नारायण भण्डारी/पुरन साह/हिटा
काठमाडौं, जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले हरेक दिन सत्ता गठबन्धन तोडेर सरकार ढाल्ने प्रयास भएको आरोप लगाउनुभएको छ । ‘प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रातदिन गठबन्धन तोड्ने र सरकार ढाल्ने खेल भइरहेको आरोप लगाउनुभएको हो । ‘एकथरीले अहिले रातदिन लागेर विभिन्न किसिमले गठबन्धन तोड्ने र सरकार ढाल्ने अनि बनाउने जस्ता कसरत गरिरहेका छन्’ प्रचण्डले भन्नुभयोे, ‘तर मान्छेहरू लाग्दैमा केही हुनेवाला छैन । हाम्रा नियमितका बैठक र आपसी विश्वासले यो गठबन्धन पूरा अवधि नै जान्छ ।’ यद्यपि, सरकारलाई प्रभावकारी बनाएर सञ्चालन गर्न सबै प्रयत्न लगाउने उहाँले बताउनुभयो ।
यस्तै, प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकारका कामबाट विक्षिप्त बनेकाहरू भ्रम र जालझेलको षड्यन्त्रमा लागेको टिप्पणी गर्नुभएको छ । काठमाडौंको गोकर्णेश्वरमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तर्राष्ट्रिय कुटनीतिका क्षेत्रमा राम्रा कामहरू अघि बढाएपछि व्यवस्थाविरोधी शक्तिहरू अत्तालिएको बताउनुभयो । उहाँले सरकार बनेको बेलादेखि नै सरकारविरुद्ध लागेकाहरू अहिले झनै अत्तालिएर संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेको बताउनुभयो । ‘एकथरी व्यक्तिहरूले सरकार गठन भएदेखि नै नेपाल श्रीलंका बन्ने भयो, उत्पातै हुने भयो, आकाशै खस्ने भयो भन्ने किसिमले प्रचार गरे ।’ उहाँले भन्नुभयोे, ‘तर सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा राम्रा काम गर्दै गएपछि यसरी कुप्रचार गर्नेहरू विक्षिप्त बनेर अनर्गल प्रचारबाजी र सरकारलाई बदनाम गर्ने षड्यन्त्रमा लागेका छन् । यतिले मात्रै नपुगेर संघीयता, धर्मनिरपेक्षता, जाति, वर्ग क्षेत्र लिंगका अधिकारविरुद्ध लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्न पुगेका छन् । संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेका छन् ।’
सरकारले सामाजिक न्यायका पक्षमा इतिहासकै महत्वपूर्ण निर्णय गरेको उहाँले बताउनुभयो । सरकारले युगौँदेखिका सामन्ती उत्पीडनहरूको अन्त्य गर्न मिटरब्याज पीडितहरूका पक्षमा कानुन नै दिएर सामन्ती दलालहरूको पीडाबाट हजारौँ जनतालाई मुक्ति दिन सफल बनेको उहाँको जिकिर थियो । प्रधानमन्त्री प्रचण्डले सुशासनका पक्षमा सरकारले ठूलाठूला भ्रष्टाचारका काण्डहरूको छानबिन अघि बढाएको, भूमाफिया र तस्करीविरुद्ध नयाँ अभियान चलाएको, अन्तर्राष्ट्रिय क्षेत्रमा सफल कूटनीतिक अभ्यास गरेको र त्यसमा पनि खासगरी जलवायु न्यायका क्षेत्रमा निर्णायक पहल गरेको बताउँदै यी कामहरूबाट व्यवस्थाविरोधी शक्तिहरू छटपटिएको बताउनुभयो ।
अर्थतन्त्रमा देखिएको संकटलाई ठूलो देखाएर नेपालमा के के न हुने हो भन्दै जनतालाई आतंकित बनाएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सबै क्षेत्रसँग निरन्तर छलफल र संवादको प्रयासमार्फत अर्थतन्त्रमा देखिएको बाह्य र आन्तरिक दबाब कम गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने वातावरण बनाएपछि अराजक तत्वहरू झनै अत्तालिएको बताउनुभयो ।
संघीयता बचाउन सबै दल मिल्नुको विकल्प छैन : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता कार्यान्वयनका लागि राष्ट्रिय सहमति अपरिहार्य रहेको भन्दै त्यसका लागि सबै दल मिल्नुको विकल्प नरहेको बताउनुभएको छ । धनुषाको क्षेत्र नं. २ औरही गाउँपालिकाको औरहीमा त्यस क्षेत्रका पूर्वसभापति स्व. राजकिशोर सिंहको शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले आफू बढी कुरा गर्न नजान्ने भन्दै संघीयता कार्यान्वयन गर्न राष्ट्रिय सहमतिका लागि प्रयास गर्नुपर्ने बताउनुभयो । दुईदेखि तीन मिनेट मात्र बोल्नुभएका उहाँले देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा गइसकेकाले संघीयताको सफल कार्यान्वयनका लागि राष्ट्रिय सहमति भए सहज हुने भएकाले आफू त्यसका लागि पहल गर्ने बताउनुभयो ।
त्यसअघि बोल्नुभएका पार्टीका पूर्व-उपसभापति विमलेन्द्र निधिले कुनै पनि सरकार सञ्चालनका लागि सुरक्षा र प्रशासनिक निकाय नभई नहुने मान्यतासमेत नेपालको प्रदेश सरकारका हकमा हुन नसक्नु दुःखद रहेको जिकिर गर्नुभयो । उहाँले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेश सरकारहरूलाई तत्कालै प्रहरी संगठन हस्तान्तरण गरी संघीयता कार्यान्वयको पहिलो कदम अगाडि चाल्न ध्यानाकर्षण गराइसकेको बताउनुभयो । उहाँले संघीयता कार्यान्वयका लागि तत्कालै तीन मुख्य काम प्रदेश सरकार मातहत प्रहरी संगठन, प्रशासनिक संरचना र राजनीतिक, आर्थिक अधिकार सहितको सवल स्थानीय तहको सुनिश्चितता गर्न संघीय सरकारसँग माग गरेको र पटक-पटक भनेको पनि बताउनुभयो ।
सो अवसरमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पनि संघीयता कार्यान्वयनमा आनाकानी गरिरहेको वर्तमान अवस्थाका विरोधी दलहरूलाई मधेशका जनताले चिन्नुपर्ने बताउनुभयो । कार्यक्रममा पार्टीका मधेश प्रदेशका सभापति तथा मधेश सरकारमा पार्टीका अगुवा कृष्ण यादव नेताहरू आनन्दप्रसाद ढुंगाना, रामकृष्ण यादव सहितका नेताले सम्बोधन गर्दै अथक प्रयास, सर्वदलीय सहमति र शहीदको बलिदानीबाट प्राप्त संघीयता बचाउन सबै दल एकजुट हुनुपर्ने धारणा राख्नुभएको थियो ।
देशको रक्षा गर्न एमालेको एकल बहुमत आवश्यक : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको जिकिर गर्नुभएको छ । झुलाघाट-चिवाभञ्ज्याङ यात्राअन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशको रक्षा गर्नसक्ने भन्दै अब दिगो ढंगले देशको रक्षा गर्न र समृद्ध मुलुक बनाउन एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताउनुभयो । अध्यक्ष ओलीले आन्तरिक र बाह्य शक्ति मिलेर एमाले पार्टी फुटाउने प्रयास भएको र कमजोर बनाउने षड्यन्त्र भए पनि लोकप्रिय पार्टी बन्न सफल भएको उल्लेख गर्नुभयो ।
एमाले सरकारले गरेका कामबाट तर्सेर विभिन्न शक्ति मिलेर एमालेलाई सरकारबाट हटाइएको उहाँको दाबी छ । ‘एमाले सरकारमा भएका बेला गरेका कामले देशमा अरू कुनै वैकल्पिक शक्ति नरहेको स्पष्ट भयो । एमालेले नाकाबन्दीको सामनादेखि उत्तर दक्षिण सडक लगायतका विकासमा काम गरेको सबैलाई थाहै छ’, ओलीले भन्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता