ललितपुर । फोनपेले सञ्चालक समितिको अध्यक्षमा सशिन जोशीलाई नियुक्त गरेको छ । मंगलबार उहाँले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्राबाट शपथ लिई पदवहाली गर्नुभएको छ । यसअघि उहाँ फोनपेको स्वतन्त्र सञ्चालक हुनुहुन्थ्यो । जोशी जोखिम व्यवस्थापन, रणनीतिक योजना र अन्तर्राष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरका रूपमा परिचित हुनुहुन्छ । दुर्ई दशकभन्दा बढी समय उहाँ नेपालको प्रमुख बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
पदभार ग्रहण गर्र्दै नवनियुक्त अध्यक्ष जोशीले ‘फोनपे जस्तो संस्थाको अध्यक्षका रूपमा काम गर्न पाउँदा आफूलाई निकै खुसी लागेको भन्दै अध्यक्षका रूपमा आफूले फोनपे संस्थालाई अझै बढी सवल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाका रूपमा विकास गर्न व्यवस्थापनलाई मार्गनिर्देशन र सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ ।
फोनपे नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटरः पिएसओ) का रूपमा इजाजतपत्र प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो । फोनपेले अन्तर-बैंक व्यक्ति-देखि-व्यक्ति (पर्सन टु पर्सनः पिटुपी) र व्यक्ति-देखि-व्यवसायी (पर्सन टु मर्चेन्टः पिटुएम) लेनदेनहरू यसको इन्टरअपरेबल नेटवर्क र मोबाइल प्लेटफर्महरूमार्फत् सुविधा दिन्छ । नेपालमा आइएसओ २७००१ : २०१३ प्रमाणित फोनपेले बैंक र वालेट ग्राहकहरूका साथै व्यवसायीहरूलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल भुक्तानी सेवाहरू दिँदै नगदरहित अर्थतन्त्रमा योगदान गरिरहेको छ । फोनपे भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन प्रविधिको प्रयोगमार्फत् मोबाइल भुक्तानी नेटवर्कमा आविष्कारहरू ल्याउनमा केन्द्रित छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता