काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको विधान संशोधनका लागि केन्द्रीय कमिटीको बैठकबाट सुझाव माग गरेको छ । बुधबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा विधान संशोधनको लागि नेताहरूसँग ११ वटा प्रश्न तयार पारेरै सुझाव माग गरिएको हो । महाधिवेशन र अधिवेशनबाट प्रतिनिधि कसरी चयन गर्ने, केन्द्रीय संगठनात्मक संरचना कस्तो बनाउने, केन्द्रीय परिषद् कस्तो बनाउने, केन्द्रीय समिति कति सदस्यीय बनाउनेलगायत ११ प्रश्न तयार पारिएको छ । नेताहरूको बुझाइको आधारमा आगामी महाधिवेशनबाट नेतृत्व चयन गर्ने एकीकृत समाजवादीको तयारी छ । विधान संशोधनका लागि पार्टीले आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दै छ ।
शुक्रबारसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणसम्बन्धी छलफल हुने महासचिव घनश्याम भुसालले बताउनुभयो । देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थिति बैठकमा छलफल हुनेछ । बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्नेछ ।
देश-विदेशका प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले २००६ सालामा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको उत्तराधिकारी आफ्नो पार्टी भएको दाबी गर्नुभएको छ । बुधबार ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीको वास्तविक उत्तराधिकारी भएकाले आफूहरूले १०औँ महाधिवेशन गर्न लागेको बताउनुभयो । अध्यक्ष नेपालले एमाले फुटाएर नयाँ पार्टी बनाएको भए पनि उत्तराधिकारी आफ्नो पार्टी भएको जिकिर गर्नुभयो । एमालेले यसअघि नै १०औँ महाधिवेशन गरिसकेको छ । नेकपा एसले गर्न लागेको यो महाधिवेशन पहिलो हो । ‘हामी नेकपा एकीकृत समाजवादीको १०औँ महाधिवेशन आयोजना गर्ने बिन्दुमा उभिएका छौं । हामीले १०औं महाधिवेशन किन भनिरहेका छौँ भने नेपाल कम्युनिष्ट पार्टी जुन २००६ सालमा स्थापना भएको हो । त्यसको उत्तराधिकारी हौँ,’ उहाँले भन्नुभयो, ‘विभिन्न बेलामा यस्ता समय आएका छन् जतिबेला हामीले नयाँ क्रान्तिकारी धारलाई समात्दै भइरहेको पार्टीबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन परेको छ ।
अध्यक्ष नेपालले संविधानमाथि आक्रमण हुन थालेको दाबी गर्नुभयो । वर्तमान व्यवस्थाविरुद्ध प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेको उहाँको भनाइ थियो । ‘संविधानमाथि आक्रमण हुन थाल्यो । हामी फेरि गम्भीर बन्नुपर्छ । अहिले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् । देश-विदेशका शक्तिहरूले नेपालभित्र षड्यन्त्रका तानाबाना बुनिरहेका छन्,’ उहाँले भन्नुभयो ।
सबै दलहरूभित्र समस्या छ
अध्यक्ष नेपालले माओवादी, एमालेसहित सबै दलहरूभित्र ठूलो समस्या रहेको बताउनुभयो । अरू पार्टीभित्रको समस्या औल्याउँदै आफ्नो पार्टीले अरूलाई उछिनेर अगाडि बढ्न सक्ने उहाँले जिकिर गर्नुभयो । ‘हामीलाई अरू पार्टीभित्रको पनि हालत थाहा छ । माओवादीमा पनि भित्र ठूलो समस्या छ । हामीले मेचीदेखि महाकालीसम्म अभियान चलायौँ । मध्यपहाडी भागमा जान्छौँ भन्दै थियौँ अरूले उछिनिहालेछन् । राम्रो कुराको जसले अनुशरण गरे पनि हुन्छ,’ उहाँले भन्नुभयो, ‘तर, एकजना नेताबाहेक कसैलाई बोल्न दिइएन । हामीले त हाम्रो कार्यक्रममा अधिकतम् सबैलाई बोल्न मौका दिऔँ । यही हो फरक हो । हामी लोकतान्त्रिक विधिबाट जान चाहन्छौँ ।’
जनतामा निराशा बढेको छ, असन्तोषको कारण खोजौँ
अध्यक्ष नेपालले देशमा फेरि प्रतिगामी शक्तिहरूले टाउको उठाउन थालेको बताउनुभयो । ‘प्रतिगामीहरूले टाउको उठाउन थालेका छन् । दक्षिणपन्थीहरू सल्बलाउन थालेका छन्,’ उहाँले भन्नुभयो, ‘देशको अवस्थाबारेमा मैले समाजवादी मोर्चाको बैठकमा कुरा राखेको छु । बैठकमा गम्भीर छलफल चलिरहेको छ । अहिले हाम्रो देशको स्वाधीनतामाथि आक्रमण भइरहेको छ कि छैन । यी सबै कुरामा हामीले व्यापक छलफल गरौँ ।’ नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउने र लोकप्रिय बनाउने काममा लाग्नुपर्ने उहाँले बताउनुभयो । ‘यस कुरामा सबै सहमत भएका छन् । चिन्ता हामीलाई मात्रै छैन अरूलाई पनि छ । अरूलाई पनि चिन्ता हुनुपर्छ भनेका छौँ’, नेपालले भन्नुभयो, ‘जनतामा निराशा बढेको छ, राजनीतिमा वितृष्णा र पार्टीहरूप्रति असन्तोषको कारण खोजौँ र सुधार गरौँ ।’
साम्राज्यवादीहरू दक्षिणपन्थीलाई सत्तामा ल्याउन खोज्दै छन् : खनाल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले साम्राज्यवादीहरूले नेपालका कम्युनिष्ट पार्टी सिध्याउने अभियान चलाएको बताउनुभएको छ । बुधबारदेखि सुरु केन्द्रीय समिति बैठकमा बोल्दै नेता खनालले साम्राज्यवादीहरूले नेपाललाई पकडमा लिन खोजेको बताउनुभयो । ‘साम्राज्यवादीहरू हाम्रो देशलाई पकडमा लिन चाहन्छन् । विश्व अहिले साम्राज्यवादी र विरोधी खेमामा विभाजित हुँदै गएको छ’, उहाँले भन्नुभयो, ‘एकातिर समाजवादी चीन छ, अर्कातिर भारत छ । यस्तोमा कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्न साम्राज्यवादी लागेका छन् । देशका वामपन्थीलाई कमजोर बनाएर दक्षिणपन्थीलाई बलियो र सुदृढ बनाउन चाहन्छन् ।’
२०८४ को निर्वाचनमा दक्षिणपन्थीहरूलाई सत्तामा लैजाने अभियानमा अहिले चलिरहेको उहाँले बताउनुभयो । ‘साम्राज्यवादीहरू आगामी निर्वाचनमा दक्षिणपन्थीलाई जिताउने गरी लागेका छन्,’ उहाँले भन्नुभयो, ‘त्यसकारण जनतालाई सचेत बनाउने र सही नेतृत्व दिने काममा हामी लाग्नुपर्छ । तर, कम्युनिष्ट आन्दोलन आफ्नै कारणले तहसनहस हुने अवस्थामा पुग्यो । मान्छेको अहमता र घमण्डका कारण कम्युनिष्ट आन्दोलनलाई धक्का लागेको छ । यसलाई सिद्धयाउन भित्री-बाहिरी शक्ति लागेका छन् ।’
नेता खनालले ७० वर्षे उमेरहद सान्दर्भिक नभएको बताउनुभयो । ‘हामीले नवौँ महाधिवेशनमा ७० वर्षे उमेर हद राख्यौँ तर त्योभन्दा तलतिरको नेता जन्माउन सकेनौँ । त्यो दुःखद कुरा हो । त्यो उमेर हद राखेर मात्रै हुन्छ कि हुँदैन ? यो महाधिवेशनले युवाहरूलाई माथि ल्याउन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘अब यो उमेर हदको कुरामा सान्दर्भिक देखिँदैन । लागू पनि नगरेकाले यसको सन्दर्भ नै हराइसक्यो ।






