई आफ्नो खेतीपातीले ६ महिनासम्म मुस्किलले गुजारा गर्न सकिने र बाँकी ६ महिना ज्याला मजदुरी गरेर घर खर्च धान्नुपर्ने बाध्यता छ । विगतका वर्षमा जिल्लामा बेलायत सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम लागू भएको थियो, जसले गर्दा हजारौँ नागरिकहरू सडक खनेर रोजगार बनेका थिए । केही वर्ष अगाडि जिल्लामा कामको लागि खाद्यान्न कार्यक्रमसमेत लागू हुँदा काम गरेर चामल दिने गरिन्थ्यो तर हाल जिल्लामा कुनै किसिमका गौरवका आयोजना भइरहेका छैनन् । वर्षौँदेखि लागू भएका कार्यक्रमको पनि समय अवधि सकिँदा र अन्य कुनै किसिमका उद्योग कलकारखाना नखुल्दा जिल्लामा बेरोजगारीको समस्या चरम बनिरहेको छ । त्यसैले पछिल्लो समय रोजगारीको कुनै अवसर नहुँदा बाध्यात्मक स्थितिमा युवा युवतीहरू भारतका विभिन्न शहर पस्न बाध्य बनेका छन् ।
रोजगारीका लागि भारत जानेहरूमा धेरैजसो आर्थिक अवस्था कमजोर भएका दलित समुदायका मानिसहरू छन् ।
खेतीपाती सकेर अन्न थन्क्याई सकेपछि हिउँदको समयमा गाउँघरमा खासै काम नहुने र भारतमा काम गरी रोगको उपचार गर्नसमेत सजिलो हुने भएकाले आफूहरू भारत पस्न बाध्य हुनुपरेको छायानाथ रारा नगरपालिका-१ निवासी कुज्या नेपालीले बताउनुभयो । घरमा बुढीआमालाई छाडेर छायानाथकै अर्का दलित युवा नानाभाउ नेपाली श्रीमतीसहित भारत जानुभएको छ । ‘केही कमाउँला र उपचार पनि गरौँला भनी छोरा बुहारी बुढीआमालाई छोडेर भारत पसेँ, गाउँमा बुढीआमाको रेखदेख गर्ने मान्छे नै छैनन् यो हामीहरूको बाध्यता हो’ नेपालीले गुनासो गर्नुभयो ।
छायानाथ रारा वडा नं ६ निवासी जुनतारा मल्ल पनि घरमा आर्थिक समस्या भएपछि बालबच्चा पढाउनकै लागि भए पनि आफू रोजगारीको खोजीमा भारत जान लागेको बताउनुहुन्छ । पहिले पहिले महिलाले घरको काम मात्र गर्नुपथ्र्यो तर घरै धान्न मुस्किल हुने भएपछि कमाइका लागि बाध्य भएर भारत जान लागेको पीडा उहाँले सुनाउनुभयो ।
पछिल्लो समयमा जिल्लामा आर्थिक संकट हुन थालेपछि मुगुको छायानाथ मात्र हैनन् मुगुम् कार्मोङ, खतेड र सोरु गाउँपालिकाका बस्तीबाट करिब हजारभन्दा बढी मानिसहरू भारत पसेका छन् । सयौँ युवाहरूले पढाइ अनुसारको रोजगारी नपाएपछि जापान, कोरिया, पोर्चुगल, माल्टा, कतार, साउदी, मलेसिया लागेका छन् । योग्यताअनुसार रोजगारी नपाएपछि बाध्य भएर जापान जान लागेको छायानाथकै युवा पदमबहादुर हितानले बताउनुभयो ।
जिल्लामा रोजगारी छैन के गरेर घर चलाउनु हितानले गुनासो गर्नुभयो । देशमा रोजगारीको अवस्था सृजना हुन नसक्दा आफू जस्ता पढेर डिग्री हासिल गरेका युवाहरू बाध्य भएर ऋण निकाली विदेशिनु परेको उहाँको भनाइ छ । धमाधम युवाहरू विदेश गएसँगै गाउँबस्तीमा भने बुढापाका, महिला, बालबच्चा, बिरामी मात्र रहँदा बस्तीहरूमा सधैँजसो हुने चहलपहलमा कमी आएको छ । धेरैजसो बस्तीहरू सुनसान छन् ।
मुगुम कार्मारोङ गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामा गाउँपालिकाका प्राय गाउँहरूमा युवाहरू नभएको सबै विदेश गएको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, हाम्रा भोटे समुदायका युवा फ्रान्स, दुबई, पोर्चुगल, युके, अमेरिका र ताइवान गएका छन् । यताको कमाइभन्दा विदेशको कमाइले नेपालमा खर्च सजिलै धान्ने र बचत भई अन्य प्रगतिका काम पनि गर्न सकिने भएकाले युवाहरू विदेश आकर्षित भएका हुन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा