काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले गरिरहेको प्रयत्न र परिणाम अपूर्ण रहेको स्वीकार गर्नुभएको छ । भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने उहाँले बताउनुभयो । शनिबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउनुभयो । ‘भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रहरूलाई प्रचलित कानुनबमोजिम परिचालन गरिरहेको छ । त्यसको सकारात्मक परिणामसमेत हासिल भएका कारण आमनागरिकमा क्रमशः आशाको सञ्चार हुँदै गएको छ,’ उहाँले भन्नुभयो, ‘यद्यपि, यो प्रयत्न र परिणाम पूर्ण छैन । आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु छ । यसका निम्ति सरकार दृढतापूर्वक अगाडि बढिरहेको तथ्यसमेत म स्पष्ट गर्दछु ।’
‘सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त’
प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको बताउनुभयो । भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य तथा सहयोगमा निवारण गर्ने कार्यमा सरकार प्रयत्नशील रहेको उहाँको भनाइ थियो । निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानुनी व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो । यस्तै, गैरकानुनी ढंगबाट आर्जित सम्पत्ति विदेशबाट पुनः प्राप्तिका लागि कानुनी र संरचनागत प्रबन्ध तयार गरी कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको भन्दै भ्रष्टाचारको प्रकृतिमा प्रविधिको विकाससँगै जटिलता उत्पन्न हुँदै गएका कारण राज्य चनाखो हुनुपर्ने उहाँले बताउनुभयो । ‘भ्रष्टाचार नियन्त्रण गरी सभ्य समाज निर्माण गर्ने कार्यमा राज्यका सबै जिम्मेवार संयन्त्र, निकाय र पदाधिकारीले गम्भीरतापूर्वक आफ्ना कानुनी दायित्वलाई अझ बढी जिम्मेवारीका साथ निर्वाह गर्ने प्रतिबद्धता जरुरी छ,’ उहाँले भन्नुुभयो ।
भ्रष्टाचारप्रति जति चासो छ, त्यति नियन्त्रणमा सक्रियता देखिँदैन : कार्यवाहक आयुक्त सिलवाल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक आयुक्त किशोर सिलवालले भ्रष्टाचारको जालो व्यापक भएकाले प्रभावकारी रूपमा नियन्त्रण हुन नसकेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भन्नेहरूभन्दा अनैतिकहरूको सञ्जाल ठूलो भएको बताउनुभयो । ‘भ्रष्टाचारप्रति जति चासो छ, त्यति नियन्त्रणमा सक्रियता देखिँदैन । भ्रष्टाचारप्रति जति आक्रोश व्यक्त भए पनि नियन्त्रणमा हार्दिक समर्थन छैन,’ सिलवालले भन्नुभयो, ‘देशमा फैलिएको भ्रष्टाचारको जालो व्यापक छ । भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भन्नेहरूको सञ्जालभन्दा अनैतिकहरूको सञ्जाल ठूलो छ । त्यसकारण भ्रष्टाचार नियन्त्रण जति प्रभावकारी हुनुपर्ने हो त्यति हुन सकेको छैन ।’
सरकारी निकायका पदाधिकारीहरूले जिम्मेवारी तथा समयमा निर्णय लिन नसक्दा राज्य र नागरिकलाई अपूरणीय क्षति पुगेको उहाँले बताउनुभयो । दैनिक प्रशासनिक निर्णयबाट हुने कार्यलाई पनि मन्त्रिपरिषद्मा लगेर नीतिगत निर्णय गराउने प्रवृत्ति बढेको उहाँको भनाइ थियो । ‘सरकारी निकाय तथा जिम्मेवार पदाधिकारीहरूले जिम्मेवारी तथा उत्तरदायित्व नलिने, समयमा निर्णय लिन डराउने, निर्णय पन्छाउने, निश्चित स्वार्थ बाझिरहेको समूहको हितमा निर्णय गर्ने, समयमा निर्णय नगर्दा राज्य र नागरिकलाई अपूरणीय क्षति भएको छ,’ उहाँले भन्नुभयो, ‘दैनिक तथा प्रशासनिक निर्णयबाट हुने कामहरू मन्त्रिपरिषद्मा लैजाने र नीतिगत निर्णयको नाममा आफ्नो जिम्मेवारी पन्छाउने गलत प्रवृत्ति सार्वजनिक पदाधिकारीहरूमा देखिएको छ । नीतिगत निर्णयको दायरालाई प्रष्ट रेखांकन गरी कुनै पनि भ्रष्टाचारजन्य क्रियाकलापबाट कोही पनि उम्किन नहुने गरी आवश्यक व्यवस्था मिलाउन जरुरी भइसकेको छ ।’
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा हरेक वर्ष विविध कार्यक्रम गरी मनाइँदै आइएको छ । दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष कार्यक्रम आयोजना गरेको थियो । यस्तै, दिवसका अवसरमा देशका विभिन्न ठाउँमा पनि कार्यक्रमको आयोजना गरिएको थियो । सन् २००३ अक्टोबर ३१ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गर्दै डिसेम्बर ९ का दिन अन्तर्राष्ट्रिय दिवस मनाउने निर्णय गरेको थियो । उक्त महासन्धि २००५ डिसेम्बरदेखि कार्यान्वयनमा आएको हो । नेपालले सन् २०११ मा महासन्धिलाई अनुमोदन गरेको थियो । भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले हरेक वर्ष दिवस मनाइए पनि भ्रष्टाचार रोकिएको छैन । नेपालमा भ्रष्टाचारका नयाँनयाँ रूपहरू देखिँदै आएका छन् ।
मुख्यसचिव डा. वैकुण्ठ अर्यालले दिगो विकासको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताउनुभएको छ । शनिबार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले दिगो विकासको लक्ष्य भेट्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताउनुभएको हो । भ्रष्टाचार नियन्त्रण गर्न सकिए उक्त रकम विकासका कार्यक्रममा खर्च सकिने उहाँको भनाइ थियो । भ्रष्टाचार र अनियमितताकै कारण आयोजना कार्यान्वयन र निर्माणमा ढिलाइ हुने गरेको उहाँले बताउनुभयो । मुख्यसचिव अर्यालले रोजगारी सिर्जना, लैंगिक समानता हासिल गर्न स्वास्थ्य, शिक्षाजस्ता आधारभूत सेवामा व्यापक पहुँच पुर्याउन पनि भ्रष्टाचारविरुद्ध पहलकदमी आवश्यक भएको बताउनुभयो ।
एकल संस्थागत प्रयासबाट मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सम्भव नहुने उहाँको भनाइ थियो । त्यसका लागि अख्तियारसहित राज्यका सबै संयन्त्र, सरकारी निकायहरू, नागरिक समाज, निजी क्षेत्र र आम समुदायको क्रियाशीलता आवश्यक रहेको उहाँले बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी संसद्मा विचाराधीन कानुन पूर्ण भएर आएपछि भ्रष्टाचार नियन्त्रणका लागि कार्य गर्न थप सहजता हुने उहाँले बताउनुभयो ।
यस्तै, कार्यक्रममा बोल्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष पद्मिनी प्रधानांगले भ्रष्टाचार विश्वमै विधिको शासन, लोकतन्त्रिक शासन प्रणाली, समृद्धि तथा मानव अधिकारका निमिक्त भयावह समस्या बनेकोले यसका विरुद्ध विश्व एकजुट भएर लड्न आवश्यक रहेको बताउनुभयो ।
मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि पनि महिला नेतृत्व आवश्यक : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि महिलाहरूलाई नेतृत्वमा पु¥याउनुपर्ने दाबी गर्नुभएको छ । महिलाहरूले नेतृत्व लिएको स्थानीय तहमा भ्रष्टाचारमा कमी आएको भन्दै उहाँले उनीहरूलाई मुलुकको नेतृत्वको पु¥याउन सके भ्रष्टाचार नियन्त्रणको काम प्रभावकारी हुने जिकिर गर्नुभयो । नेपाल प्रेस युनियन, महिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आचार्यले महिलाहरूले पनि आफ्नो क्षमताको विकास गर्ने कुरामा बढी ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री आचार्यले महिलामाथि हुने विभेदको अन्त्य महिला मन्त्रालय एक्लैको प्रयासबाट सम्भव नहुनेसमेत बताउनुभयो । घरघरमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भए मात्रै उनीहरूमाथि हुने विभेद अन्त्य गर्न सकिने उल्लेख गर्दै मन्त्री आचार्यले त्यस काममा जुटन पनि सबैलाई आहृवान गर्नुभयो । मन्त्री आचार्यले महिलाहरू राष्ट्रपति जस्ता माथिल्लो पदमा पुगे पनि महिलामाथि हुने विभेद अन्त्य गर्ने काममा कठिन हुनुमा हाम्रो सामाजिक अन्धविश्वास कुरीति जिम्मेवार रहेको जिकिर गर्नुभयो । मन्त्री आचार्यले नेपालको संविधानले महिला सशक्तिकरणका लागि आवश्यक व्यवस्था गरेकाले त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
राजनीतिज्ञ, कर्मचारी र व्यापारी नमिली भ्रष्टाचार हुनै सक्दैन : कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारका हरेक घटना नेताहरूसँगै जोडिने गरेको टिप्पणी गर्नुभएको छ । शनिबार चितवन काठमाडौं प्रजातान्त्रिक संगमको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै डा. कोइरालाले राजनीतिज्ञ, कर्मचारी र व्यापारीहरू नमिली भ्रष्टाचार हुनै नसक्ने ठोकुवा गर्नुभयो । एनसेल प्रकरणमा पनि राजनीतिज्ञहरूको संलग्नता रहेको उहाँको आरोप थियो । ‘भ्रष्टाचारको कुरा गर्दा जहाँ कुरा गर्नुहोस् जुनै भ्रष्टाचार नेताहरूसँगै जोडिएको छ । जतिसुकै जसले जे भने पनि राजनीतिज्ञ, कर्मचारी र व्यापारीहरू नमिली यस्तो भ्रष्टाचार हुनै सक्दैन,’ उहाँले भन्नुभयो, ‘एनसेलको प्रकरण पनि त्यही हो ।’ सबैभन्दा ठूला मिटरब्याजी बैंकहरू भएको उहाँले आरोप लगाउनुभयो । देशमा सबै चिज अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको कोइरालाको टिप्पणी छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts