काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् सेयर बजारमा लचिलो नीति अख्तियार गरेका कारण यस साता सेयर बजार १२८.५३ अंकले बढेको छ । साताको सुरुमा नेप्से १८६६.०७ अंकमा रहेकोमा साताको अन्त्यमा बढेर १९९४.६० अंकमा पुगेको छ । साताभर १६ अर्ब ४४ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस साता सोनापुर सिमेन्टको सबैभन्दा धेरै ७४ करोड ५७ लाखको कारोबार भएको छ भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ५५ करोड ४७ लाख, शिवम् सिमेन्ट ५४ करोड ९९ लाख, सिटिजन्स लाइफ इस्योरेन्स ४२ करोड ४ लाख तथा माउण्टेन इनर्जीको ४१ करोड ३५ लाखको कारोबार भएको छ ।
दोल्ती पावरको सेयर मूल्य सर्वाधिक ५५.९ प्रतिशत बढेको छ भने बोटलर्स नेपालको ४६.४, मोलुङ हाइड्रोको ३७.७, हाथवे इन्भेष्टमेन्टको ३४.५१ तथा नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ३१ प्रतिशत बढेको छ ।
तर, छिमेक लघुवित्तको सेयर मूल्य सर्वाधिक २.५८ प्रतिशतले घटेको छ भने एनआइसी एसिया ब्यालेन्स फण्डको मूल्य १.८, स्वावलम्बन लघुवित्त १.५४ प्रतिशत तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयरको मूल्य १.०२ प्रतिशतले घटेको छ ।
सात समूहगत सूचकतर्फ हाइड्रोपावर समूह सर्वाधिक १३.१७ प्रतिशतले बढेको छ भने फाइनान्स समूह ९.३८, उत्पादन तथा प्रशोधन समूह ९.२२, विकास बैंक समूह ८.८४, निर्जीवन बिमा समूह ८.३५ तथा होटल समूह ८.१६ र लघुवित्त समूह ८.१५ प्रतिशतले बढेको छ ।
साथै यस साता नेप्सेमा सिनर्जी पावर डेभलपमेन्टको ५० प्रतिशत हकप्रद सेयर, अरुण काबेली पावरको सय प्रतिशत हकप्रद सेयर, मुक्तिनाथ कृषि कम्पनीको आइपिओ, कुमारी बैंकको ऋणपत्र र हिमालयन क्यापिटलको ८०-२० म्युचुअल फण्ड सूचीकृत भएका छन् ।






