काठमाडौं । अवैध रूपमा नेपालीलाई रुस पठाउने प्रमुख एजेण्ट पूर्व-सुरक्षाकर्मी भएको खुलेको छ । पूर्व–सुरक्षाकर्मीसमेत रहेका उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्माले हालसम्म १८ जनालाई रुस पठाइसकेको प्रहरीले जानकारी दिएको छ । काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गर्दै काठमाडौं प्रहरी परिसरले उक्त गिरोहमा पूर्व–सुरक्षाकर्मीहरू समेत रहेको खुलाएको हो ।
परिसरका प्रमुख एवं एसएसपी भुपेन्द्रबहादुर खत्रीले पूर्व-सुरक्षाकर्मीहरूले नै नेपालीहरूलाई अवैध रूपमा रुस पठाउने गरेको बताउनुभयो । ‘रुस पठाउने प्रमुख एजेण्ट नै पूर्व-सुरक्षाकर्मी रहेको खुलेको छ । राम्रो आम्दानीको प्रभलोभनमा रुस जानेहरू पनि पूर्व-सुरक्षाकर्मीहरू नै बढी छन्,’ एसएसपी खत्रीले भन्नुभयो ।
रुस-युक्रेन युद्ध सुरु भएपछि हातहतियारबारे जानकारसमेत रहेका पूर्व-सुरक्षाकर्मीहरू त्यसतर्फ जाने गरेको उहाँको भनाइ छ । पक्राउ परेकाहरूमध्ये तीनजना प्रमुख एजेण्ट रहेको प्रहरीको भनाइ छ । जसमा हरिबहादुर विश्वकर्मा, सुजाता दाहाल र गोकर्ण अर्याल छन् । प्रहरीले सुजाताको कार्यालयबाट १४ लाख १८ हजार पाँच सय नगद र २७ थान पासपोर्ट बरामद गरेको थियो । त्यस्तै, पक्राउ परेका अर्का व्यक्ति ईश्वर अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार नगद, १६ थान पासपोर्ट, एक थान ल्यापटप, एक थान प्रिन्टर र सात थान मोबाइल बरामद गरिएको एसएसपी खत्रीले बताउनुभयो । उनीहरूले रुस जानेहरूसँग सातदेखि १२ लाख असुल्ने गरेको प्रहरीको भनाइ छ ।
रुस पठाइएका अधिकांश भिजिट भिसामा युएई पठाई त्यहाँबाट रुस पठाइएको पाइएको छ । कतिपय भारतको बाटोबाट स्थलमार्ग हुँदै पनि रुस जानेहरू भेटिएको एसएसपी खत्रीले बताउनुभयो । उहाँले अहिलेको पक्राउ परेकाहरूको संख्या प्रारम्भिक रूप मात्र भएको बताउनुभयो । ‘अहिले पक्राउ परेकाहरू संख्या प्रारम्भिक रूप मात्र हो । योभन्दा बिगर पिक्चर आउन बाँकी छ । प्रहरीले त्यसको अनुसन्धान गरिरहेको छ,’ एसएसपी खत्रीले पत्रकार सम्मेलनमा भन्नुभयो ।
टेकुस्थित काठमाडौं प्रहरी परिसरमा पक्राउ परेका १२ जनालाई सार्वजनिक गरिएको थियो । पक्राउ पर्नेमा उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौं जोरपाटीका २७ वर्षीय सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौंका २३ वर्षीय रोजल महर्जन, काठमाडौं बुढानिलकण्ठका ३१ वर्षीय क्षितिज गिरी र सिरहाका १९ वर्षीय दिपेन परियार रहेका छन् । त्यस्तै, काभ्रेका २९ वर्षीय सुबास लामा, चितवनका २५ वर्षीय गोकर्ण अर्याल, बाराका २४ वर्षीय सन्तोष नेपाल, ओखलढुंगाका २५ वर्षीया सुजाता दाहाल, लमजुङका ३५ वर्षीय ईश्वर अधिकारी र दाङका ३८ वर्षीय द्रोण डाँगी छन् ।
भर्ती गरिएका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न आग्रह
रुसी सेनामा भर्ती गरिएका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न नेपालले रुसलाई कूटनीतिक नोट पठाइसकेको छ । नेपाल सरकारले आफ्नो नीतिविपरीत रुसले नेपालीलाई सेनामा भर्ती गर्दै आइरहेको पनि गत सोमबार विज्ञप्तिमार्फत स्मरण गराएको थियो । रुसी सेनाले युक्रेनसँगको युद्धमा ६ जना नेपाली मारिएको औपचारिक जानकारी दिएपछि परराष्ट्र मन्त्रालयले रुससमक्ष नेपाली युवालाई सेनामा भर्ना नगर्न र भर्ती भइसकेका युवालाई पनि तत्काल नेपाल पठाउन अनुरोध गरेको हो । ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुसी सरकारलाई अनुरोध गरिएको छ,’ परराष्ट्रद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । परराष्ट्र मन्त्रालयले गत साउन १६ मा नै विज्ञप्तिमार्फत विदेशी सेनामा नेपाली नागरिक भर्ना सम्बन्धमा परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रबाहेक अन्य विदेशी सेनामा भर्ना हुन अनुमति दिने कुनै नीति नरहेको स्पष्ट गरेको थियो । रुसले गत चैतदेखि नेपालीलाई आफ्नो सेनामा भर्ती गर्न सुरु गरेको हो । रुसी र नेपाली मानव तस्करहरूबीच सम्बन्ध स्थापित भएपछि गत जेठबाट भर्ती प्रक्रियाले तीव्रता लिएको बुझिएको छ । नेपालले त्रिभुवन विमानस्थल हुँदै रुस जान रोक लगाएपछि विकल्पमा भारत हुँदै रुस जानका लागि २८ जना नेपाली युवा दिल्लीस्थित नेपाली दूतावासमा नो अब्जेक्सन लेटर (एनओसी) लिन पुगेका थिए । अध्यागमन विभागका अनुसार २०२२ जनवरीदेखि २०२३ नोभेम्बरसम्म अध्ययन, श्रम र भिजिट भिसामार्फत २९ सय नेपाली रुस पुगेका थिए । त्यसबाहेक युएईबाट पनि नेपालीहरू रुस गएका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts