कालीकोट । बढ्दो बालविवाहले समाजमा नकरात्मक असर पार्न थालेपछि कालीकोटका तीनवटा स्थानीय तहले बालविवाह विरुद्धको अभियान थालनी गरेका छन् । स्थानीय तहहरूले बालबिवाहले पारेको प्रभाव अध्ययन गरेर न्यूनीकरणका उपाय अवलम्बन गर्दै अभियानको सुरुवात गरेका हुन् । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका, नरहरिनाथ गाउँपालिका र रास्कोट नगरपालिकामा बालविवाह विरुद्धका क्रियाकलापहरू घनिभूत रूपमा भइरहेका छन् ।
बालविवाह अन्त्य गर्न किशोर किशोरी समूह, महिला सञ्जाल, दलित सञ्जालहरू, अपांगता भएका व्यक्तिहरूदेखि सामाजिक क्षेत्रमा क्रियाशील संघसंस्थाहरू र स्थानीय सरकार लागिपरेका छन् । बालविवाहले बहुविवाह निम्त्याएको, किशोरीहरूको स्वास्थ्यमा असर देखिएको, घरेलु हिंसा बढेको, बच्चाहरू रोगी जन्मनुका साथै शिशु मृत्युदर बढ्न थालेकाले यसको सूक्ष्म अध्ययन गर्ने कार्य भइरहेको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले जानकारी दिनुभयो ।
२०२० मा ६७ प्रतिशत रहेको बालविवाह २०२१ मा आएर ६१ प्रतिशतमा झरेको छ । यस्तै, २०२३ मा ५१ प्रतिशतमा झरेको पछिल्लो एक तथ्यांकले देखाएको छ । नगरपालिका प्रमुख शाहीले भन्नुभयो, ‘हामीले रास्कोट नगरपालिकाका नौवटै वडाको बालविवाह, छिटो विवाह र जबरजस्ती हुने विवाहमा महिला कति, पुरुष कति, कतिजना विद्यालयबाहिर, कतिजना विद्यालयमा नियमित जान थाले औसतमा सर्वेक्षण गरेर पछिल्लो रिपोर्ट सार्वजनिक गरेका छौँ । तीन वर्षको बीचमा तीनवटा पालिकामा मात्र ७६ प्रतिशतबाट झरेर ५१ प्रतिशत बालविवाह घटेको सर्वेक्षण निकालेका छौँ ।’ यस्ता खाले कुप्रथाको न्यूनीकरणको लागि साझेदार संस्थाहरूसँग सहकार्य गरेर केही बजेट विनयोजन गरिएको प्रमुख शाहीको भनाइ छ ।
अहिलेको तथ्यांकअनुसार कालीकोटका तीन स्थानीय तहमध्ये बालविवाह धेरै हुनेमा रास्कोट देखिएको छ । रास्कोट-२ मा भने बालविवाह शून्य देखिन्छ । वडाध्यक्ष धुव्र सिम्खाडाले बालविवाह रोक्न किशोर किशोरी नै लागिपरेको, अभिभावकले पनि बालविवाहलाई प्रश्रय नदिइएको बताउनुहुन्छ । नगरपालिकाले बालविवाह मुक्त वडा घोषणाको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ । वडाध्यक्ष सिम्खडाले वडा पालिकाको सिफारिस लिएर मात्रै विवाह गर्न पाइने नीति ल्याइएको बताउनुभयो । उहाँका अनुसार टोलटोलमा बालविवाह विरुद्धका कार्यक्रमहरू भइरहेका छन् । सबैभन्दा बढी बालविवाह रास्कोटमा देखिए पनि यसलाई शून्यमा झारेर रास्कोटलाई नै पहिलो बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ ।
सामाजिक जागरण तथा विकास प्र्रतिष्ठान (सादा नेपाल) का परियोजना संयोजक दलसिंह कुमालका अनुसार विद्यालयबाहिर रहेका बालबालिका विद्यालयमा पुर्याउने, बालविवाह मुक्त पालिका घोषणा गर्नेदेखि किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जनचेतना दिने काम चलिरहेको छ । समाजमा रहेका धर्मगुरुहरूसँग अन्तरक्रिया, पुरानो पुस्ता र नयाँ पुस्ताबीच संवाद गर्ने र विद्यालयमा बालविवाह न्यूनीकरणका विषयमा पटकपटक क्षमता अभिवृद्धिका काम भइरहेको उहाँको भनाइ छ । बालविवाहविरुद्ध देउडा खेल्ने, छलफल चलाउनेदेखि बालविवाह गर्दा हुने कानुनी व्यवस्थाको बारेमा समेत कालीकोटका तीन स्थानीय तहमा बारम्बार छलफल चलिरहेको परियोजना संयोजक कुमालले बताउनुभयो । यस्ताखाले छलफल तथा जनचेतनाले अहिले कालीकोटमा बालविवाह दर घट्दो अवस्थामा रहेको कुमालको भनाइ छ ।
बालबिवाह विरुद्धको अभियानले रास्कोट नगरपालिका, साान्नी त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा ६७ प्रतिशत रहेको बालविवाह घटेर ५१ प्रतिशतमा झरेको छ । अन्य पालिकामा पनि घट्दो अवस्थामा रहेको छ ।






