काठमाडौं । नेकपा एमालेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सम्पन्न भएको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको संकल्प यात्रा आइतबार पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन भएको हो । अभियानको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा फहराउनुभयो । चिवाभञ्ज्याङ पुगेर अध्यक्ष ओलीले जंगे पिलरमा चन्द्र-सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा फहराउनुभएको हो । भारतसँगको सिमाना झुलाघाटमा अध्यक्ष ओलीले झण्डोत्तोलन गरेर अभियानको उद्घाटन गर्नुभएको थियो ।
अध्यक्ष ओलीले संकल्प यात्राको क्रममा स्थानीयको समस्या पहिचान गरी समाधानको उपाय पनि खोजी गरिएको बताउनुभयो । यात्राको अन्तिम दिन पाँचथर पुगेर ओलीले यात्राको क्रममा स्थानीयसँग कुरा गरेर धेरै जानकारी लिन सकिएको उल्लेख गर्नुभयो । ‘हामीले स्थानीयसँग कुरा ग¥यौँ, स्थानीयकै समस्या बुझ्यौँ, उहाँहरूकै अपेक्षा अनुसारको समाधान पहिल्याउने बाटो खोज्यौँ,’ उहाँले भन्नुभयो, ‘यो यात्रामा सहभागी सबैलाई धन्यवाद ।’ यात्रा बिथोल्न विकासविरोधी शक्तिले प्रयत्न गरे पनि नेता कार्यकर्ताको अदम्य साहसबाट यात्रा सफल भएको उहाँले बताउनुभयो । झुलाघाटबाट सुरु भएको एमालेको यात्रा पूर्वी नेपाल प्रवेश गर्नेबित्तिकै पहिचानवादीहरूले अवरोध प्रयास गरेका थिए ।
कोशी प्रदेशको नामकरणलाई लिएर आन्दोलनरत समूहले विभिन्न ठाउँमा एमालेको कार्यक्रम विथोल्ने प्रयास गरेको थियो । यसै क्रममा अध्यक्ष ओलीमाथि नै आक्रमण प्रयास भएको थियो । केही ठाउँमा उहाँलाई कालो झण्डा देखाउने प्रयाससमेत गरिएको थियो ।
एमाले महासचिव शंकर पोखरेलले संकल्प यात्रा समापन गरिए पनि नेपाली राजनीति र समाजमा यसले पारेको प्रभाव र सन्देशबारे विमर्श जारी रहने बताउनुभयो । कोशी प्रदेशमा नामकरणसँग असहमत पक्षले यात्रालाई अवरोध सिर्जना गर्ने कोसिस गरे पनि त्यो विफल भएको उहाँले बताउनुभयो । ‘भय र आतंकको वातावरण सिर्जना गर्ने प्रयास गरे । मंसिर ३० र पुस १ गते बन्दको घोषणासमेत गरे,’ उहाँले भन्नुभयो, ‘तर, यात्रा निर्वाध रूपमा अघि बढिरह्यो । जनताको अपार माया र सहभागिता कोशी प्रदेशमा आयोजना गरिएको कार्यक्रममा झनै छचल्कियो ।’
एमालेले आफ्नो सांगठनिक स्थिति थाहा पाउन १० महिनाअघि गरेको ‘मिसन ग्रासरुट’ अभियानपछि जनस्तरसम्म पुग्न भन्दै संकल्प यात्राको ‘कन्सेप्ट’ ल्याएको थियो । तराईका राजमार्ग केन्द्रित पार्टी कार्यक्रम गर्दै आएको एमालेले यो अभियानमा भने आफ्नो पकड रहेको मध्यपहाडी क्षेत्र छिचोल्ने गरीको रुट तय गरेको थियो । मूलतः ‘मध्यपहाडी क्षेत्रका बस्तीहरू पातलिए’ भन्ने चिन्ताले सुरु गरेको अभियानको अन्तर्यमा ‘मिसन २०८४’ अन्तर्गतको कार्यक्रम ‘लञ्च’ गरेको भन्ने बुझाइ राजनीतिक वृत्तमा छ ।
राजनीतिक दलहरूले भन्दै आएको मिसन ८४ कै झल्को दिने गरी ओलीले प्रत्येक ठाउँका भाषणमा ‘एमालेलाई बहुमत’ भन्ने शब्द छुटाउनुभएन । प्रायः हरेक सभामा ओलीले एमालेलाई बहुमत नदिई परिवर्तन सम्भव नहुने दोहो¥याउनुभयो ।
ओलीको अभूतपूर्व सक्रियता
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा अभियान सञ्चालन गरेको थियो । यात्रामा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहभागी थियो ।
अभियानमा अध्यक्ष ओलीको खटाइ र सक्रियता गजबको थियो । मंसिर अन्तिमको चिसोमा उहाँले रात–दिन यात्रा गर्नुभयो । बिहानदेखि रातिसम्म सभा, सम्मेलन र भेटघाटमा उहाँ व्यस्त देखिनुभयो । एमालेका अधिकांश शीर्षस्थ नेता सहभागी अभियान अध्यक्ष ओलीमय बन्यो । एमालेले कार्यक्रमको प्रारूप नै ओली केन्द्रित बनाएको थियो । अरू नेताहरूले उहाँलाई पछ्याइरहेको मात्रै देखियो । उद्घाटन र समापनबाहेक हरेक कार्यक्रममा अध्यक्ष ओलीले मात्रै सम्बोधन गर्नुभयो । अरू नेताहरूले बोल्नुभएन । एमालेले अभियानको प्रारूप नै यसैगरी बनाएको थियो । ओलीको सक्रियताको भने प्रशंसा गर्न लायक रह्यो । ओलीले उमेर र रोगलाई पन्छाएर निरन्तर सयौँ-हजारौँसँग संवाद र दैनिक आयोजना हुने सभाहरूमा सक्रियतापूर्वक सहभागिता जनाउनुभयो । यो ओलीमा देखिएको आत्मविश्वास हो ।
