बैतडी, खोटाङ । देशैभर जाडो बढ्दै गएको छ । अझ माघे झरी आउन बाँकी नै छ । त्यस्तोमा दुर्गम भेगका स्कुले बालबालिका टहराको चिसो भुइँ र खुल्ला आकाशमुनि बसेर पढ्न बाध्य छन् । यो अवस्था देशका अधिकांश विद्यालयको हो । तर, आज हामीले प्रतिनिधि दुई विद्यालय बैतडी र खोटाङको विषयमा चर्चा गर्दै छौँ ।
चारैतिर काठका खम्बाहरू गाडेर जस्तापाताले छाएको अस्थायी टहरा छ । त्यही टहरामुनि बसेर अध्ययन गर्छन् बैतडी सुर्नया-२ ग्वानीका आयुष र सरिता विष्ट । भवन अभावमा हिउँदको कठ्यांग्रिँदो चिसोमा होस् वा बर्खामा पानी पर्दा टिनको टहरामुनि बसेर पढ्नुपर्ने बाध्यता उहाँहरूलाई छ । ‘पानी परेको बेला जस्ता पाताको आवाज आउने भएकाले पढ्न निकै असहज हुने गरेको छ’ कक्षा ५ मा अध्ययनरत सरिता भन्नुहुन्छ, ‘साँघुरा कोठा भएकाले बस्नका लागि पनि समस्या छ ।’
२०७२ सालमा स्थापना भई २०७५ सालमा पालिकाबाट अनुमति पाएको बैतडीको सुर्नया गाउँपालिका-२ स्थित पत्ताल भूमेश्वर आधारभूत विद्यालयमा हालसम्म कुनै पनि भौतिक संरचना बनेका छैनन् । टहरामुनि निर्माण गरिएका साँघुरा तीन कोठामा शिशुसहित कक्षा एकदेखि पाँचसम्मका झण्डै ८६ जना बालबालिकाहरू बस्छन् । ‘हिउँदको समयमा चिसोले सताउँछ बर्खामा पानी । नजिक विद्यालय छैन धेरै टाढा हिँड्न समस्या हुन्छ’ ‘कक्षा ४ मा अध्ययनरत छात्र आयुषले भन्नुभयो । विद्यालयमा डेस्कबेञ्च नै पर्याप्त छैनन्, साँघुरा कोठामा बस्नुपर्छ, विद्यालयमा शिक्षकसमेत छैनन् ।’
पछिल्लो समयमा सामुदायिक विद्यालयहरूले पनि बढ्दो आधुनिक प्रविधिको प्रयोग गरिरहेका बेला भने स्थापनादेखि नै भवनको अभावमा टहरामुनि पठनपाठन सञ्चालन गरिरहेको छ । ‘विद्यालयको भौतिक सम्पत्ति भनेको यही टहरा नै हो, एउटै कोठामा तीन कक्षाका विद्यार्थीहरूलाई राखेका छौँ, विद्यालयका प्रधानाध्यापक दीपा विष्टले भन्नुभयो, ‘कार्यालय पनि कक्षा कोठामै छ, पठनपाठनमा निकै समस्या छ ।’
चिसो पनि सुरु भएकाले विद्यार्थीहरूको पढाइ प्रभावित हुने गरेको उहाँले बताउनुभयो । विद्यालयमा पर्याप्त शैक्षिक सामग्री र कक्षा कोठा व्यवस्थापन नहुँदा समस्या हुने गरेको छ । ‘घाम परेको समयमा त बाहिर घाममा बसाउँछौँ, नत्र तीन कक्षासम्म एकै कोठामा राख्नुपर्छ, कोठामा बस्न ठाउँ हुँदैन,’ विष्टले भन्नुभयो ।
कक्षा अनुपातमा भौतिक संरचना मात्रै होइन शिक्षक अभाव पनि रहेको छ । राहत तथा स्थायी वा संघीय अनुदानको शिक्षक नै छैनन् । हाल दुईजना गाउँपालिका शिक्षकको रूपमा कार्यरत रहेका छन् भने दुईजना शिक्षकलाई निजी विद्यालयले नै निजी स्रोतबाट तलव खुवाउने भन्दै नियुक्त गरेको छ । तर, निजी स्रोतका शिक्षकहरूलाई नियमित पारिश्रमिक दिन नसकिएको विद्यालय व्यवस्थापन समितिले बताएको छ ।
२०७२ सालमा स्थापना गरिएको यो विद्यालयको स्वरूप परिवर्तन भएको छैन । स्थापना कालदेखि हालसम्म भौतिक संरचनाको लागि माग भए पनि कुनै पहल नभएको प्रधानाध्यापक विष्टले बताउनुभयो । श्रमदानमा विद्यालयको टहरा निर्माण गरिएको भए पनि थप संरचना निर्माण गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर विष्टले बताउनुभयो । ‘२०७५ सालमा सुर्नया गाउँपालिकाबाट फिल्ड निर्माणको लागि बजेट पाएका थियौँ, त्यसयता केही बजेट आएन’ अध्यक्ष विष्टले भन्नुभयो, विद्यालयको भवन निर्माणको लागि बेलाबेला माग गरिएको भए पनि कुनै सुनुवाइ छैन ।
किमगैर, घर्कटे, ग्वानी, गाडाइजर, सुन्धारन, थालापनी, कुर्कुट्या लगायतका टोलबाट बालबालिकाहरू अध्यायन गर्न उक्त विद्यालयमा आउने गरेका छन् । साँघुरा कक्षा कोठामा दुई वा दुईभन्दा बढी कक्षाका विद्यार्थीहरूलाई एकै कोठामा बस्नुपर्दा असहज हुने गरेको छ ।
उस्तै अवस्थामा पुनःस्थापित आधारभूत विद्यालय
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ दिक्तेल सोल्मामा रहेको पुनःस्थापित आधारभूत विद्यालयको पनि अवस्था उस्तै छ । २०७२ सालको भूकम्पले विद्यालय भवन थिलथिलो बनेपछि विद्यार्थी टहरा र खुल्ला आकाशमुनि पढ्न बाध्य छन् । भूकम्पपछि भवनमा ताला लागेको प्रधानाध्यापक विन्दा कुमारी अधिकारीले बताउनुभयो । प्रअ अधिकारीका अनुसार २०७३/०७४ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट मर्मत सम्भारका लागि परेको दुई लाखबाट बनाइएको टहरामा अहिलेसम्म बालबालिका पढाउनु परिरहेको छ । टहरामा पढाउँदा बालबालिकालाई अत्यधिक चिसो हुने गर्छ ।
भूकम्पले क्षति गरेको भवन मर्मत गर्न शिक्षा कार्यालयबाट दुई लाख बजेट आयो । त्यति बजेटले भवन मर्मत नहुने देखियो । जीर्ण भवनलाई थाती राख्दै दुईकोठे टहरा बनाएर बालबालिका पढाऊँ भनेर सल्लाह भएअनुसार टहरा बनाइएको हो’ प्रअ अधिकारीले भन्नुभयो । ‘भूकम्पले तीनकोठे भवन जीर्ण भएपछि भवन अभावमा त्यहाँ पढाउन सकिएन । त्यसपछि बनाइएको टहराको एक कोठामा बालविकासका सातजना र कक्षा-१ का आठजना तथा कक्षा-२ का दुईजनालाई एक कोठामा राखेर पढाइरहेका छौँ ।’
कक्षा-२ मा ६ जनाले भर्ना गरेकोमा चार जनालाई अभिभावकले निजी विद्यालय लगेपछि नियमित विद्यार्थी संख्या दुईजना छन् । कक्षा-३ मा ६ जना विद्यार्थी नियमित छन् । कक्षा-४ मा सातजनाले भर्ना गरेकोमा पाँच जनालाई अभिभावकले निजी विद्यालय लगेपछि दुईजना मात्रै नियमित छन् । कक्षा-५ मा पाँचजना विद्यार्थी नियमित छन् ।
विद्यालयका लागि स्थायी शिक्षक दुईजना, राहत शिक्षक एकजना, बालविकास शिक्षिका एकजना र विद्यालय कर्मचारी एकजनाको दरबन्दी छ । विद्यालयमा कुल ३० जना विद्यार्थी अध्ययनरत छन् । यद्यपि, नगर शिक्षा शाखाबाट उपलब्ध इमिस विवरणमा कुल विद्यार्थी संख्या ४१ जना देखाइएको छ । इमिसअनुसार बालविकासमा आठजना, कक्षा-१ मा नौजना, कक्षा-२, कक्षा-३, कक्षा-४ र कक्षा-५ मा ६-६ जना विद्यार्थी संख्या देखाइएको छ ।
विद्यालयमा भवन पार्नका लागि पहल भइरहेको सोल्माका वडाध्यक्ष एवं वडा शिक्षा समिति संयोजक ध्रुवविक्रम राईले बताउनुभयो । राईका अनुसार विद्यालयलाई डेस्कबेञ्चका लागि चालु आर्थिक वर्षमा ५० हजार बजेट विनियोजन गरिएको छ ।






