काममा ढिला सुस्ती : दुई वर्षमा सकिनु पर्ने कालोपत्रे चार वर्षमा पनि भएन

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । ठेक्का सम्झौता अनुरुप सरसर्ती काम गरेको भए बागलुङको कुँडुले चोकदेखि मालिका हुँदै पञ्चकोट सम्मको १४ किलोमिटर कालोपत्रे सडकमा सवारी गुडेका हुन्थे । २०७६ साल असोज २८ गते दुई वर्षमा बागलुङ नगरपालिका-४ कुँडुले चोकदेखि मालिका-पञ्चकोट पुग्ने क्षेत्रीय रिङ्गरोड सडक कालोपत्रे सक्ने गरी ठेक्का सम्झौता भएको थियो । उक्त सडक तीन पटक म्याद थप्दा समेत सम्पन्न हुन नसकेको हो । अहिले उक्त सडकमा पूर्वाधारको काम सकेर ग्राभेल गरिएपछि यात्रुलाई धुलोले सास्ती बनाएको छ । उक्त सडकमा १० महिना यता निर्माण व्यवसायी फर्केर आएको छैन ।

तीन पटक सम्म म्याद थप्दा समेत सडक कालोपत्र नहुँदा यहाँका स्थानीय आक्रोशित भएको बागलुङ नगरपालिका-५ का वडा अध्यक्ष हरि प्रसाद शर्माले बताउनुभयो । उहाँले दुई वर्षदेखि कालोपत्रका लागि आवश्यक ग्रावेल छरेर छोडेको सडकमा कालोपत्र नहुँदा समस्या भएको हो । “कुडुँलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने रिङ्गरोड सडक कालोपत्र भए धेरैलाई सहज हुनेथियो, तर सडकको काम दुई वर्षदेखि अघि बढ्न सकेको छैन, निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याउने काम भइरहेको छ” शर्माले भन्नुभयो “ढिलैभएपनि कालोपत्र भइदिए शालग्राम संग्रहालय र पञ्चकोटमा आउने पर्यटकलाई समेत सहज हुँने थियो ।”

गण्डकी प्रदेश सरकार अन्र्तगत पूर्वाधार विकास कार्यालय बागलुङ मार्फत रु. ३१ करोड लागतमा १४ किमि सडक कालोपत्र गर्न थालिएको भएपनि ठेकेदार कम्पनीले समयमै काम गर्न नसक्दा सडक अलपत्र जस्तै बनोको छ । ग्राभेल बिच्छाएको सडकमा खाल्टा पर्ने, धुलो उड्ने र सवारीसाधन दुर्घटनामा पर्ने जोखिम समेत भइरहेको छ । दुई वर्षमा सकिने ठेक्का चार वर्ष वित्दा समेत ७६ प्रतिशतमात्रै भौतिक प्रगती भएको छ ।

अन्तिम पटकलाई आगमी चैत मसान्त सम्म म्याद थपेर निर्माण व्यवसायीलाई काममा बोलाइएको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ । कोरोनाका कारण सरकारले म्याद थप गर्न निर्देशन दिएपछि मात्रै निर्माण कम्पनीलाई म्याद थपिएको हो । क्षेत्रीय सडकका रुपमा रहेको बागलुङ नगरपालिका-४ कुडुले चोकदेखि काठेखोला गाउँपालिका जाने सडकमा कालोपत्र गर्नका लागि पूर्वाधारको काम तत्कालिन समयमा धमाधम भएपनि दुई वर्षदेखि कालोपत्र नभएर काम ठप्प भएपछि सडक झनै बिग्रिएको छ । ठाउँ-ठाउँमा पहिरो खसेर झनै समस्या बनाएको छ ।

कुडुँले चोकदेखि- मालिका-पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडक पहिलो चरणमा कालापत्र गर्नका लागि तत्कालिन गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा मार्फत बजेट बिनियोजन भएको थियो । उक्त सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न लागिएको भएपनि समयमै तीन पटक म्याद थप्दा समेत नसकिएको हो ।

ADVERTISEMENT

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई विकास गर्ने योजना अनुरुप स्तरोन्नतिसँगै कालोपत्र गर्ने काम थालिएको थियो ।

पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर सुजन देवकोटाका अनुसार १४ किलोमिटर सडक आठ मिटरको मापदण्डअनुसार चौडा भइसकेको, एक मिटर नाली निर्माण र ५.५ मिटर चौडा सडक कालोपत्र हुनेछ । निर्माण व्यवसायीलाई पत्रपठाएर ताकेता गरेपछि १० महिनापछि व्यवसायी काममा फर्कन थालेको देवकोटाको भनाई छ । आगमी चैत भित्रै सडक कालोपत्र हुँनेमा अझै आशंका पैदा भएको छ ।

उक्त सडकको ७६ प्रतिशत भौतिक प्रगती र ७४ प्रतिशत आर्थिक प्रगती भइसकेको भएपनि दुई वर्षमा सक्ने कालोपत्र सडक चार वर्षमा समेत नसकिएको देवकोटाले बताउनुभयो । पहिलो चरणमा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानासम्म कालोपत्र पश्चात दोस्रो चरणमा तितौरै भीमपोखरा, धम्जा, बिहुँ, लेखानी, रेश हुँदै बलेवा जोड्ने सडक विस्तार र कालोपत्र गर्ने योजना गण्डकी प्रदेश सरकारको हो । यो सडक कालेपत्र भएसँगै प्रसिद्ध धार्मिकस्थल पञ्चकोट र कुडँुलेमा भएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटक बढ्नेमा विश्वास लिइएको छ ।

गण्डकी प्रदेश सरकारको ११ जिल्लामा ३६ रणनीतिक क्षेत्रीय सडक रहेका छन् । बागलुङमा रहेका चार रणनीतिक सडकमध्ये यो सडक सबैभन्दा लामो हो । दुई वर्षभित्र कालोपत्रे सक्ने गरी काष्ठमण्डप कन्ट्रक्सन प्रालिले जिम्मा पाएको भएपनि कोरोना र मुल्य वृद्धिका कारण समयमै काम गर्न नसकिएको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि उमेश रिजालले बताउनुभयो । ठेक्का अवधिमै कालोपत्र सक्ने गरी पूर्वाधारको काम गरेपनि कोरोनाका कारण समयमै काम नभएको र पछि मुल्यवृद्धिका कारण सडकको लागत वृद्धि भएपछि काम गर्न नसएिको रिजालको भनाई छ ।

“पूर्वाधारको काम सबै सकिएको छ, सरकारले मुल्यवृद्धिको केही प्रतिशत रकम थप गरोस भन्ने आशा छ, रु. ८० प्रतिलिटर डिजेलको मुल्य हुँदा सम्झौता गरेको ठेक्का अहिलेको डिजलेको मुल्यमा काम गर्न निकै कठिन छ, सरकारले हाम्रो माग पुरा गर्छ भन्नेमा आशावादी छौं” रिजालले भन्नुभयो काम नगर्ने हाम्रो नियत हैन, चैतसम्म जसरी पनि कालोपत्र गरेर सडक बुझाउछौं, कम्तीमा २५ प्रतिशत मुल्य वृद्धि रकम थप होस भन्ने हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज