काठमाडौं । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तीन साता लामो मध्यपहाडी लोकमार्ग संकल्प यात्रा बागमती प्रदेश आइपुगेको छ । एमालेले संकल्प अभियानअन्तर्गत सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा यात्रा सम्पन्न गरेको छ । एमालेले सुरु गरेको संकल्प यात्राको क्रममा आज नुवाकोटमा आमसभा राखेको छ । नुवाकोटको बट्टारमा आयोजना हुने आमसभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ । नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा हुने सभाको सम्पूर्ण तयारी पूरा भएको एमाले नुवाकोटले जनाएको छ । सभाको तयारीको लागि एमाले स्थायी कमिटी सदस्य बागमती प्रदेश इञ्चार्ज गुरु बराल, पोलिटब्युरो सदस्य तथा नुवाकोट इञ्चार्ज अरुण नेपाल शुक्रबार नै नुवाकोट पुग्नुभएको थियो । अध्यक्ष ओली नुवाकोट दरबार र पृथ्वीनारायण शाहको शालिक स्थल देविघाट पनि अवलोकन गर्ने सूची रहेको एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले जानकारी दिनुभयो । एमालेले सभाको लागि गाउँगाउँबाट करिब ३० हजार मानिस उतार्ने जनाएको छ । धादिङको त्रिपुरासुन्दरी हुँदै अध्यक्ष ओली नुवाकोट सदरमुकाम आइपुग्ने र काठमाडौंको चिसापानी हुँदै आइतबार धुलिखेल पुग्ने कार्यसूची रहेको जनाइएको छ ।
एमाले सरकारमा आउला कि भनेर सबै आतंकित छन् : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा आउला कि भनेर सबै आत्तिएको दाबी गर्नुभएको छ । मध्य पहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’का क्रममा गोरखा पुग्नुभएका ओलीले शनिबार सदरमुकाममा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, ‘लोकतन्त्रमा प्रतिस्पर्धाको प्रणाली छानेरै ल्याएको हौँ, प्रतिस्पर्धा स्वच्छ हुनपर्छ, प्रतिस्पर्धा कामबाट देखाउनपर्यो । यहाँ त काम ग¥यो भने, नाकाबन्दीसँग डटेर सामान गर्यो भने, उत्तरतिरको छिमकीसँग यातायात, पारवहन सम्झौता ग¥यो भने, विकासको गतिलाई अघि बढायो भने सबै मिलेर सरकारबाट हटाउँछन् । सबैलाई आतंकको विषय के छ भने एमाले सरकारमा आउला, किन आतंक छ भने पहिलेको अनुभव छँदै छ त्योभन्दा बढी जोडले काम गर्दछ, अहिलेभन्दा बढी जोडले काम गर्छ ।’
सरकारले उच्चस्तरीय वार्ताका क्रममा कालापानी, लिम्पियाधुरा, र लिपुलेकको विषय उठाउन नसकेको आरोप लगाउँदै ओलीले भन्नुभयो, ‘अडिनै नसक्ने खालको कमजोरी देखाउनु लज्जाको विषय हो । लिम्पियाधुरा, लिपुलेक, कालापानीका कुरा हाम्रा उच्चस्तरीय संवादमा उठ्दैन, योभन्दा गए-गुज्रिएको अवस्था के हुन्छ ? योभन्दा देशप्रतिको बेइमानी के हुन्छ ? हामी राष्ट्रियताको मामिलामा यति धेरै कमजोर हुनु हुँदैन ।’
वर्तमान सत्ता गठबन्धनलाई ‘चीनको सहयोग लिए अर्को छिमेकी रिसाउँछन् भन्ने भय रहेको आरोप लगाउनुभएका ओलीले भन्नुभयो, ‘हामी साह्रै व्यापार घाटामा छौँ, मद्दत गर्नुपर्यो भनेर चीनका राष्ट्रपति सी चिनफिङसँग कुरा राखेँ, उहाँले उत्पादन गरेर जति पठाए पनि किन्दिन्छौँ भन्नुभयो । तपाईंहरूको उत्पादन छैन उत्पादन बढाउन के गर्नुपर्छ ? भन्नुहोस् पनि भन्नुभयो । यहाँ फर्किएर आएपछि नेताहरू चीनको सहयोग लियो भने अर्को छिमेकी रिसाउँछन् भन्छन्, यहाँ एयरपोर्ट बनायो चल्न दिएको छैन ।’
बूढीगण्डकी नेपाल आफैँले बनाउने कुरा असम्भव
अध्यक्ष ओलीले बूढीगण्डकी आयोजना नेपालको लागि फाइदा हुने गरी जुन मुलुकले लगानी गर्छ त्यसैलाई बनाउन दिनुपर्ने बताउनुभएको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्राको क्रममा गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रलाई सम्बोधन गर्दै ओलीले यही अवस्थामा नेपालले केही समय आफैँ बनाउने भन्ने कुरा सम्भव नदेखिएको जिकिर गर्दै भन्नुभयो, ‘त्यति सम्भव देखिँदैन, सम्भव हुने खालको कुरा गर्नुपर्छ, कर्णालीमा बनेको ४८० मेगावाटको आयोजना हामीले बनाउन सकेनौँ, यो बनाउन सक्छौँ भन्नु उचित हुँदैन ।’ बूढीगण्डकी आयोजना सफल बनाउनुपर्नेमा जोड दिँदै उहाँले मुआब्जा वितरण भइसकेको र जमिन सरकारको स्वामित्वमा आइसकेको अवस्थामामा आयोजना अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । यहाँको स्थानीय विषय पनि भएकाले यसमा स्थानीयले सहयोग पु¥याउनुपर्ने ओलीको भनाइ थियो । ओलीले मध्यपहाडीअन्तर्गत गोरखाको पालुङटार-मसानेपाटी खण्डको १६ किलोमिटर यात्रा गर्दा एक सय किलोमिटर हिँडे जस्तो भान भएको टिप्पणी गर्नुभयो ।
पोखरा र लुम्बिनी विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको आरोप
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाउनुभएको छ । चीनलाई पर्यटक ल्याउन आग्रह गर्ने हो भने पनि वार्षिक पाँचदेखि १० लाख पर्यटक ल्याउनसक्ने दाबी गर्नुभएका अध्यक्ष ओलीले सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने धारणा राख्दै भन्नुभयो, ‘विमानस्थल कसैले चलाउन पाउँदैनौ भनेर भित्र भनेको होला, बाहिर त भन्न सक्दैन नि । त्यसकारण एयरपोर्ट त चल्नुपर्छ । चीनलाई मात्रै टुरिष्ट लिएर आऊ भन्यो भने पाँच, १० लाख पयर्टक त चीनले ल्याउँछ, पोखरा एयरपोर्टमा, आफ्नै प्लेनबाट । लुम्बिनी चलाउनुप¥यो नि । बुद्धिष्टहरूको ओइरो लाग्छ । एयरपोर्ट बनेको छ, आफ्नै जमिनमा बनेको हो, आफ्नै जमिनबाट उडाउने र ल्याण्ड गर्ने हो । के समस्या छ ? तर, सरकार यस्तो छ, पोखरामा पनि एयरपोर्ट उद्घाटन भएछ होइन, भनेपछि अँ बनाइहाले भन्ने तरिका छ । उद्घाटन भयो, अब चलाइन्छ भन्नु परेन ।’
अरूले एक वर्षमा गर्ने काम एमाले सरकारले दुई दिनमै गर्ने दाबी
अध्यक्ष ओलीले अरू सरकारले एक वर्षमा गर्ने काम एमालेले दुई दिनमा गर्नसक्ने दाबी गर्नुभएको छ । एमालेको मध्यपहाडी यात्राअन्तर्गत लमजुङको सुन्दरबजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘एमालेको सरकार बन्नुअघि वर्षमा १० किलोमिटर सडक कालोपत्रे हुन्थ्यो भने एमालेले साढे ५ किलोमिटर भन्दा बढी त एकैदिनमा गर्यो । अरूले एक वर्षमा गरेको काम एमालेले दुई दिनमै गर्यो । तर, अहिले त त्यो १० किलोमिटर पनि के होला । विकास निर्माणको काम ठप्प भएको छ ।’
कोशी कसैको बिर्ता नभएको टिप्पणी
एमाले अध्यक्ष ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको टिप्पणी गर्नुभएको छ । समृद्धिका लागि संकल्प यात्रा पदयात्राअन्तर्गत पर्वतमा आयोजित कार्यक्रममा उहाँले केही पहिचानवादीले एमालेको यात्रालाई कोशीमा अवरोध गर्ने सन्दर्भलाई लिएर उक्त टिप्पणी गर्नुभएको हो । नेकपा एमाले कहाँ जान पाउने ? कहाँ जान नपाउने ? भन्ने सिकाउन आवश्यक नरहेको स्पष्ट पार्दै ओलीले भन्नुभयो, ‘कसैको बिर्ता होइन कुनै भूभाग नेपालको । प्रवेश गर्न दिन्नँ, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्नेखालका आतंककारी कुराहरू हामीले धेरै देखेका छौँ । यस्तो फुर्ती नलगाए हुन्छ । हामीले सामना गर्न नपरोस् । म उहाँहरूलाई भन्न चाहन्छु, यो बुद्धि छिट्टै सच्याउनुहोस् । यो बुद्धि फेरिहाल होइन भने यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै ओलीले आफन्तका लागिबाहेक जनता, लडाकु, घाइते, शहीद, शहीदका परिवारका लागि केही गर्न नसकेको आरोपसमेत लगाउनुभयो ।
संकल्प यात्रामा सहयोग गर्न आग्रह
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले एमालेको समृद्धिका लागि संकल्प यात्रा अभियानलाई सहयोग गर्न पहिचानवादीलाई आग्रह गर्नुभएको छ । देशको प्रमुख पार्टीले थालेको अभियानलाई अवरोध गर्ने या विरोध गर्ने कार्यले पहिचान पक्षधरलाई नै कमजोर बनाउने उहाँको भनाइ छ । एमालेको अभियानसँगै जुधाएर आन्दोलनको घोषणा गर्ने पक्षसँग संवाद भइरहेको पनि उहाँले जानकारी दिनुभयो । स्थायी कमिटी सदस्य राईले नामकरणको सवाल प्रदेशसभा र प्रदेश सरकारसँग जोडिएको एमालेलाई निशाना बनाउन नहुने जिकिर गर्नुभयो । मंसिर २६ गते घुर्मी छिरेसँगै एमालेको संकल्प यात्रा कोशी प्रदेश प्रवेश गर्नेछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts