काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश खारेजका लागि आन्दोलन गर्ने घोषणा गरेको छ । पुस १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा चलेको केन्द्रीय समिति बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाब सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । आन्दोलनको तयारीका लागि पुस, माघमा देशैभर सभा र तयारीका काम गरिने उहाँले बताउनुभयो । राप्रपाले फागुनमा मेची-महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय पनि गरेको छ ।
‘आन्दोलनका लागि समान विचार राख्ने दलहरू, अभियान तथा धार्मिक संघ, संगठन, उद्योगी, व्यवसायी, विभिन्न पेसाकर्मीहरू, बुद्धिजीवी एवं देशभित्र र देशबाहिर रहनुभएका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सरिक हुन राप्रपा हार्दिक आहृवान गर्दछ,’ उहाँले भन्नुभयोे, ‘नवीन राप्रपा कार्ययोजनाका बाँकी कार्यहरू पनि आन्दोलनको अंगको रूपमा सम्पन्न गर्ने निर्णय गरिएको छ ।’
राप्रपाले आन्दोलनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ । समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरू रहनेछन् । साथै संगठन विभाग प्रमुखसमेत रहनुभएका महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी गराउनुभयो ।
कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन गरिएको छ भने प्रवक्ता श्रेष्ठको नेतृत्वमा प्रचार तथा प्रसार समिति गठन भएको छ । राप्रपाले भूगोल केन्द्रित जिम्मेवारीको समीक्षा गर्दै कार्यक्रमलाई चैतसम्म निरन्तरता दिने निर्णय गरेको छ ।
जनताले चाहे संसद्बाट फिर्ता भई आन्दोलन गर्छौं : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना भए संघीय संसद्बाट फिर्ता भई आन्दोलनलाई अघि बढाउने बताउनुभएको छ । आइतबारदेखि बसेको पार्टी केन्द्रीय समिति बैठकपछि मंगलबार निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूसँग उहाँले आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र नभई प्रतिनिधिसभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जाने बताउनुभयो । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा मात्र होइन, अन्य तहहरूमा समेत संविधानसँग सहकार्य गरिरहेको छ । अहिले हामीले तत्काल प्रदेशमा रहेका हाम्रा सदस्यहरू फिर्ता लिने कुनै निर्णय गरेका छैनौँ,’ उहाँले भन्नुभयो, ‘तर आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र होइन, प्रतिनिधिसभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जानसक्ने सम्भावना छ ।’
उहाँले समान विचारधारा राख्ने पार्टी, व्यक्ति, संघ संस्थालाई सहकार्यको लागि आहृवानसमेत गर्नुभयो । ‘राप्रपाले आजको बैठकबाट नै समान विचारधारा राख्ने पार्टी, व्यक्ति, संघसंस्थालाई सहकार्यको लागि आहृवान गरेको छ । समान विचार राख्ने शक्ति र संघसंस्थालाई आफ्नो आफ्नोे ठाउँबाट आन्दोलन गर्न, वातावरण गर्न र सहकार्यको लागि आहृवान गर्दछु,’ उहाँले भन्नुभयोे, ‘समान धारा भएकाहरूलाई मिलेर जानुको विकल्प छैन, एकले अर्काको खुट्टा तान्ने काम बन्द गरौँ ।’ अध्यक्ष लिङ्देनले सरकारको एकवर्षे कार्यकाल सुखद नभएको र देश अर्थतन्त्रसहित सर्वाङ्गीण हिसाबले अधोगतितर्फ गएको दाबी गर्नुभयो ।
गणतन्त्र छाडातन्त्र र भ्रष्टतन्त्रमा परिणत भयो : अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्र मात्रै सही र सफल हुने बताउनुभएको छ । गणतन्त्र छाडातन्त्र र भ्रष्टतन्त्रमा परिणत भएको जिकिर गर्दै उहाँले राजासहितको प्रजातन्त्र नै मुलुकका लागि उपयुक्त हुने दाबी गर्नुभएको हो । मंगलबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले ठूला दलहरूले राजाको नाममा निरंकुश व्यवस्था ल्याउन आफ्नो पार्टीले खोजेको भनेर भ्रम सृजना गरेको उल्लेख गर्दै आफूहरू राजासहितको प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न लागिपरेको बताउनुभयो । उहाँले नेपालमा छिट्टै राजसंस्था र हिन्दुराष्ट्र कायम हुनेसमेत दोहोर्याउनुभयो ।
अध्यक्ष थापाले भन्नुभयो, ‘हामी देशमा आन्दोलनको आँधिबेहरी सृजना गर्ने र चाँडोभन्दा चाँडो यो भ्रष्ट व्यवस्थालाई अन्त्य गर्ने हिन्दुराष्ट्र र राजसंस्थालाई स्थापना गर्न सक्छौँ भन्ने मलाई लाग्छ । यही कारणले गर्दा भ्रष्ट व्यवस्थाका सम्बाहकहरू अहिले आत्तिएका छन । अत्तालिएका छन् । आतंकित भएका छन् । र अनेक किसिमका भ्रमहरू सृजना गरिरहेका छन् । म हरेक दिन आफूलाई प्रमुख भन्ने राजनीतिक दलका नेताहरूको अभिव्यक्ति सुनिराखेको छु । उनीहरूमा त्यो चिन्ता र त्रसित मानसिकता देखिन्छ । उनीहरू भ्रम सृजना गरिराखेका छन् कि लोकतन्त्र समाप्त पारेर निरंकुशतन्त्र हाबी गराउन खोजिएको छ । गणतन्त्रलाई समाप्त पारेर राजाको निरंकुशतालाई स्थापना गर्न खोजिएको छ । भ्रम सृजना गर्न खोजिएको छ । म आज यही कार्यक्रमको माध्यामबाट-प्रजातन्त्र भन्नुहोस् वा लोकतन्त्रको विकल्प छैन । यो वास्तविकतालाई हामीले बुझेका छौँ । त्यसैले हामीले स्थापना गर्न खोजेको प्रजातन्त्रलाई समाप्त पारेर निरंकुशतन्त्रलाई होइन, हामीले स्थापना गर्न खोजेको राजासहितको प्रजातन्त्र । जो नेपालमा सही र सफल प्रजातन्त्र हुन्छ । अहिलेको जस्तो छाडातन्त्र होइन । उनीहरूले जसलाई लोकतन्त्र, गणतन्त्र भनिराख्नु भएको छ । यो छाडातन्त्र हो, मनपरीतन्त्र हो । यो सिण्डीकेट र भ्रष्टतन्त्र हो ।’
अध्यक्ष थापाले वर्तमान शासन व्यवस्थाले मुलुकलाई आर्थिक रूपमा पनि संकटको डिलमा पुर्याएको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्वसांसद गोविन्दविक्रम शाह राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालमा प्रवेश गर्नुभएको थियो ।







Breaking news with related posts