काठमाडौं । एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा सञ्चालनमा रहेको एनसेल टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम देशको स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने पद्धतिमा एउटा कोशेढुंगा र क्रान्ति नै साबित भएको कम्पनीले जनाएको छ । कार्यक्रमको सफलतासँगै बागमती प्रदेश सरकारले पनि टेलिमेडिसिन सेवालाई अन्य अस्पताल र स्वास्थ्य केन्द्रमा पनि लागू गरेको छ ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सन् २०१९ मा प्रविधि तथा तथ्यांंकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण क्षेत्रका सेवाबाट वञ्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम सुरु गरेको थियो । सोको कार्यान्वयनसँगै ग्रामीण भेगका १५ हजार बढी घरधुरीका ८० हजार बढी स्थानीयवासीले गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच पाएको कम्पनीले जनाएको छ ।
सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थांगसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका धुलिखेल अस्पतालअन्तगर्तका चार सामुदायिक स्वास्थ्य केन्द्रमार्फत् कार्यक्रम सञ्चालनमा रहेको छ । स्थानीयले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोगलगायतका रोगको उपचार सेवा पाइरहेका छन् । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भन्नुभयो, ‘यो कार्यक्रमले हामीले समुदायको विकासमा कसरी योगदान पुर्याएका छौँ भन्ने उजागर गर्छ । यहाँ म ‘हामी तपाईंकै लागि’ भन्ने हाम्रो ब्राण्ड थिम पुनः दोहोर्याउन चाहन्छु । यसको अर्थ एनसेल नेपाल र नेपालीको सेवा र विकासमा योगदान पुर्याउन प्रतिबद्ध छ ।’
धुलिखेल अस्पतालका अनुसार धुलिखेल नगरपालिका र पाँचखाल नगरपालिकाले पिएचपीलाई लागू गरेका छन् भने अन्य नगरपालिकाले चासो राखेका छन् । चारवटा सामुदायिक स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवाको सफल सञ्चालनपछि बागमती प्रदेशले धुलिखेल अस्पतालसँगको सहकार्यमा दुर्ईवटा ग्रामीण अस्पताल र तीनवटा स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवाको सोही मोडललाई कार्यान्वयनमा ल्याएका छन् ।
धुलिखेल अस्पतालका पब्लिक हेल्थ एण्ड कम्युनिटी प्रोग्राम डाइरेक्टर डा. विराज कर्माचार्यले भन्नुभयो, ‘एनसेल र धुलिखेल अस्पतालको यस सहकार्यले दूरदराजका समुदायलाई स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने पद्धतिमा एउटा क्रान्ति नै ल्याएको छ ।’







Breaking news with related posts