काठमाडौं । च्याउ किसानहरूको जागरुता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता भन्ने नाराका साथ ललितपुरमा एकदिने च्याउ मेला आयोजना गरिएको छ । सभामुख देवराज घिमिरेले नेपालमा उत्पादन हुने थुप्रै च्याउको अनुसन्धान गर्न बाँकी रहेको बताउनुुभएको छ । आइतबार ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव उद्घाटन गर्दै उहाँले तराईदेखि पहाडसम्म उत्पादन हुने थुप्रै च्याउका प्रजातिको अनुसन्धानमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
देश आत्मनिर्भरताबाट परनिर्भरतातिर गइरहेका बेलामा च्याउ उत्पादक संघ स्थापना गरी नेपालमा पाइने च्याउ प्रवद्र्धन गर्ने, च्याउको महत्वलाई जनताबीचमा पुर्याउने र उत्पादन गर्ने काममा निरन्तर लाग्ने किसान तथा व्यवसायीलाई सरकारले प्रोत्साहित गर्नुपर्ने उहाँको भनाइ थियो ।
सभामुख घिमिरेले भारतबाट आयात गर्दै आएको च्याउमा पछिल्लो समय आत्मनिर्भर हुँदै जाँदा देशको अर्थतन्त्रमा समेत टेवा पुगेको बताउनुभयो । विदेशी च्याउ विस्थापित गरी स्वदेशी च्याउको बजारीकरणमा जोड दिनुपर्ने भए पनि विगत १० वर्षयता सरकारले च्याउ उत्पादक किसानलाई आवश्यक महत्व र स्थान दिन नसकेको उहाँको भनाइ थियो ।
च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा भएको मेलामा ३० वटा स्टल र च्याउसँग सम्बन्धी विभिन्न सामग्री प्रदर्शनीका साथै च्याउ परिकार राखिएका थिए । मेलामा गोब्रे, कन्य, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहरिक प्रयोगात्मक प्रदर्शनीदेखि विभिन्न स्टल रहेका थिए ।
कन्य च्याउको उत्पादन र अनुसन्धानपछि आर्थिक वर्ष २०३०/०३१ सालमा गोब्रे च्याउको खेती प्रविधिसम्बन्धी अनुसन्धान भएको संघले जनाएको छ । संघका अनुसार राष्ट्रिय कृषि अनुसन्धान परिषद्(नार्क) अन्तर्गत बाली रोग विज्ञान महाशाखाबाट च्याउखेती प्रविधिसम्बन्धी अध्ययन सफल भएपछि २०३७ सालदेखि किसानलाई च्याउखेती प्रविधिसम्बन्धी तालिम दिई खेती विस्तार गरिएको हो ।
आर्थिक वर्ष २०३४/०३५ देखि नै काठमाडौंका बलम्बु, चापागाउँ हुँदै नेपालका विभिन्न स्थानमा निरन्तररूपमा च्याउखेती गरिँदै आएको च्याउखेती हाल ७० जिल्लामा विस्तार भएको संघका अध्यक्ष सन्तोष कार्कीले बताउनुभएको छ ।