‘देशलाई अलपत्र छाड्नुहुन्न, एमालेले निकास दिनुपर्छ’
एमालेलाई कमजोर बनाउँछु भन्ने शक्तिलाई संकल्प यात्राले गतिलो जवाफ दिएको अध्यक्ष ओलीले बताउनुभयो । आइतबार पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई अलमल्याउन सक्छौँ भन्नेहरूलाई एमालेको संकल्प यात्राले चुनौती दिएको बताउनुभयो । ‘जनतालाई अलमल्याएर एमालेलाई कमजोर बनाउँछु भन्ने शक्तिलाई उत्साहले जवाफ दिएको छ । प्रमुख पार्टी भएर भएन । बहुमत ल्याउनलाई मिसन ८४ भनेका छौँ,’ उहाँले भन्नुभयो, ‘सरकारमा एमाले हुँदा विकास हुन्छ, नहुँदा केही नहुने रहेछ ।’ मुलुकको विकासका लागि एमालेले एकल बहुमत ल्याउनुपर्ने उहाँले बताउनभयो ।
अध्यक्ष ओलीले समृद्धिका लागि संकल्प यात्रा शतप्रतिशत सफल भएको दाबी गर्नुभएको छ । आइतबार संकल्प यात्राको अन्तिम दिन पाँचथरको चिवाभञ्ज्याङ पुगेर उहाँले अभियानले पार्टीलाई वैचारिक हिसाबले समृद्ध बनाएको बताउनुभयो । ‘सबैको एउटा निष्कर्ष अब देशको राजनीति यसैगरी अलपत्र अवस्थामा पर्न दिनु हुँदैन । अब देशको राजनीति एउटा सही बाटो र निकास दिनुपर्छ । अलमलमा देशको समय खेर फाल्न दिनुहुँदैन,’ उहाँले भन्नुभयो, ‘यहाँ राष्ट्रको समय खेर गइरहेको छ । जनताको एउटा पिढीको भविष्य खेर गएको छ । देशलाई जोगाउन संकल्प यात्राले असाधारण योगदान गरेको छ ।’
‘देशको राजनीतिले सही बाटो पक्रन आवश्यक’
एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको राजनीति यसैगरी अलपत्र अवस्थामा चल्न नहुने बताउनुभएको छ । पाँचथरको चिवाभञ्ज्याङमा संकल्प यात्रा समापन गर्दै अध्यक्ष ओलीले अब देशको राजनीतिले सही बाटो पक्रन जरुरी रहेको बताउनुभयो । ‘अलमलमा राष्ट्रको समय खेर फाल्नु हुँदैन । यहाँ राष्ट्रको समय खेर गइरहेको, देशको समय खेर गइरहेको छ । जनताको एउटा पिढी खेर गइरहेको छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘आउँदो पिढीको जिन्दगी धरापतर्फ धकेलिँदै गएको छ । ओलीले यस्तो स्थितिबाट देशलाई जोगाउन संकल्प यात्राले असाधारण योगदान छ । नेकपा एमाले चुनौतीहरूको सामना गर्न सक्छ भन्ने अर्को दृष्टान्त हो संकल्प यात्रा । एमाले अरूले सोच्न नसक्ने कामहरू गर्न सक्छ । यात्रा शतप्रतिशत सफल भएको छ ।’
एमालेप्रति जनताको उत्साह र भरोसा धेरै छ : पाण्डे
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको बताउनुभएको छ । यात्रामा पार्टीका कार्यकर्ताभन्दा नागरिकहरू स्वागतका लागि आएको भन्दै नागरिकको विश्वासलाई पार्टीले राजनीतिमा परिणत गर्न प्रयास गर्नुपर्ने बताउनुभयो । ‘पश्चिमदेखि पूर्वसम्म पुग्दा एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको पाएँ । अहिले जनताहरू धेरै स्वागतका लागि आएको पायौँ । त्यो सकारात्मक कुरा हो,’ उहाँले भन्नुभयो, ‘जनताको विश्वासलाई पार्टीले राजनीतिमा परिणत गर्न प्रयास गर्नुपर्छ ।’
मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणका लागि सरकारले बेवास्ता गरेको आरोप लगाउनुभएको छ । पछिल्लो समय मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट निकासा नगरेको उहाँको आरोप छ । मध्यपहाडी लोकमार्गका केही ठाउँमा बजेट नै निकासा नगरेको पाइएको उहाँले बताउनुभयो । सरकारले हेलचेक्र्याइँ अन्त्य गरी तत्काल लोकमार्गका लागि बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाइ छ । ‘पछिल्लो समय मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट हालेको छैन । लोकमार्गलाई छिटो सम्पन्न गर्ने र यहाँका मानिसको जीवनस्तर उठाउन गर्नुपर्ने प्रयासमा जुन किसिमको ध्यान दिनुपर्ने हो त्यो दिइरहेको पाइएको छैन,’ उहाँले भन्नुभयो, ‘केही ठाउँमा त बजेट निकासा भइरहेको छैन । सरकारले हेलचेक्र्याइँलाई अन्त्य गरी तुरुन्तै पैसा निकासा गर्नुपर्छ ।’
मध्यपहाडबाट भइरहेको बसाइँसराइ ठूलो चुनौती रहेको उहाँले बताउनुभयो । यसको समाधानका लागि स्थानीय विकासमा केन्द्रित हुन आवश्यक रहेको उहाँको भनाइ छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता