काठमाडौं । नेपाली कांग्रेसले पार्टीको मुखपत्र नेपाल पुकार पुनःप्रकाशन सुरु गरेको छ । त्रैमासिक रूपमा प्रकाशित गर्ने गरी आइतबार नयाँ अंक सार्वजनिक गरिएको हो । पार्टी मुख्यालय सानेपामा एक कार्यक्रमको आयोजना गरी नेपाल पुकार पुनःबजारमा ल्याइएको छ । नेपाल पुकार विसं. २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको थियो । नेपाली कांग्रेस स्थापनाअघि कांग्रेसका दुई धार नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसले ‘युगवाणी’ र ‘नेपाल पुकार’ छुट्टाछुट्टै प्रकाशित गर्दै आएका थिए । २००६ सालमा दुई पार्टीको एकीकरण भएपछि एउटै पत्रिका पार्टीको मुखपत्र बनाउने गरी नेपाल पुकारको प्रकाशन गरिएको थियो । युगवाणीको प्रकाशन भने पार्टी एकीकरणपछि रोकिएको थियो । साढे पाँच दशकभन्दा बढी मुखपत्रका रूपमा प्रकाशित नेपाल पुकार २०५४ सालदेखि बन्द भएको थियो ।
पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भन्नुभयो, ‘अरू प्रतिस्पर्धी पत्रिका आएपछि आफूलाई अझै परिष्कृत गर्नुपर्नेमा पत्रिका नै बन्द गरिएको रहेछ ।’ पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको अगुवाइमा नेपाल पुकार पुनः प्रकाशन थालिएको हो । पुनः प्रकाशित नेपाल पुकारको नयाँ अंकको सामग्रीमा गत २४ भदौदेखि ३ असोजसम्म कांग्रेसले गरेको बिपी साहित्य महोत्सवलाई प्राथमिकतामा राखिएको छ । १३२ पृष्ठको रहेको उक्त विशेषांक बिपी साहित्य महोत्सव विशेष रहेको छ । प्रचार विभागले निकालेको पत्रिकामा सम्पादक मण्डलमा गोपाल झा, इन्द्र रिजाल, लीला दाहाल र दीपेन्द्र वान्तवालगायत हुनुहुन्छ ।
कांग्रेसलाई जनतामा पुर्याउनमा नेपाल पुकारको उल्लेख्य भूमिका छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्व-प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई जनतामा पु¥याउनमा नेपाल पुकारको उल्लेख्य भूमिका रहने बताउनुभएको छ । आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई लोकप्रिय बनाउन विगतमा पनि नेपाल पुकारको भूमिका उल्लेख्य रहेको बताउनुभएको हो । नेपाल पुकारले कांग्रेसले गरेका काम कारबाहीहरू नागरिकमा लैजान महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सभापति देउवाले भन्नुभयो, ‘नेपाली कांग्रेसलाई अझ बढी लोकप्रिय बनाउनुमा, नेपाली कांग्रेसलाई अझ बढी जनतामा पुर्याउनमा नेपाल पुकारको महत्व धेरै नै छ । सबैले नेपाली कांग्रेसको इतिहास थाहा पाउनका लागि नेपाल पुकारले महत्वपूर्ण भूमिका खेल्छ । मलाई विश्वास छ, नेपाली कांग्रेसका सबैले यो पत्रिका पढ्नेछन् । आफ्नो धारणा पनि बनाउनेछन् । नेपाली कांग्रेसले गरेका कामहरूलाई यसले जनतामाझ अझ बढी लोकप्रिय बनाउनेछ ।’
कांग्रेसका लागि मिसन ८४ होइन, मिसन समुन्नत नेपाल : उपसभापति गुरुङ
कानुनमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको मिसन सुशासन र समुन्नत नेपाल रहेको बताउनुभएको छ । आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उपसभापति गुरुङले नेपालको राजनीतिमा सुशासनको खडेरी परेको समेत उल्लेख गर्नुभयो । अहिले केही राजनीतिक दलहरू मिसन २०८४ भनेर हिँडिरहेको भए पनि कांग्रेसको मिसन सुशासन र समुन्नत नेपाल रहेको जिकिर गर्दै उपसभापति गुरुङले भन्नुभयो, ‘आज नेपालको राजनीतिमा सुशासनको खडेरी परेको छ । त्यस कारणले गर्दा अब नेपाललाई फेरि सुशासनमा पुर्याउन, सुशासनको रोडम्यापमा ल्याउन जरुरी छ । आज हामी एक प्रकारले दिक्क पनि भइसकेका छौँ । जति सफा गर्न खोज्यो उति नै फोहोर, जति फाइल खोल्दै गयो, उति नै फोहोर मात्र देखिन्छ, अप्ठ्यारो छ नि । त्यसकारले गर्दा पनि नेपाली कांग्रेसले लिने बाटोको सन्दर्भमा सुशासन नै हो । अहिले कता कता सुन्छु नि म, मिसन २०८४ । तर, म भन्छु मिसन सुशासन नै हो, मिसन समुन्नत नेपाल नै हो नेपाली कांग्रेसका लागि ।’ उपसभापति गुरुङले नेपाली राजनीति, संसदीय पद्धतिमा र बहुदलमा एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गरेर बस्ने डरलाग्दो परिपाटी देखिएको टिप्पणीसमेत गर्नुभयो । गुरुङले भ्रष्टाचारको फाइल खोल्दा खोल्दै हात गलिसकेको दाबी गर्दै भन्नुभयो, ‘भ्रष्टाचारको फाइल खोल्दै गयो, अर्को आउँछ । फोहोरको डंगुर रहेछ, खोल्दै जाँदा हात गलिसक्यो ।’
महामन्त्री थापाको प्रश्न : ‘कांग्रेस सरकारमा भएको बेला यति धेरै कुशासनका घटना किन ?’
सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरू कुशासनका कारण आक्रान्त भएको बताउनुभएको छ । आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले आजको दिनमा कुशासनबाट नागरिकहरू वाक्कदिक्क भएको बताउनुभएको हो । महामन्त्री थापाले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद भएको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेस सरकारमा भएको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेका छन ? भन्दै प्रश्नसमेत गर्नुभयो । नक्कली भुटानी शरणार्थी काण्ड, ललितानिवास काण्ड र सुन काण्डपछि अहिले फेरि एनसेल काण्डले देश तरंगित भएको उल्लेख गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘कुशासन कि नियतसँग जोडिएको छ कि अयोग्यतासँग जोडिएको छ । शासन हामीले गरिरहेका छौँ । सुशासन हाम्रो वाचा मात्रै होइन, त्यसकै निम्ति जन्मिएको पार्टी हो । त्यसैले हामी सरकारमा भएको बेला, हाम्रो नियन्त्रणमा राजनीति भएको बेलामा, हामी सबैभन्दा प्रभावशाली भएको बेलामा, हामीले भनेको बाटोमा देश हिँडिरहेको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेका छन् ? यति धेरै काण्डहरू किन भइरहेको छन् ? जरामा के छ ? समस्या कहाँनेर छ ? के कारणले गर्दा आएको छ ? मलाई लाग्छ नेपाल पुकारले त्यसको जरामा पुग्नुपर्छ ।’ महामन्त्री थापाले कांग्रेस समुन्नतिको पक्षमा अघि बढ्नुपर्ने पनि बताउनुभयो । पार्टीमा फरक शैलीबाट काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै महामन्त्री थापाले भन्नुभयो, ‘पार्टी फरक आइडी हो भने त्यसअनुसार काम गर्नुपर्छ । जाजरकोट भूकम्प र एक हजार घर बनाउने विषयले क्यालेण्डरअनुसार काम हुन सकेन । क्यालेण्डर रिभाइज गर्दै छौँ ।’
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माको सभापतित्वमा आयोजना भएको लोकार्पण समारोहमा नेपाल पुकार सम्पादक मण्डलको तर्फबाट प्राध्यापक पुरुषोत्तम दाहालले धारणा राख्नुभएको थियो । यस्तै, पूर्व-पदाधिकारीको तर्फबाट गोपालमान श्रेष्ठ, वर्तमान सहमहामन्त्री उमाकान्त चौधरी, पार्टीका पूर्वप्रचार विभाग प्रमुख डा. मीनेन्द्र रिजाल, संविधानसभाका सदस्य दीपक कुइँकेल, समन्वय विभाग प्रमुख नानुमैयाँ बास्तोला, नगरपालिका महासंघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना लगायतले धारणा राख्नुभएको थियो ।
शेखर कोइरालाद्वारा आफू पक्षीय नेताहरूको बैठक
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संस्थापन इतर पक्षको बैठक बोलाउनुभएको छ । राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनलगायत पार्टीको पछिल्लो आन्तरिक समीकरणको विषयमा छलफल गर्न पार्टीभित्र इतर पक्षका नेता डा. कोइरालाले पुस २६ गतेका लागि बैठक बोलाउनुभएको हो । शेखर कोइराला पक्षका एक नेताले दिएको जानकारीअनुसार बैठकमा आफ्नो टिमबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिसभा र राष्ट्रियसभाको सांसदहरूलाई बोलाइएको छ । तर, कोइरालाले आफ्नो टिमबाट निर्वाचित महामन्त्री गगन थापासँग यो बैठकको विषयमा सल्लाह गर्नुभएको छैन । कोशीमा नेता कोइराला पक्षले विद्रोह गरेपछि गगनसँग संवादहीनताको अवस्था छ । महामन्त्री थापाले पछिल्लो समय अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेललगायत युवा पंक्तिलाई समेटेर १५औँ महाधिवेशनलक्षित अर्को टिम निर्माणको गृहकार्य गरिरहनु भएको छ । मंसिर २६ गतेका लागि डा. शेखरले आफूनिकट नेताहरूको बैठक बोलाएको पुष्टि गर्दै महामन्त्री थापानिकट एक नेताले भन्नुभयो, ‘शेखर दाइले बैठक बोलाउनुभएको छ भन्ने मैले पनि सुनेको हुँ । तर, त्यो दिन गगन दाइको उपत्यका बाहिरको कार्यक्रम छ । त्यसैले २६ गतेको बैठकको विषयमा शेखर दाइले गगन दाइसँग सल्लाह नगरेको बुझिन्छ ।’ कांग्रेसको महासमितिको बैठक पनि पुस १६ देखि १९ ललितपुरको गोदावरीमा बस्ने तय भएको छ । तर, बैठकको आन्तरिक तयारी सुरु भए पनि सभापति शेरबहादुर देउवा भने उदासीन देखिनुभएको छ ।






