काठमाडौं । विभिन्न १६ बैंक तथा बिमा कम्पनीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै विभिन्न बैंक तथा बिमा कम्पनीले एफपिओको प्रिमियमबाट उठेको आयमा लाग्ने कर र मर्जर तथा प्राप्तिबाट हुने आयमा लाग्ने कर तिर्न थालेका छन् । बैंक तथा बिमा कम्पनीहरूले शुक्रबार एफपिओको प्रिमियम र मर्जरबापतको ११ अर्ब तीन करोड रुपैयाँ राजस्व बुझाएका हुन् । ३० बिमा तथा बैंकले ११ अर्ब तीन करोड रुपैयाँ राजस्व बुझाइसकेको राजस्व कार्यालयका निर्देशक प्रकाश पौडेलले जानकारी दिनुभएको छ । शनिबार पनि एफपिओको प्रिमियम र मर्जरमा भएको आम्दानीमा कर पाउनेछन् । जसका लागि आन्तरिक राजस्व विभागले मातहतका कार्यालयलाई शनिबार पनि कार्यालय खोल्न निर्देशन दिएको छ ।
महालेखा परीक्षकको कार्यालयले एफपिओको प्रिमियम र बार्गेन पर्चेज गेनमा कर छली भएको भन्दै सरकारलाई कर उठाउन निर्देशन दिएको थियो । महालेखाको उक्त निर्देशनपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेटमार्फत् एफपिओको प्रिमियम र बार्गेन पर्चेज गेनको कर तिर्नुपर्ने व्यवस्था गर्दै मंसिरसम्ममा कर तिरेमा जरिवाना छुट हुने घोषणा गर्नुभएको थियो । तर, उक्त व्यवस्थाविरुद्ध बैंक तथा बिमा कम्पनीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले बिहीबार रिट खारेज गर्दै एफपिओको प्रिमियमबाट उठेको आयमा कर लाग्ने तथा मर्जर तथा प्राप्तिबाट हुने आयमा कर लाग्ने आदेश दिएको छ । अदालतको आदेशसँगै यसअघि प्रिमियममा एफपिओ जारी गरेका ११ कम्पनीले आयकरबापत छ अर्ब दुई करोड ३१ लाख ९३ हजार ३५ रुपैयाँ राज्यको खातामा जम्मा गर्नुपर्नेछ । कम्पनीहरूले विभिन्न समयमा जारी गरेको एफपिओबाट प्रिमियमबापत २० अर्ब सात करोड ७३ लाख १० हजार एक रुपैयाँ १५ पैसा संकलन गरेको देखिन्छ ।
तथ्यांकअनुसार ११ कम्पनीमध्ये छवटा वाणिज्य बैंक रहेका छन् भने तीनवटा बिमा कम्पनी रहेका छन् । एफपिओ निष्कासन गर्ने वाणिज्य बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, नेपाल बैंक र सिटिजन्स बैंक रहेका छन् भने बिमा कम्पनीतर्फ नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन् । फाइनान्स कम्पनीअन्तर्गतको पोखरा फाइनान्स र जलविद्युत् समूहको बुटवल पावर कम्पनीले पनि प्रिमियममा एफपिओ जारी गरेका थिए ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले सय रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता सेयर एक हजार दुई सय ९० रुपैयाँमा एफपिओ जारी गरेको थियो । बैंकले कुल २५ लाख ५८ हजार एक सय ४० कित्ता सेयर निष्कासन गरेको थियो । जसमा बैंकले प्रिमियमबापत प्राप्त रकम तीन अर्ब चार करोड ४१ लाख ८६ हजार छ सय रुपैयाँबाट ३० प्रतिशतका दरले ९१ करोड ३२ लाख ५५ हजार नौ सय ८० रुपैयाँ तिर्नुपर्नेछ ।
नेपाल एसबिआई बैंकले सय रुपैयाँ अंकित सेयरमा आठ सय ८४ रुपैयाँ प्रिमियम रकम जोडेर प्रतिकित्ता नौ सय ८४ रुपैयाँमा एफपिओ निष्कासन गरेको थियो । बैंकले ६७ हजार सात सय ६७ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमा बैंकले प्रिमियमबापत पाँच करोड ९९ लाख छ हजार २८ रुपैयाँ संकलन गरेको थियो भने ३० प्रतिशतका दरले आयकर रकम एक करोड ७९ लाख ७१ हजार आठ सय आठ रुपैयाँ हुन्छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले सय रुपैयाँ अंकित दरमा पाँच सय एक रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता छ सय एक रुपैयाँका दरले ९० लाख ६९ हजार तीन सय ८८ कित्ता एफपिओ निष्कासन गरेको थियो । बैंकले चार अर्ब ५४ करोड ३७ लाख ६३ हजार तीन सय ८८ रुपैयाँ प्रिमियम संकलन गरेको थियो । बैंकले प्रिमियमबापत ३० प्रतिशतका दरले एक अर्ब ३६ लाख ३१ हजार दुई सय ९० रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।
एनएमबी बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा दुई सय ३३ रुपैयाँ प्रिमियम थपेर तीन सय ३३ रुपैयाँका दरले एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता एफपिओ निष्कासन गरेको थियो । एफपिओबाट बैंकले दुई अर्ब ६५ करोड ९७ लाख ३२ हजार नौ सय ७९ रुपैयाँ प्रिमियम संकलन गरेको थियो भने आयकरबापत ७९ करोड ७९ लाख १९ हजार आठ सय ९४ रुपैयाँ राज्यलाई बुझाउनुपर्ने देखिन्छ ।
नेपाल बैंकले सय रुपैयाँ अंकित मूल्यमा एक सय ८० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता दुई सय ८० रुपैयाँका दरले एक करोड ७६ लाख ८४ हजार आठ सय ५८ कित्ता एफपिओ जारी गरेको थियो । जसबाट बैंकले तीन अर्ब १८ करोड ३२ लाख ७४ हजार चार सय ४० रुपैयाँ प्रिमियम संकलन गरेको थियो । बैंकले ३० प्रतिशत आयकरबापत ९५ करोड ४९ लाख ८२ हजार तीन सय ३२ रुपैयाँ कर तिर्नुपर्ने देखिन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements