पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा हेरिएको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको काम सुस्त गतिमा अगाडि बढेको छ । सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले काममा ढिला सुस्ती गरेको हो ।
निर्माण व्यवसायीले काम गर्न सहज बनाउने उद्देश्यले पटक–पटक राजमार्गमा आवागमन बन्द गर्न माग गरे पनि काममा भने तीव्रता नदिएकाले यात्रुले विरोध गर्दै आएका छन् । यसअघि दुई पटकसम्म सडक बन्द गरेर काम गरे पनि अहिले फेरि कामलाई तीव्रता दिन भन्दै सडक बन्द गर्न लागिएको छ । निर्माण कार्य भइरहेको अवस्थामा ढुंगाहरू खस्ने, सवारी आवतजावतमा उच्च जोखिम हुने भएकाले सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्ड यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द गर्न लागिएको हो ।
सुरुङ निर्माणको कामले गति लिन नसकेको भन्ने आलोचना भइरहेका बेला निर्माण कम्पनीले सवारी आवागमन बन्द गरेर कामलाई सहज गराई तीव्रता दिन भन्दै राजमार्ग सुरक्षा समितिलाई आग्रह गरेको थियो । सोही आग्रह अनुसार जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले दैनिक ६ घण्टा सडक बन्द गरेर काम गर्ने निर्णय गरेको हो । आयोजनाको आग्रह अनुसार पुस १६ गतेदेखि एक सय दिनसम्म सवारी साधनको आउजाउ बन्द गरेर सुरुङमार्ग निर्माणको काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी काफ्लेले भन्नुभयो, ‘उक्त समयमा यात्रुलाई कुनै पनि अफ्ठ्यारो नहुने गरी काम गर्न निर्माण व्यवसायीलाई भनेका छौं ।’ उहाँले सडक बन्द हुने विषयको सूचना प्रभावकारी रुपमा सम्प्रेषण गरी सम्बन्धित नियामक निकाय, समन्वय गर्ने निकाय, यातायात सेवा कम्पनी, राजमार्ग प्रयोगकर्तासम्म जानकारी गराउनसमेत सबैलाई आग्रह गर्नुभएको छ ।
सुरुङमार्ग निमार्णका लागि पटक-पटक सडक बन्द गरेर काम हुँदै आएको छ । यसअघि पनि गत फागुन १३ देखि २७ गतेसम्म दैनिक आठ घण्टा, चैत २१ गतेदेखि दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर निर्माणको पूर्व तयारीका काम अगाडि बढेको थियो । पटक-पटक सडक बन्द गरिए पनि कामले भने गति लिन सकेको छैन ।
मंसिर ३० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समेत स्थलगत निरीक्षण गरी सुरुङमार्गको काम सुस्त भएको भन्दै कामलाई तिव्रता दिन निर्देशन दिनुभएको थियो । मन्त्री ज्वालाले कामको गति निकै ढिलो भएकोमा ध्यानआर्कषण गराउँदै तीव्रता दिन निर्देशन दिए लगत्तै निर्माण व्यवसायीले सवारी आवगमन रोकेरै भए पनि कामलाई तीव्रता दिन चासो देखाएको छ । यो सुरुङ मार्गलाई ठूलो र महंगो आयोजनाका रूपमा लिइएको बताउँदै यसको काममा कुनै पनि लापरबाही नगर्न मन्त्रीले निर्माण व्यवसायीलाई सचेत गराउनुभएको थियो । अहिले यहाँ आठ÷नौ प्रतिशत मात्रै काम भएको छ ।
सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र दुई र स्लोप क्षेत्रको कार्य गर्दा बाटो साँघुरो भएको कारण निर्वाध रूपमा यातायात सञ्चालनकै अवस्थामा कार्य गर्न असहज भएकाले सवारीसाधन आवतजावत बन्द गरेर काम गर्न लागिएको निर्माण व्यवसायीले बताएका छन् ।
बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब तीन किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्ग बनाउन लागिएको हो । चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणका लागि २०७८ फागुन १ मा ठेक्का पाएको थियो । सिद्धबावा क्षेत्रमा माथिबाट खस्ने ढुंगा तथा पहिरोका कारण हरेक वर्ष आठ/१० जना नागरिकले ज्यान गुमाउनु परेकाले सरकारले सुरुङमार्ग बनाउने योजना अघि सारेको थियो । साउन पहिलो साता झरेको पहिरोले सुरुङमार्गको ‘टनेल पोर्टल’ नै पुरिएपछि तीनमहिना बढी समय रोकिएको सुरुङमार्ग निर्माणको काम दशैँपछि मात्रै सुरु गरिएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता