काठमाडौं । लामो अध्ययन अनुसन्धानपछि नेपालमै सस्तो प्यानलको उत्पादन सुरु भएको छ । अब सस्तोमै स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वाल (गारो)का रूपमा प्रयोग गर्न सकिने बताइएको छ । दुईतिर क्याल्सियम सिलिकेट बोर्ड (सिमेन्ट बोर्ड)बिनै उत्पादन लागत कम भएको अल्ट्रा नेपाल इको प्यानलको उत्पादन थालिएको हो ।
इको प्यानल नेपाल प्रालिले अल्ट्रा नेपाल इको प्यानल ब्रान्डिङ गरी सस्तो प्यानलको उत्पादन थालेको हो । यसअघि त्यस्तै प्यानलमा क्याल्सियम सिलिकेट बोर्ड राखेर प्यानल निकालिन्थ्यो, जसका कारण महँगो थियो । तर अहिले क्याल्सियम सिलिकेट बोर्डविनाको प्यानल उत्पादन सुरु भएको छ ।
कम्पनीका अनुसार अहिलेको प्यानल नेपालमै रहेको कच्चा पदार्थ बालुवा, सिमेन्ट, ग्लास फाइबर, इपिएस (चलनचल्तीको भाषामा थर्मोकोल)को मिश्रणबाट बनेको हुन्छ । स्याण्डबीच प्यानलमा जस्तो यसमा दुईतिर क्याल्सियम सिलिकेट बोर्ड हालेको हुँदैन । ढलान गरी बनेको स्थायी संरचनाको भित्री पार्टेसन वाललाई लक्षित गरी प्यानल उत्पादन सुरु गरिएको र तौल इँट्टा वालभन्दा तीन गुणा कम हुने कम्पनीको दाबी छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले उपभोक्तालाई थोरै मूल्यमा उपलब्ध गराउने उद्देश्यले नयाँ उत्पादन थालेको बताउनुभयो । उहाँले भन्नुभयो ‘यो तुलनात्मक रूपमा सस्तो छ, चार इन्चको वाल लगाउँदा जति खर्च लाग्छ, त्यही हाराहारीमा यो ४.५ इन्चको अल्ट्रा नेपाल इको प्यानल प्रयोग गर्न सकिन्छ । यसअघि क्याल्सियम सिल्केड बोर्ड भएको प्यानल प्रयोग गर्दा इँटाको गाह्रोभन्दा केही महँगो हुन्थ्यो ।’






