काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत तोकिएका छन् ।
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ । राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट निर्वाचित १९ र मनोनीत १ गरेर कूल २० सांसद्को पदावधि सकिँदैछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम देहायका ७ जना जिल्ला न्यायाधीशहरूलाई पुस १६ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि जिल्ला अदालत दाङका न्यायाधीश कृपाशुर कार्की, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याललाई नियुक्त गरिएको छ ।







